गैंडाटारमा जंगली हात्तीकाे आतंक, केरा खेती नष्ट

रौतहटको चन्द्रपुर नगरपालिका-३ गैडाटारमा जंगली हात्तीले आतंक मच्चाएको छ।  केही दिनदेखि गैडाटार गाउँ आसपासको क्षेत्रमा जंगली हात्ती देखा परेको हो। 

बस्ती नजिक देखा परेको हात्तीले केरा तथा अन्य बाली खानुको साथै माडेर नष्ट पारिदिएको छ। प्रायः दिनँहु  हात्तीले दुख दिँदा र बालिनाली नष्ट गर्दा पनि सम्बन्धित निकायले नियन्त्रणमा चासो नदिएको स्थानिय सम्पूर्ण चौहानको आरोप छ।
हात्तीले पटक–पटक गरेर करिब एक बिघामा लगाएको केराखेती नष्ट गरेको उनले जानकारी दिए। 

सो गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको चार सय बोट, दीपक गौतमको ८० बोट, सम्पूर्ण चौहानको दुई सय ५५ बोट र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको छ।

हात्तीले मकैबारी,  केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेपछि वरपरका बासिन्दा रातभर त्रासमा बस्ने गरेको उनको भनाइ छ।

गाँउ नजिकै रातिको समयमा हात्ती देखा पर्न थालेपछि रातभर सुत्न समेत नपाएको गाँउलेहरूको गुनासो छ। डिभिजन वन कार्यालय रौतहटले जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

यसअघि  हात्तीको आक्रमणबाट मानवीय क्षतिका घटना भएकाले बिहान झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। वन कार्यालयले बिहानीपख निस्कनै पर्ने भए टर्च लाइट बोकेर समूहमा मात्र हिँड्डुल गर्न सुझाव दिएको छ। डिभिजन वन कार्यालय रौतहटका अनुसार पछिल्ला केहि बर्षमा हात्तीकाे आक्रमणबाट मानव, घर वा बालिनालीमा क्षति हुँदै आएको छ।

प्रकाशित मिति: : 2025-01-11 09:10:00

प्रतिकृया दिनुहोस्