आजका प्रमुख सात समाचार (भिडियाेसहित)

Break n Links
Break n Links

नेपालले बाढी पहिराेलगायत विपदबाट पुगेकाे क्षति पुन:निर्माणका लागि विश्व बैंकबाट १५० मिलियन डलर सहयाेग प्राप्त गर्नका लागि सम्झाैता भएकाे खबर बिहानै प्राप्त भएकाे थियाे।

याे खबर आइरहँदा आज पनि बिहानैदेखि सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेकाे विषयमा बनेकाे समाचारहरु चुलिँदै गए। बिहान रास्वपाले पाेखरामा पत्रकार सम्मेलन गरेर शुक्रबारदेखि काठमाडाैँ केन्द्रित आन्दाेलन गर्ने घाेषणा गर्याे। त्यसकाे केही घण्टामा कास्की जिल्ला अदालतबाट अनुसन्धानका लागि रविलाई थप सात दिन थुनामा राख्ने अनुमति प्राप्त भयाे। भने, साँझपख रुपन्देही जिल्ला अदालतबाट साेही प्रकरणमा रविविरुद्ध पक्राउ पुर्जी जारी भयाे।

दिउँसाे शुक्रबारकाे बिराेध प्रदर्शनबारे जानकारी दिन नेकपा (माओवादी केन्द्र)ले पत्रकार सम्मेलन गर्याे। भने, बेलुका दशरथ रंगशालाबाट महिला फुटबल टाेलीले खुसीकाे खबर प्रवाह गर्याे। यीलगायत आज दिनभरिका प्रमुख समाचार यहाँ प्रस्तुत छ:


श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

श्रीलंकालाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसीपकाे सेमिफाइनलमा पुगेकाे छ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा श्रीलंकालाई ६-० गाेल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेकाे हाे।

याे सँगै नेपालले सेमिफाइनलमा आइतबार भारतसँग प्रतिस्पर्धा गर्ने भएकाे छ। त्यस्तै अर्काे सेमिफाइनलमा भुटान र बंगलादेश प्रतिस्पर्धा गर्ने भएका छन्।

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति प्राप्त भएकाे छ।

बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।

पोखराकाे सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाई गत शुक्रबार पक्राउ गरेर पोखरा लागिएको थियो।

त्यस्तै रुपन्देही जिल्ला अदालतबाट पनि रविविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ।

रास्वपाले काठमाडाैँ केन्द्रित प्रदर्शन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबारदेखि काठमाडाैँ केन्द्रित प्रदर्शन गर्ने भएकाे छ।

सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखरामा प्रदर्शन गरिरहेको रास्वपाले अब पोखराको प्रदर्शन रोकेर काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने जानकारी दिएको छ।

पोखरामा बिहीबार बिहान पत्रकार सम्मेलन गरेर पोखरामा आजकाे प्रदर्शन अन्तिम भएकाे जनाएकाे छ।

सरकारले सत्तापक्षलाई जोगाउने र विपक्षी नेतालाई छानीछानी मुद्दा लगाउने काम गर्‍याे: माओवादी

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार विपक्षी दलका नेताहरुलाई छानीछानी मुद्दा लगाउने र सत्तापक्षका नेता जोगाउने काममा लागिपरेको आरोप लगाएको छ।

बिहीबार पार्टी केन्द्रीय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी उपाध्यक्ष अग्नि सापकोटाले सरकारले सहकारी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेल लगायतकाहरुलाई संरक्षण गरेर विपक्षीप्रति प्रतिशोध साँधिरहेको बताएका हुन्।

उनले सुशासन र भ्रष्टाचारका नाममा तत्कालिन सरकारले थालेको काम छोडेर ओली नेतृत्वको सरकार ठिक विपरीत दिशामा गइरहेको उल्लेख गरे।

विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन डलर ऋण दिने

विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा बिहीबार बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ।

जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट पारेका छन्।

संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा बिहीबार नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपाल आफ्नो भूमिका खेल्न प्रतिबद्ध रहेको बताएका हुन्।

नेपाल जापानसँग ९–२ ले पराजित

नेपालले एएफसी यु–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपालले जापानसँग ९–२ को पराजय बेहोरेको छ। बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम राख्दै जित दर्ता गरेको हो।

भिडियाे:

प्रकाशित मिति: : 2024-10-24 20:40:00

प्रतिकृया दिनुहोस्