भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन्। बुधबार नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी काठमाडौंमा आएका हुन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार (भाेलि) नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम रहेको छ।
नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ।
यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए।
छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ।
यसअघिका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन्।
सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो।
२०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेद्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो।
नेपाल आइपुगेका भारतीय सेता प्रमख द्विवेदीले नेपालमा ५ दिन भ्रमण भर्मण गर्ने कार्यतालिका छ। यहाँ रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ व्यक्तिसँग भेट गर्नेछन्।