विमानस्थल सुचारु गर्न सके टीकापुरबाट उडान

Break n Links
Break n Links

पुनः सञ्चालनमा आउने भनिएको टीकापुर विमानस्थल अस्तव्यस्त देखिन्छ। वि.सं. २०५४ सालपछि टीकापुर विमानस्थल सञ्चालनमा छैन।

टीकापुर विमानस्थलको पछिल्लो सेवा भनेको नेपाल वायुसेवा निगमको टुइनअटर विमानले अछामको साँफेबगरबाट उडान गर्थ्यो। टीकापुर विमानस्थल धावनमार्गको लम्बाइ ५ सय ७३ मिटर छ। तर यतिबेला यो विमानस्थल खुल्ला चौर भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाएपछि बन्द रहेको यो विमानस्थल सुचारु हुने संकेत देखिएको छ।

तर विमानस्थल आसपास तारबारको समेत व्यवस्था छैन। वि.स.२०४२ सालदेखि सञ्चालनमा आएको टीकापुर विमानस्थल माओवादी सशस्त्र विद्रोह सुरु भएपछि सञ्चालनमा समस्या थपिएको स्थानीयवासी बताउँछन्।

वि.सं.२०६१ सालमा करिब चार सय घरधुरी मुक्तकमैयाले विमानस्थललाई अतिक्रमण गरेर अस्थायी टहरा बनाएका थिए। २०६९ सालमा विमानस्थलको अतिक्रमित क्षेत्र खाली गराइएको थियो।

कात्तिक ११ गते टेस्ट फ्लाइट गर्ने तयारीमा रहेको टीकापुर विमानस्थल सञ्चालन गर्न भन्दै टीकापुर नगरपालिकाले २०७० सालमा घरजग्गा खरीद बिक्रीमा १ प्रतिशत कर थपेको थियो। त्यसयता २०७३ मा सर्वेक्षण गरेर धावनमार्ग पीच गर्न करिब २१ करोड बराबरको लागत अनुमान पेस गरिएको थियो। तर काम अघि बढेन। लगत्तै पुनः सर्वेक्षण गर्दा ३१ करोड अनुमानित लागत लाग्ने रिपोर्ट तयार भएको थियो।

पूर्व-पश्चिम राजमार्गको कैलाली-लम्की सडकखण्डबाट १४ किलोमिटर दक्षिणमा कर्णाली नदी छेवैमा अवस्थित छ टीकापुर। २०५३ सालमा टीकापुर पहिलोपटक नगरपालिका बन्यो। पछि २०७३ सालमा समायोजनसहित नगरपालिकाको क्षेत्रफल बढ्यो।

राजा महेन्द्रले स्वास्थ्य लाभ गर्दै शासन सत्ता चलाएको ऐतिहासिक स्थान पनि हो टीकापुर। वि.सं.२०२४ सालताका राजा महेन्द्र टीकापुर आएर केही समय यहीँबाट शासन गरेका थिए। हृदयघातपछि स्वास्थ्य लाभ गर्न राजा महेन्द्र टीकापुर बसेका थिए।

२०२८ सालमा टीकापुर विकास समितिको स्थापनासँगै यहाँ शहरीकरणको अवधारणा अघि बढाइएको थियो। त्यसका लागि ३ हजार १ सय ७३ विगाह जमिन सरकारले उपलब्ध गराएको थियो।

करिब ८५ विगाह क्षेत्रफल टीकापुर पार्क बन्यो। साविकका मध्य तथा सुदूरपश्चिम क्षेत्रको पर्यटकीय क्षेत्रका रुपमा यो क्षेत्र सुपरिचित छ।

प्रकाशित मिति: : 2024-10-25 18:05:00

प्रतिकृया दिनुहोस्