दलीय सिण्डिकेट तोड्दै तेस्रो जनआन्दोलनमा सहभागी होऔँ: प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई बचाउनका लागि तेस्रो जनआन्दोलनको आवश्यकता भएको बताएका छन्।

दलीय सिण्डिकेट तोड्दै सबै वर्ग एकजुट भएर तेस्रो जनआन्दोलनमा होमिनुपर्ने आह्वान समेत उनले गरेका छन्।

आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज सर्लाहीको रामवन बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले मुलुकलाई जोगाउनका लागि भ्रष्ट, लुटकारी दलाल दलतन्त्रको विरुद्धमा तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए।

वर्तमान सरकार असफल भइसकेको टिप्पणी गर्दै अब आम जनताले सडकबाटै यो सरकार र व्यवस्थाको विकल्प खोजिरहेको बताउँदै लोकतन्त्रको रक्षाका लागि आम जनता सडकमा आउन खोजेको बताए।

‘जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो। आज त्यही दलतन्त्र दुई दलले मिलेर सिध्याउन लागेका छन्। यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ’, आजपा अध्यक्ष साहले भने, ‘अहिले मुलुकमा भ्रष्ट, लुटेरा, अपराधीहरुको हालीमुहाली रहेको र मुलुक आर्थिक संकटबाट गुज्रिरहेको छ। तर सरकारमा भएकाहरुको कसरी लुटने भन्ने बिषयमा ध्यान केन्द्रित छ। करमाथि कर थप्ने काम गरिरहेको सरकारले राज्यको ढुकुटी लुटिसकेको छ।’

लुटकारी दलाल दलतन्त्रले मुलुकको आर्थिक अवस्था संकटमा परेको बताउँदै उनले दलका ‘मठाधिश’ले लुट मचाएको बताए। मुलुक र जनताको पक्षमा काम गर्नुपर्ने सरकार आफ्नो गुट र समूहका लागि काम गरिरहेको आरोप उनले लगाएका छन्।

‘अहिले दलीय लुटकारी व्यवस्था छ। यस्तो व्यवस्थाले जनताको कल्याण हुदैन्। जनताको चाहना समृद्धि रहेको छ। तर दलका मुखियाहरुले आफ्नो गुट र समूहका लागि काम गर्ने गरेका छन्’, उनले भने, ‘लोकतन्त्रमा दलको नभई आम जनताको शासन हुनुपर्ने हो। तर अहिले लुटकारी दलाल दलीय व्यवस्था छ। दलमा पनि मुख्य नेता र त्यसपछि त्यसका वरिपरि, गुट, समूह र आसेपासे मोटाउने, लुटने र संरक्षण गर्ने काम भइरहेको छ। यस्तो व्यवस्थाले जनताको चाहना पूरा हुन सक्दैन। यो व्यवस्थाको अन्त्येष्टि गर्नैपर्छ।’

युवा, विद्यार्थी, मजदुर, किसानका साथै सवै वर्गहरु अहिलेको भ्रष्ट, लुटकारी व्यवस्थाको विरुद्धमा आवाज उठाउँदै आएको बताउँदै उनले अब एकजुट भएर तेस्रो जनआन्दोलनमा होमिनुपर्ने आवश्यक रहेको बताए।

प्रकाशित मिति: : 2024-11-19 14:37:00

प्रतिकृया दिनुहोस्