माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरुको एकतालाई चाँडै टुंगोमा पुर्याउने बताएका छन्।

माओवादी केन्द्रले चितवनको भरतपुर- १३मा बेपत्ता याेद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरे।

एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भङ्गालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताए। आफूहरु शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भएपनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो विन्दु आएको बताए।

अध्यक्ष प्रचण्डले आमजनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने बताए। उनले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र याेद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरु बनाएर अघि बढ्ने बताए।

उनले न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताए। उनीजस्तै हजारौं याेद्धाको बलिदानबाट क्रान्ति अघि बढाउन ऊर्जा प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु नै उनीहरुप्रतिको साचो श्रद्धाञ्जली हुने बताए।

प्रकाशित मिति: : 2024-10-19 14:52:00

प्रतिकृया दिनुहोस्