तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ: गृहमन्त्री लेखक

Break n Links
Break n Links

गृहमन्त्री रमेश लेखकले संविधानमा तीनै तहको सरकारलाई समान अधिकार दिएको बताएका छन्।

बिहिबार काठमाडौँमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवसथापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले तीन तहको सरकार फरक भएपनि अधिकार एउटै भएको भन्दै यो सबै व्यवस्था एकआपसमा जोडिने आधार भनेको सहकारीता र समन्वय भएको बताए।

उनले भने, ‘तीन वटा तहमा सरकारलाई विभाजित गरिएको छ। संघ, प्रदेश र स्थानीय तह, यही सरकारहरुको कार्यकारी अधिकारको विषयमा भाव, शब्द केहीमा पनि फरक छैन। प्रधानमन्त्रीको अधिकार उल्लेख गर्दा, जुन अधिकार र भावका साथ संविधानमा उल्लेख गरिएको छ, देशभरिका लागि प्रदेशभित्रका मुख्यमन्त्रीहरुको लागि पनि त्यही कार्यकारी अधिकारहरु उल्लेख गरिएको छ। यसको साथै, स्थानीय सरकारमा नगर प्रमुख अथवा गाँउपालिका अध्यक्षका लागि पनि समान अधिकारको व्यवस्था गरिएको छ। यो सबै व्यवस्था एकआपसमा जोडिने आधार भनेको सहकारीता र समन्वय हो। त्यसकारण हामी एकअर्कासँग जोडिएर नै काम गर्नुपर्छ।’

यसको साथै, उनले शान्ति सुरक्षाको अवस्था धेरै ठूलो चुनौतीपूर्ण नभएको भन्दै यसमा निरन्तर काम गर्नुपर्ने बताए।

उनले भने, ‘शान्ति सुरक्षाको अवस्था धेरै ठूलो चुनौती छैन। सामान्य घटनाहरु भइरहेका हुन्छन्। त्यसलाई राज्य र सरकारले आफ्नो तरिकाले व्यवस्थापन गरिरहेको अवस्था छ। अपराधको सम्बन्धमा मूलत एउटा परम्परागत अपराध सबै ठाँउमा घटेको छ। यो भनेको समाजको उत्पादनदेखि अन्त्यसम्म चल्ने कुरा हो। त्यसको लागि निरन्तर काम गर्नुपर्ने नै छ।’

यसको साथै, उनले वर्तमान समयमा लागूऔषध, आत्महत्या र सडक दुर्घटना धेरै बढेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताए। उनले साइबर अपराध पनि बढेको हुदाँ कुनै खालको सम्झौता नगरि निर्मम तरिकाले प्रस्तुत हुन जरुरी रहेको पनि बताए।

‘अहिले समाजमा अरु केही कुरा चुनौतीको रुपमा देखा परेको छ। त्यसमध्ये एउटा लागूऔषध यसको अवस्था खतरनाक तरिकाले बढेको छ। यो देशभर फैलिएको छ। अझै आत्महत्याको कुरा पनि बढेको छ र अर्को सडक दुर्घटना यो तीन वटा कुराहरु चुनौतीपूर्ण तरिकाले देखा परेको छ। यसलाई नियन्त्रण गर्न हामीले काम गर्न जरुरी छ। साइबर अपराध पनि बढेको अवस्था छ। यसको लागि पनि हामीले कुनै खालको सम्झौता नगरि निर्मम तरिकाले प्रस्तुत हुन जरुरी छ’, उनले भने।

प्रकाशित मिति: : 2024-12-12 15:50:00

प्रतिकृया दिनुहोस्