गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेकाे बताएका छन्। उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएकाे बताए।
बिहीबार धनगढीमा प्रेस युनियनले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्दतिमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए।
उनले भने, ‘दुईदलकाे सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्ताे छलफल भएकाे छैन।’
उनले २०८४ सम्म याे गठबन्धन कायम रहने बताउँदै अबकाे १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरे।
प्रधानमन्त्रीकाे चीन भ्रमणकाे विषयलाई लिएर दुई दलबीच खटपट भएकाे छ नि भन्ने सञ्चारकर्मीकाे जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलकाे विषयलाई लिएर वेकामकाे हल्ला चलाइएकाे बताए।
उनले भने, ‘एमाले र काँग्रेसबीच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छाैँ, २०८४ काे निर्वाचनसम्म सहज मिलेर जान्छाैँ।’
नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जानू परम्परा रहेकाे बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जानुभयाे भन्ने विषय सामान्य रहेकाे उल्लेख गरे।
उनले भने, ‘प्रधानमन्त्रीकाे चीन भ्रमणकाे मिति तय भइसकेकाे छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ।’
सुरक्षा गाेष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गाेष्ठीमा प्रदेश सुरक्षाकाे समीक्षा गरिएकाे बताए। उनले अब नयाँ कार्ययाेजना सहित शान्त्ती सुरक्षा कायम हुने बताए।