अमेरिका छिर्नखोज्ने नेपालीसहित ६ जना मारिए, भुटानमा ज्ञानेन्द्र शाहलाई ‘रेड कार्पेट’

सुरु भयो दसैँ

आजबाट दसैँ सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादसैँको पहिलो दिन ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने गरिन्छ।

दसैँ मान्ने नेपालीले आ-आफ्नो घर तथा सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन्। हनुमानढोकास्थित दसैँघरमा पनि जमरा राखी घटस्थापना गरिएको छ। बिहीबार बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो।

आजदेखि दशमीसम्म विभिन्न शक्तिपीठहरूको पूजाआजा गरिन्छ।

‘पृथ्वी र विपी राजमार्ग दसैंअघि खोल्न सकिन्न’

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले केही राजमार्गहरू दसैँअघि सञ्चालनमा ल्याउनै नसकिनेगरी क्षतिग्रस्त भएको बताएको छ।

दसैँअघि नै सबै राजमार्गमा यातायात सञ्चालन गर्नेगरी मर्मत गरिसक्ने सरकारले प्रतिवद्धता गरे पनि विपी राजमार्ग र पृथ्वी राजमार्गलाई दसैँअघि पूर्ण सञ्चालनमा ल्याउन नसकिने भौतिक मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका अनुसार गत असोज ११ र १२ गते भएको अविरल वर्षका कारण देशका सबैजसो मुख्य र सहायक राजमार्गहरू अवरुद्ध भएका छन्।

अहिलेसम्म ती राजमार्गका विभिन्न खण्डहरू कतै एकतर्फी र कतै दुईतर्फीरुपमै सवारी रोकिनेगरी क्षतिग्रस्त भएका छन्। मन्त्रालयका अनुसार बिहीबारसम्म ११ राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध छन्। सात सहायक मार्गहरू एकतर्फी सञ्चालनमा आएका छन्।

नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो खुल्याे

नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएकाे छ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता भएको हो।

यससँगै नेपालबाट बंगलादेश विद्युत् निर्यातको बाटो औपचारिक रुपमा खुलेको छ। अब नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्नेछ।

अमेरिका छिर्नखोज्ने नेपालीसहित ३३ जनामाथि गोली प्रहार, ६ जनाको मृत्यु

मेक्सिकन सैनिकहरूले गोली चलाउँदा ग्वाटेमालाको सिमानामा ६ जना आप्रवासी मारिएका छन्।

समाचार एजेन्सी रोटर्सका अनुसार बुधबार राति सिमाना पार खोजेको एउटा ट्रकमाथि सैनिकले गोली चलाएका थिए।

उक्त ट्रकमा ३३ जना आप्रवासी थिए। ती मध्ये चार जना घटनास्थलमा र दुईजनाको उपचारको क्रममा मृत्यु भएको समाचारमा जनाइएको छ। उक्त ट्रकमा इजिप्टियन, नेपाली, क्यूवाली, भारतीय, खाडी र पाकिस्तानी नागरिकसमेत थिए।

तल्लोबाटोबाट अधिकांश आप्रवासीहरू पानामा, कोस्टारिका, निगरागुवा, हुन्डुरस, ग्वाटेमालाबाट मेक्सिको हुँदै अमेरिका छिर्ने रुट हो।

बाढीग्रस्त क्षेत्रमा प्रचण्ड दौडाहा

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष बाढी तथा पहिरो प्रभावित क्षेत्र निरिक्षणका विभिन्न ठाउँमा पुगिरहेका छन्।

प्रभावित क्षेत्रमा पुगेर उनले त्यहाँका पीडितहरूलाई राहत तथा पुन:स्थापनाका लागि सरकारलाई झक्झक्याउने आवश्वासन दिएका छन्।

त्यस्तै उनले विपद न्यूनिकरण तथा त्यसपछिका राहत अनि पुन:स्थापनामा सरकारले योजनावद्ध पहल नगरेको भन्दै आलोचना पनि गरिरेहका छन्।

यसअघि बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र पुन:स्थपानामा सघाउनका लागि पार्टीले कालिमाटीस्थित सुकुम्बासी बस्तीमा स्वंयसेवकहरू परिचालन गरेर देशव्यापी स्वंयसेवा अभियान सुरु गरेको थियो।

ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट

पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा भुटान पुगेका छन्। आज उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पुमा अवतरण भएका हुन्।

पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि छन्। पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा छन्।

भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकको निम्तोमा त्यहाँ पुगे पनि यो भ्रमण निजी भएको ज्ञानेन्द्रको सचिवालयले जनाएको छ।

निजी भ्रमणमा त्यहाँ पुगेका उनलाई राजधानी थिम्पुमा भुटानकी राजकुमारी सोनाम याङगडेन वाङगचुकले स्वागत गरेकी थिइन्। विमानस्थलमा उनको स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो।

१५ हजार डेंगी संक्रमित, ७ जनाको मृत्यु

देशभरि करिब १५ हजार मानिसमा डेंगी संक्रमण पुष्टि भएको छ। तीमध्ये सातजनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार जुम्लाबाहेक देशका ७६ जिल्लामा डेंगी संक्रमित छन्।

मन्त्रालयले सबैभन्दा बढी कास्की र त्यसपछि काठमाडौं, तनहुँ, पर्वतमा संक्रमितहरू छन्। दिउँसोको उज्यालोमा सक्रिय हुने कालो सेतो छिर्केबिर्के पोथी लामखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुन्छ र त्यसैको टोकाईबाट नै सर्छ। 

प्रकाशित मिति: : 2024-10-03 19:22:00

प्रतिकृया दिनुहोस्