चन्द्रागिरिका स्थानीयले उचित क्षतिपूर्ति नपाएसम्म नागढुङ्गा सुरूङमार्गकाे काम अघि बढ्न नदिने चेतावनी छन्।
सुरूङमार्ग निमार्णकाे क्रममा घरहरूमा समस्या आएकाे, चिरा परेकाे र बैंकले सुरूङमार्ग आसपासमा घरजग्गाहरू भएका कारण धिताे नदिएकाे, पानी सुकेकाे भन्दै स्थानीयहरू आन्दोलित भएका हुन्।
विगत ६ दिनदेखि स्थानीयहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने भन्दै सुरूङमार्गकाे काम ठप्प पारेका छन्।
पटकपटक सरकारले वार्ता, भेटघाट तथा आश्वासन देखाए पनि आयाेजनाले बेवास्ता गरेकाे स्थानीयले बताए।
चन्द्रागिरि नगरपालिकाले स्थानीय जनताकाे मागप्रति सकारात्मक तवरले सहजीकरण नगरेकाे एक स्थानीयले बताए।
नगरकाे नागरिकहरूकाे नागरिक सुरक्षालगायत सरल जीवन बाँच्न पाउनु र आम नागरिकहरूकाे हरेक समस्यामा स्थानीय सरकारकाे सक्रियता नभएकाे भन्दै दुखेसाेसमेत व्यक्त गरेका छन्।
काठमाडौँदेखि धादिङसम्म ९३ घरहरूले समस्या भाेग्नु परेकाे सुरूङमार्ग पीडित संघर्ष समितिका संयाेजक रवि दानीले बताए।
उनले भने, 'नागढुङ्गा सुरुङमार्ग आयाेजनाले स्थानीय जनताकाे माग र क्षतिपूर्ति उपलब्ध नगराएसम्म अवरोध राेकिँदैन। क्षतिपूर्ति नपाएसम्म निमार्ण कार्य अघि बढ्न दिन्नौँ।'
स्थानीय संघर्ष समितिका उपसंयाेजक प्रकाश रेग्मीले आफूहरू विकास विराेधी नभएर विनाश विराेधी भएकाे र राज्यले राष्ट्रिय गाैरवकाे आयाेजना बनाउँदै गर्दा जनताहरूलाई घरकाे न घाटकाे अवस्था पुर्याउन नहुने बताए।
आयाेजनामा स्थानीय अवराेधका कारण निर्माण कार्यमा ढिलाइ भइरहेकाे बताइएको छ। सुरुङमार्ग हालसम्म सम्पन्न भइसक्नुपर्नेमा ८२ प्रतिशत काम सकिएकाे छ भने दैनिक १२० मिटर ढलान हुनुपर्ने काम पनि राेकिएकाे छ।