निरौलाकाे हत्यामा संलग्नलाई राजनीतिक संरक्षणको शंका, पक्राउ नगरेसम्म शव नबुझ्ने परिवारको अडान

झापाको दमक नगरपालिका-९ का देशु भनिने यामु निरौलाको हत्या प्रकरणले चर्को रुप लिन थालेको छ।

घटनाको आज तेस्रो दिन पनि मृतक परिवारले प्रहरीले हत्यामा संलग्नहरुलाई पक्राउ गर्न तत्परता नदेखाएको भन्दै शव नबुझ्ने अडान लिएका छन्। जसका कारण मृतक निरौलाको शव पोष्टमार्टम हुन सकेको छैन।

मंगलबार अपरान्ह हत्या गरिएका निरौलाको हत्यामा नाम जोडिएका मध्ये केही सत्तारुढ दल नेकपा एमालेका जिम्मेवार कार्यकर्ताहरु र नेताहरुका नातगोताभित्रका परेकाले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको हुन सक्ने अड्कलबाजी थालिएको छ।

त्यसो त इलाका प्रहरी कार्यालय दमकले मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्या प्रकरणमा जोडिएका ६ जनाको नाममा किटानी जाहेरी दिन जाँदा दिनभर जाहेरी दर्ता गर्न नमानेपछि आफन्तहरूले प्रहरीमाथि नै शंका उत्पन्न भएकाे दाबी थियो।

बुधबार बिहान करिब ७ बजे नै इलाका प्रहरी कार्यालय परिसरमा पुगेका दमक-७ का वडाध्यक्ष भिम पौडेलले  हत्याको घटनालाई सामान्य रुपमा नलिई पीडित पक्षको जाहेरी दर्ता गरी उपलब्ध प्रमाणहरुका आधारमा अनुसन्धानको क्रम सुरु गर्न प्रहरी अधिकारीहरुलाई सुझाएका थिए।

तर प्रहरीले दिनभर जाहेरीमा उल्लेखित कतिपय नामहरु हटाएर मात्रै दर्ता गर्न सकिने प्रतिक्रिया दिएपछि दिनभर जसो मृतककी श्रीमती कृष्णमायासहित आफन्त र उनका शुभचिन्तकहरुले प्रहरी कार्यालय घेराउ गरी प्रहरीलाई खबरदारी गरेका थिए।

स्थानीयहरुको खबरदारीपछि प्रहरीले दर्ता गरेको किटानी जाहेरीमा उल्लेखित व्यक्तिहरुमध्ये सीसीटीभी फुटेजबाट समेत कुटपिटमा संलग्नको पहिचान भएका राजु भनिने शेरबहादुर लिम्बु र गणेश दर्जी प्रदेश सांसद तथा एमाले नेता होमबहादुर थापाका सहोदर भाई र केन्द्रीय सदस्य गोविन्द थापाका दाजु बुद्धिमान थापालगायतको नाम छ। तर उनीहरुलाई प्रहरीले पक्राउ गरेको छैन।

विवादित भनिएको जग्गा (घटनास्थल)को दृश्य दमक वडा नं ३ स्थित मावा पुलबाट करिब २ सय मिटर नजिकैको क्रियाकलापहरु देख्न सकिन्छ।

दमकबाट मधुमल्ला जाने मुल सडक छेवैमा करिब ८/१० जनाको समूहकै बीच दुई जनाले निरौलालाई टाउकोको पछाडि भागमा चार/पाँच पटक मुक्काले हानेको दृश्य घटनास्थल नजिकैको सीसीटीभी क्यामेरामा कैद भएको छ।

अन्तिम पटक भुइँबाट ढुंगा टिपेर एक युवकले हान्दा निरौला भुइँमा ढलेको दृश्य देख्न सकिन्छ। उनीमाथि कुटपिट हुनुअघि त्यहाँँ दुई वटा गाडीमा केही मानिसहरु पुगेको र सेतो गाडीको पछाडिको भागबाट ओर्लिएका एक व्यक्तिसहित अर्का एक जना निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिन्छन्। ती गाडीमा जाने व्यक्ति दमकका नम चेम्जोङसहितको समूह भएको जनाइएकाे छ।

अपराध अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरुले भने उनीहरुको पहिचान गरे/नगरेकोबारे सार्वजनिक भएको छैन।

गाडीबाट ओर्लिएर त्यहाँ जेसीबी लगाएर माटो खन्ने/पुर्ने काम गर्दै गरेकोस्थलतर्फ ती मानिसहरु गएका र सोही क्षेत्रमा रहेका निरौलासँग संवाद भएको अनुमान छ तर उनीहरुबीच के संवाद भयो? भन्ने खुलेको छैन।

त्यहाँ दमकतर्फबाट गएका दुई वटा गाडी नजिक नजिकै रोकिएका र निरौलामाथि कुटपिट भइ अन्तिममा ढुंगाले टाउकोको पछाडि भागमा प्रहार गरेको देखिन्छ।

स्थानीय प्रत्यक्षदर्शी जानकारहरुका अनुसार सो ठाउँमा लामो समयदेखि जग्गासम्बन्धी विवाद छ।

मावा खोलाबाट नजिकैको सो क्षेत्रमा केही ऐलानीप्रति सार्वजनिक जग्गा पनि छ। तर त्यस क्षेत्रको विवादित भनिएको जग्गा नम्बरी भएको बताइएको छ।

घटनाका प्रत्यक्षदर्शीहरुका अनुसार सो जग्गामा उर्लाबारीका प्रकाश कार्कीसहितको समूहले सो दिन जेसीवी ल्याएर माटो सम्याउने, पुर्ने काम गर्दै गरेको सूचना पाएपछि दमकका चेम्जोङसहित दुई वटा गाडीमा केही मानिसहरु त्यहाँ पुगेका थिए।

उनीहरु त्यहाँ पुगेपछि सुरुमा केहीबेर त्यहाँ चेम्जोङसहितका समर्थक र उर्लाबारीका कार्कीसहितको समूहका समर्थकबीच चर्काचर्की भएको र विवाद साम्य भ जस्तो अनुमान लगाएका थिए, आसपासका मानिसहरुले। तर पछि राजु नेम्वाङ भनिने शेरबहादुर नेम्बाङ लिम्बु र सेतो गाडीमा आएका अर्का एक जनाले एकैसाथ निरौलामाथि कुटपिट गरेका थिए।

कुटपिटबाट ढलेका उनलाई तत्काल घटनास्थलमा रहेको समूहका उर्लाबारीका कार्कीसहित दुई जनाले त्यहाँ रहेको गाडीमा हालेर अस्पतालतर्फ लैजान खोजेका र गाडीमा लैजान गाडी धनी/चालकले अस्वीकार गरेपछि बाटोमा गुडिरहेको अटो रोकेर आम्दा अस्पतालतर्फ ल्याएका थिए। अस्पतालमा ल्याउनसाथ चिकित्सकहरुले निरौलालाई मृत घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2024-10-24 11:26:00

प्रतिकृया दिनुहोस्