मुन्दुम ट्रेल भ्रमण वर्ष- २०२५लाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न गाउँपालिकाका प्रमुखहरूको सहभागितामा मैयुंङ ट्याम्के साल्पा सिलिचुंग पर्यटन प्रवर्द्धन केन्द्र (MTSSTPC)को संयोजकत्वमा सम्पन्न अन्तरगाउँपालिका बैठकले भ्रमण वर्षका लागि विशेष तयारी थालिएको घोषणा गरेको छ। पुस १७ गते (जनवरी १, २०२५) भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिने निर्णय बैठकले गरेको छ।
बैठकले मुन्दुम ट्रेल क्षेत्रका पर्यटकीय गतिविधिहरूलाई थप प्रभावकारी बनाउन विभिन्न गाउँपालिका र नगरपालिकाले आ–आफ्नो क्षेत्रमा महोत्सव तथा कार्यक्रमहरूको आयोजना गर्ने निर्णय गरेको छ। यी गतिविधिमा गुराँस महोत्सव, गोठस्टे महोत्सव, अल्ट्रा म्याराथन, रुद्राक्ष महोत्सव, फिल्म सुटिङ महोत्सव, माउन्टेन साइकलिङ रेस, र साहसिक खेलकुदजस्ता विशेष आकर्षण समावेश गरिएका छन्।
महत्त्वपूर्ण निर्णयहरू:
स्थानीय कार्यक्रम र खर्च: सबै गतिविधि र महोत्सवका लागि सम्बन्धित गाउँपालिकाहरूले खर्च व्यहोर्ने।
पूर्वाधार निर्माण: पर्यटकहरूको सुविधाका लागि होटल, लज, टिहाउस, गोठे, खानेपानी, शौचालय र क्याम्पिङ साइटजस्ता संरचना निर्माणमा जोड दिइने।
सहज नीतिगत व्यवस्था: स्थानीय युवाहरू र लगानीकर्तालाई व्यवसाय सञ्चालन गर्न सजिलो बनाउन एकद्वार प्रणाली लागू गर्ने।
सामूहिक प्रयास: कोशी प्रदेशको भ्रमण वर्ष बजेट समन्वय गर्दै कार्यक्रम थप प्रभावकारी बनाउन कार्य गर्ने।
बैठकले पर्यटकीय पूर्वाधारहरू निर्माण गर्दा स्थानीय वास्तुकला र मौलिक संस्कृतिलाई प्राथमिकता दिने र प्लास्टिकजन्य सामग्रीहरूको प्रयोगमा पूर्णतः रोक लगाउने निर्णय पनि गरेको छ।
मुख्य कार्यक्रमहरू:
गुराँस महोत्सव (टेम्के मैयुंङ), गोठस्टे र हनी हन्टिङ (केपिलासगढी), साकेला उधौली उभौली (साकेला), अल्ट्रा म्याराथन (भोजपुर), रुद्राक्ष महोत्सव (षडानन्द) र अन्य गतिविधिहरू।
ग्रेटर मुन्दुम ट्रेल अल्ट्रा रेस र माउन्टेन साइकलिङ जस्ता साहसिक खेलकुदलाई विशेष प्राथमिकतामा राखिएको छ।
बैठकले भ्रमण वर्ष २०२५ को समापन महाकुलुङ गाउँपालिकामा गरिने र त्यहाँ अपर मुन्दुम ट्रेलको खोज तथा प्रवर्द्धन गर्ने योजना समेत सार्वजनिक गरेको छ।
अध्यक्ष रमेशकुमार राईका अनुसार मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ले यस क्षेत्रलाई लाखौं पर्यटक भित्र्याउने र पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास लिएको छ।
सम्पर्क: रमेशकुमार राई
अध्यक्ष, मैयुंङ ट्याम्के साल्पा सिलिचुंग पर्यटन प्रवर्द्धन केन्द्र (MTSSTPC)
फोन: ९८४००५४२०४