जसपा नेपाल: तल्ला कमिटीकाे अधिवेशनको मिति तय, नेतृत्व चुन्न नसके भ्रातृसंगठन भंग गर्ने चेतावनी

Break n Links
Break n Links

जनता समाजवादी पार्टी (जसपा) नेपालले तल्ला कमिटीकाे अधिवेशनका लागि कार्यतालिका तय गरेको छ।मंसिर २८ र २९ गते बसेकाे पार्टीकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले मिति तय गरेकाे हाे। 

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले प्रदेश, जिल्ला र स्थानीयसँगै भ्रातृसंगठनकाे अधिवेशनको कार्यतालिका तय गरेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार बैठकले सबै स्थानीय तह वडा, पालिका र जिल्ला समितिहरूको अधिवेशन २०८१ चैत्र मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ।

सातै प्रदेश समिति र राष्ट्रिय समितिहरूको आगामी २०८२ बैशाख २५ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ। यस्तै पार्टीसम्बद्ध भ्रातृसंगठनहरूलाई अधिवेशन सम्पन्न गर्नको लागि २०८२ बैशाख मसान्तसम्मको समयसीमा तोकिएकाे छ।

यदि समयसीमाभित्र अधिवेशन सम्पन्न गर्न नसके भ्रातृसंगठनका केन्द्रीय समितिलाई भंग गरिनेसमेत पार्टीले चेतावनी दिएकाे छ।

राष्ट्रिय महाधिवेशन सम्पन्न गरी जसपा नेपालले मातहत समिति र भ्रातृ संगठनको अधिवेशन गर्ने कार्यलाई अगाडि बढाएको हाे। 

राष्ट्रिय महाधिवेशनबाट पार्टीकाे केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव सर्वसम्मत अध्यक्षमा दाेहाेरिएका थिए। 

नेतृत्वकाे विवाद हुँदा महाधिवेशनकाे संघारमा जसपा नेपाल फुटाएर अशाेक कुमार राई नेतृत्वमा जसपा गठन गरिएकाे थियाे। 

जसपा फुटाएपछि अशोक राई भन्छन्–अब विचार मिल्नेसँग एकता गर्छौं

प्रकाशित मिति: : 2024-12-17 10:17:00

प्रतिकृया दिनुहोस्