काठमाडाैँकाे फाेहाेर व्यवस्थापनमा संघीय सरकार र छिमिकी महानगरहरुले असहयाेग गरेकाे बालेनकाे गुनासाे

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडाैँको फोहोर व्यवस्थापनमा रहेको दीर्घकालीन समस्यालाई समाधान गर्न आफूहरू निरन्तर प्रयासरत रहेको बताएका छन्।

फोहोर व्यवस्थापनको दिशामा महानगरले अन्तर्राष्ट्रिय अनुभवलाई आत्मसात गर्दै इन्दोरको सफल मोडलबाट सिकेर काम अघि बढाएको बालेनको भनाइ छ। तर, यस प्रक्रियामा कानूनी अवरोध, छिमेकी नगरपालिकाहरूको असहयोग र संघीय सरकारको हस्तक्षेपले चुनौती थपिरहेको उनले बताए।

‘हामीले भारतको इन्दोरलाई नमुना मानेर यहाँका विज्ञहरूसँग परामर्श गरी काठमाडाैँमा दीर्घकालीन समाधान ल्याउने प्रयास गरिरहेका छौँ। तर, निजी कम्पनी नेपवेस्टले अवरोध खडा गर्दै फोहोर व्यवस्थापनलाई आफ्नो नाफाको स्रोत बनाउने चेष्टा गरिरहेको छ। हामीले कानूनी प्रक्रिया अपनाएर टेन्डर अघि बढाउँदा समेत मुद्दा हालियो, जसले काममा अवरोध ल्यायो। अदालतले हाम्रो पक्षमा आदेश दिएपछि अब भने अवरोधहरू हट्दै छन्,’ बालेनले भने।

बालेनले संघीय सरकार र छिमेकी नगरपालिकाहरूले फोहोर व्यवस्थापनलाई दिगो समाधानका रूपमा नहेरी राजनीतिक हतियारको रूपमा प्रयोग गरेको आरोप लगाउँदै भने, ‘काठमाडाैँको फोहोर व्यवस्थापनमा निजी कम्पनीलाई एकाधिकार दिने गरी हस्तक्षेप गरियो, जसले समाधानभन्दा थप समस्या निम्त्यायो। हामी अहिले पनि वैधानिकरूपमा यस अवरोधलाई तोड्ने प्रयासमा छौँ।’

मेयर शाहका अनुसार महानगरले केही वडाहरूमा पाइलट प्रोजेक्ट सुरू गरेको छ, जसमा फोहोरलाई वर्गीकरण गर्ने र अर्गानिक फोहोरलाई मलमा रूपान्तरण गर्ने काम भइरहेको छ। ‘हामी दिगो समाधानका लागि दृढ छौँ। काठमाडाैँबासीको स्वच्छ वातावरणको अधिकारका साथै सिस्डोल, बञ्चरेडाँडाका बासिन्दाहरूको न्याय सुनिश्चित गर्न कुनै सम्झौता गर्ने छैनौँ,’ उनले स्पष्ट पारे।

साथै, बालेनले सबै राजनीतिक दल, संघीय सरकार, र छिमेकी नगरपालिकाहरूलाई काठमाडाैँ फोहोर व्यवस्थापनलाई राजनीतिक पूर्वाग्रहबाट हटेर सहयोग गर्न आग्रह गरेका छन्। ‘फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको छ,’ उनले थपे।

काठमाडाैँको फोहोर व्यवस्थापनको समस्या समाधानको बाटोमा महानगर निरन्तर अघि बढ्ने बताउँदै मेयर बालेनले काठमाण्डौलाई सफा र सुन्दर बनाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्।

प्रकाशित मिति: : 2024-11-15 10:09:00

प्रतिकृया दिनुहोस्