गृहमन्त्री रमेश लेखकले समाजमा लागुऔषध सेवन, आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन्।
शुक्रबार महेन्द्रनगरमा एन प्याबसन कञ्चनपुरले आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रुपमा लागुऔषध सेवन, आत्महत्या र सडक दुर्घटना रहेको बताए।
उनका पछिल्लो समय लागुऔषधकाे भयावय स्थिति रहेको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालयस्तरबाट अभियान सञ्चालन गर्नुपर्ने बताए।
‘समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रुपमा देखिएको छ’, गृहमन्त्री लेखकले भने, ‘लागुऔषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ, यसका लागि एन प्याबसनले विद्यालयस्तरबाटै सुरुवात गरोस्।’
उनले लागुऔषधले घर घरका बालबालिकाहरु प्रभावित भइरहेकाले स्थानीय सरकार र निजिसंघ संस्था सबैले गम्भीर रुपमा लिएर लागुऔषधको विरुद्धमा अभियान सञ्चालन गर्नुपर्ने बताए।
त्यसैगरी उनले निजि तथा आवासिय विद्यालयहरुले शिक्षाको गुणस्तरीय वृद्धि गर्न महत्वपूर्ण भुमिका रहेको बताए। ‘सरकारले संविधानमा नै निःशुल्क शिक्षा र अनिवार्य शिक्षाको व्यवस्था गरेका छौँ’, उनले भने, ‘त्यसकारण सामुदायिक विद्यालय राम्रो गुणस्तरका साथ अघि बढुन तीनै तहका सरकारले यसमा ध्यान दिनुपर्छ।’
उनले शिक्षाको क्षेत्रमा निजि र आवासिय विद्यालयको पनि महत्वपूर्ण भूमिका रहेको बताउदै सार्वजनिक र सामुदायिक विद्यालयको गुणस्तर बढेको बताए। ‘सरकारले निजि विद्यालयलाई पनि राम्रोसंग सञ्चालन गर्ने कुरामा सरकार लाग्ने छ।’
उनले भने, ‘शिक्षाको गुणस्तरसंग सम्झौता गर्ने कुरा,चर्को शुल्क लिने कुरामा सरकारले नियमन गर्नुपर्छ।’ उनले अहिले संघिय संसदमा विद्यालय सम्बन्धी विधेयक छलफलमा रहेको बताए।
‘हामी शिक्षा विधेकयक पारित गरेर शिक्षाको क्षेत्रमा राम्रो कानुन निमार्ण गरेर शिक्षालाई अत्यन्त शुलभ, सरल र सबै नेपाली नागरिकको पहुँच हुन सक्ने तर्फ सरकार लाग्ने छ।’ त्यसैगरी उनले खेल महोत्वसले विद्यार्थीहरुको चौतफी विकासमा टेवा पुग्ने बताए।