राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउकाे विराेधमा प्रदर्शन भएपछि पोखराका दुई स्थानमा निषेधाज्ञा जारी गरिएकाे छ।
पोखरा महानगरपालिकाकाे शहीदचोक र गैह्रापाटन क्षेत्रमा बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
पोखरामा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने भएकाेले निषेधाज्ञा जारी गरिएकाे प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जनाएका छन्।
उनका अनुसार निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।
उक्त अवधिमा आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने/गराउने कार्यमा अवरोध गर्नेउपर प्रचलित कानुन बमोजिम कारवाही हुने प्रशासन कार्यालयले जनाएकाे छ।