बाढीपहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले थाल्यो अध्ययन

गत असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले भौगर्भिक अध्ययन सुरु गरेको जनाएको छ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज (शुक्रबार) सिंहदरबारमा बसेको बैठकमा गृह-सचिव गोकर्णमणि दवाडीले विभिन्न ३४ वटा स्थानीय तहको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन सम्पन्न गरिएको जानकारी दिए।

प्राकृतिक विपद् जोखिम रहेका सुर्खेत, सिन्धुपाल्चोक, झापा, महोत्तरीलगायतका ४९ स्थानमा पूर्वसूचना प्रणाली जडान गरिएको जानकारी दिँदै गृह-सचिव दवाडीले विपद् पूर्वतयारी, खोज, उद्धार र राहतका लागि स्थानीय तहमा स्वयमसेवक ब्यूरो गठन गरिएको र हालसम्म ब्युरोमा १ लाख १ हजार २ सय ८८ जना स्वयमसेवक दर्ता भइसकेको जानकारी गराए।

बैठकमा सांसदहरुले हरेक वर्ष कुनै न कुनै प्राकृतिक प्रकोप आइरहने हुनाले सरकारले प्रकोपको सामना गर्न प्रशस्त बजेट व्यवस्थापनसमेत भएको बताएका छन्।

शुक्रबार समितिले गृह मन्त्रालयसँग विपद व्यवस्थापन सम्बन्धमा छलफल गरेको थियो।

प्रकाशित मिति: : 2024-10-18 14:30:00

प्रतिकृया दिनुहोस्