सत्ताबाटै ‘क्लिन चिट’, सत्ताबाटै पक्राउ

Break n Links
Break n Links

शुक्रबार (कात्तिक २ गते) सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘क्लिन चिट’ पाएकाे ६ महिना पनि पुगेकाे छैन। गएकाे वैशाख २४ गते उनले सरकारका कानूनी सल्लाहकार ‘महान्यायाधीवक्ता’काे कार्यालयबाट सहकारी ठगी गरेकाे हाेइन भनेर ‘क्लिन चिट’ पाएका थिए। अर्थात् लामिछाने सहकारी ठगीमा संलग्न नरहेकाे भनेर महान्यायाधीवक्ता कार्यालयले ‘क्लिन चिट’ दिएकाे थियाे।

६ महिनाअघि जतिबेला उनले ‘क्लिन चिट’ पाएका थिए, उनी आफैँ सत्तामा थिए। त्याे पनि प्रधानमन्त्रीकाे अफर छाडेर गृह मन्त्रालयमा। महान्यायाधीवक्ताकाे कार्यालयले ‘क्लिन चिट’ दिनुअघि उनलाई प्रहरीलेसमेत १४ चैत २०८०मा ‘क्लिन चिट’ दिएकाे थियाे। राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले रविविरुद्ध सहकारी ठगीकाे कुनै प्रमाण नभएकाे भनिदिएका थिए।

जतिबेला रविमाथि कारबाही हुनुपर्छ भन्दै पाेखराका सहकारी पीडितले आवाज उठाइरहेका थिए। कास्की प्रहरीमा उनीमाथि छानबिन भइरहेकाे थियाे। गाेरखा मिडियाकाे प्रवन्ध निर्देशक हुँदा पाेखराकाे सूर्यदर्शनलगायत सहकारीकाे रकम मिडियामा लिएर सहकारी ठगी गरेकाे रविमाथि आराेप थियाे। जसलाई काँग्रेसले पनि विषय बनायाे र संसद अवरुद्ध गर्नेसम्मकाे काम गर्‍याे।

प्रतिपक्ष काँग्रेसले रविमाथि छानबिन हुनुपर्ने माग गरेपछि सत्ताकाे दूरुपयाेग गरेर प्रहरी र महान्यायाधीवक्ताकाे कार्यालयलाई ‘क्लिन चिट’ दिन लगाएकाे आराेप त्यतिबेलै रविले खेपेका थिए। जेठ ६ गते लामिछानेले संसदबाट आफूमाथि उठेकाे प्रश्नकाे जवाफ दिए। जवाफभन्दा पनि उनले आवेग पाेखेका थिए। मिडिया मिलाउन नसक्दा आफूमाथि विभिन्न आराेप लागेकाे, आफूले केही गल्ती नगर्दा पनि प्रतिपक्षले मिडियाले ट्रायलमात्र गरेकाे भनेका थिए।

तर, सत्ताबाट बाहिरिएपछि फेरि उही सत्ताले लामिछानेलाई हिरासत पठाएकाे छ। पक्राउ पर्दै गर्दा लामिछानेले शुक्रबार आफूले कुनै गल्ती नगर्दा पनि सरकारले दम्भ देखाउँदै पक्राउ गरेकाे प्रतिक्रिया दिए। उनले कति गल्ती गरेका छन् वा छैनन् त्याे अब अदालतकाे विषय बनेकाे छ। प्रहरीकाे अनुसन्धानकाे विषय बनेकाे छ।

रवि सत्तामा हुँदा उनी सहकारी ठगीमा संलग्न नरहेकाे भनेर ‘क्लिन चिट’ दिने प्रहरी फेरि उनै रवि सहकारी ठगीमा संलग्न रहेकाे भनेर छानबिन गर्दैछ। सरकारी वकिलकाे कार्यालयले उनकाे मुद्दा हेर्नेछ। अर्काे विषय के छ भने लामिछाने सहकारीकाे रकम अपचलनमा संलग्न रहेकाे भनेर सहकारीसम्बन्धी विशेष संसदीय छानबिन समितिले भनिसकेकाे छ।

तर, पनि लामिछानेले ‘मैले गल्ती गरेकाे छैन’ भन्न छाडेका छैनन्। जेठ ६ गते पनि संसदकाे राेष्टमबाटै उनले आफ्ना कार्यक्रतालाई भनेका थिए- ‘तपाईंको सभापति ठग होइन। मैले कुनै ठगी गरेको छैन।’ शुक्रबार पार्टी कार्यालयबाट पक्राउ पर्दै गर्दा पनि उनले उही शब्द भन्न भ्याएका छन्, ‘मैले गल्ती गरेकाे छैन।’

रविकाे दोस्रो ‍जेल यात्रा

रवि पक्राउ परेकाे याे दाेस्राेपटक हाे। पहिलाेपटक पाँच वर्षअघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा ३० साउन २०७६ मा पक्राउ परेका थिए। त्यतिबेला उनी सञ्चारकर्मी थिए। न्यूज २४ टेलिभिजनबाट उनीसहित सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की पनि पक्राउ परेका थिए।

पाँच वर्षपछि पक्राउ पर्दा उनी संसदकाे चाैथाे ठुलाे पार्टीकाे सभापति र सांसद छन।

लामिछानेका यतिमात्र हाेइन, अन्य विवाद पनि छन्। नागरिकता प्रकरणमा उनले एकैपटक गृहमन्त्री र सांसद पदसमेत गुमाएका थिए। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिने प्रक्रिया पूरा नगर्दा उनले गृहमन्त्री र सांसद पद गुमाउनु परेकाे थियाे। सर्वोच्च अदालतले १३ माघ २०७९ मा उनी गैरनागरिक भएकाे फैसला गरिदिएकाे थियाे।

उनकाे याे विवाद अहिले सकिएकाे छ। सांसद पद गएपछि उनले पछि नागरिकता लिने प्रक्रिया पूरा गरेर नागरिता लिए। फेरि चितवन- २ बाट निर्वाचित भएर सांसद छन्।

तर, अझै उनीमाथि पासपोर्ट (राहदानी) विवादकाे वषय विचाराधीन छ।

प्रकाशित मिति: : 2024-10-19 09:51:00

प्रतिकृया दिनुहोस्