अजित पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ।
शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली चलाइएको थियो। त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो।
यस घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले एक पत्रकार सम्मेलनमा बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेकाे बिबिसी हिन्दीले जनाएकाे छ।
मुख्यमन्त्री शिन्देले यस घटनामा दुई जनालाई पक्राउ गरिएको र एक जना फरार रहेको बताएका छन्। पक्राउ पर्नेमा एक जना हरियाणाका र एक जना उत्तर प्रदेशका रहेका छन्।
घटनाबारे जानकारी दिँदै मुख्यमन्त्री एकनाथ शिन्देले भने, ‘पूर्वमन्त्री बाबा सिद्दिकीमाथि घातक आक्रमण भएको थियो। दुर्भाग्यवश, उनको मृत्यु भएको छ। यो अत्यन्त दुर्भाग्यपूर्ण र दुःखद घटना हो। पुलिस कमिश्नरले मलाई भनेका छन् कि यस मामलामा दुई अभियुक्तहरूलाई गिरफ्तार गरिएको छ। एक आरोपी फरार छन्। पक्राउ पर्नेमा हरियाणा र उत्तर प्रदेशका रहेका छन्। तेस्रो अभियुक्तलाई पक्राउ गर्न प्रहरीको टोली खटिएको छ। तीनै जनामाथि कडा कारबाही हुनेछ।’
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले पनि सिद्दिकीको एक्स एकाउन्टमा एक पोस्ट मार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्।