गृहमन्त्री रमेश लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभइ अनुसन्धान गर्नका लागि ठाउँ-ठाउँ घुमाइएकाे बताएका छन्।
बुधबार इलाका प्रशासन कार्यालय रामपुरकाे नवनिर्मित भवन उद्घाटन समारोहमा गृहमन्त्री लेखकले यस्ताे बताएका हुन्।
'जतिसुकै ठूलाे मान्छे भए पनि अनुसन्धान हुन्छ। सबैमाथि अनुसन्धान हुन्छ। सरकारले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन काम गर्न लागि परेकाे छ। त्यहीँ अनुसार अनुसन्धान भइरहेको छ', उनले भने।
राष्ट्रिय एजेन्डालाई सम्बाेधन गर्न दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेकाे इतिहास केलाउँदै गृहमन्त्री लेखकले दिगाे शान्ति, विकास र सुशासन कायम गर्न वर्तमान सरकार बनेकाे बताए।
कांग्रेस र एमाले मिल्दा सबै क्षेत्रमा आत्माविश्वास बढेकाे संक्रमणकालीन न्यायकाे विषयलाई टुंग्याउने गृहकार्यमा सरकारले लागिपरेको उनको भनाइ छ।
यसैगरी गृहमन्त्री लेखकले कालिगण्डी करिडोरले पाल्पाको रामपुरकाे ठूलाे सम्भावना रहेको बताए। उनले चीन र भारतलाई जाेड्ने बाटाेमा रामपुर भएकाे भन्दै सुन्दर भविष्य र सम्भावना रहेको बताए।
भवनकाे उद्घाटन मात्र उपलब्धि नभएको भन्दै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीको जाेड थियो।
'जिल्ला प्रशासन कार्यालयबाट पाउने सबै सेवा पाउने व्यवस्था गरिने छ। कर्मचारीकाे अभावले सेवा प्रवाहमा कुनै समस्या हुने छैन। याे सरकारकाे पहिलो प्राथमिकता नागरिकको सेवा गर्नु हाे। याे त्यसैले बनेकाे हाे,' उनले भने।
प्रधानमन्त्री केपी शर्माले सहजरूपमा नागरिकलाई सेवा प्रवाह गर्न आफूहरूलाई निर्देशन दिएको उनको भनाइ छ।