सुकुम्बासी बस्तीबाट प्रचण्डको आक्रोश, ओलीकाे स्वीकार- सरकारको तयारी थिएन

१७ अर्बभन्दा धेरैको क्षति, कुन क्षेत्रमा कति?

असोज ११ र १२ गते भएको घनघोर वर्षा र त्यससँगै बाढी र पहिरोबाट विभिन्न क्षेत्रमा लगभग १७ अर्बभन्दा बढीको क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले अनुमानित क्षतिविवरण प्रस्तुत गरेका हुन्।

उनका अनुसार सबैभन्दा धेरै कृषिक्षेत्रमा ६ अर्बको क्षति भएको छ। त्यस्तै खानेपानी संरचनामा ३ अर्ब ५५ करोड, सडक पूर्वाधारहरूमा २ अर्ब ५२ करोड, उर्जातर्फ ४ अर्ब, सिंचाइतर्फ २ अर्ब क्षति भएको उनले सुनाए।

उनका अनुसार हालसम्म बाढी, पहिरो र डुबानमा परेर २२४ जनाको मृत्यु भएको छ। त्यस्तै २४ जना मानिस बेपत्ता भएका छन् र डेढ सय मानिस घाइते भएका छन्।

विपदको सामना गर्न सरकार मानसिकरुपमा तयारै थिएन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले यो विपदका बारेमा सरकार मानसिकरुपमा तयार नै नभएको बताएका छन्।

सिंहदरबारमा मंगलबार विशेष पत्रकार सम्मेलन गर्दै उनले विपत्ति कत्रो आउँछ भन्ने अनुमान नभएकाे र पूर्व तयारी गर्दा गर्दै रोक्न पनि नसक्ने बताए।

प्रधानमन्त्री ओलीले उद्धार तथा राहतमा सरकार अनि सरकारी संयन्त्रहरूले जानीजानी ढिलाइ वा लापरवाही नगरेको पनि दाबी गरे।

हिलाम्मे पार्टी कार्यालयमा ओली

प्रधानमन्त्री तथा नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित आफ्नो पार्टी कार्यालय हेर्न पुगेका छन्। गत शुक्रबार र शनिबार भएको वर्षाका कारण बागमती नदीले डुबाएको यो कार्यालय अझै हिलाम्मे छ।

यहाँमात्रै कम्तीमा ४ दर्जन मानिसको मृत्यु भएको र वर्षामा काठमाडौँ डुबिरहेका बेला उनी भने अमेरिका भ्रमणमा थिए। सबै कार्यक्रमहरू सिध्याएर उनी बिपदको तीन दिनपछिमात्रै नेपाल फर्किएका थिए।

त्यसअघि सिंहदबारमा एमालेको बैठकले विपदमा राहतका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने र पार्टीका अरु कामहरू छोडेर सबै कार्यकर्ताहरूलाई उद्धार तथा राहतको काममा खट्न निर्देशन दिएको थियो।

अन्योल र आक्रोशित यात्रुहरू

दसैँ नजिकएसँगै भएको वर्षाका कारण देशभरिका राजमार्गहरू ठप्प छन्। सबैतिर सडकहरू बन्द हुँदा अहिले राजधानी आउने र बाहिरिने यात्रुहरूको बिजोक भएको छ।

गत शनिबारदेखि बस कम्पनीहरूले अग्रिम टिकट बुकिङ खुलाएपनि सडक मर्मत नभएसम्म लामो दूरीमा बसहरू नचलाउने भन्दै यातायात व्यवसायीहरूले सरकारलाई चेतावनी दिइरहेका छन्।

नयाँ बसपार्कमा भने यतिबेला टिकट काट्नेहरूको घुँइचो छ। तर टिकट काटेका यात्रुहरू यात्राको अन्योलमै छन्। बसपार्कमा तथा सडकमा अलपत्र यात्रुहरूले सरकारप्रति आक्रोश पोखेका छन्।

मुख्य राजमार्गहरू बन्द हुँदा कतिपय यात्रुहरू पैदल यात्रा गर्दै काठमाडौँसम्म आइपुगेका छन्। यातायात व्यवसायीहरुले भने अहिलेको अवस्थामा सवारी चलाउन नसकिने भन्दै अग्रिम टिकट बुकिङ राक्ने तयारी गरेका छन्।

मुटुरोगको उपचार अब सातै प्रदेशबाट

सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटुरोगको उपचार सेवा विस्तार गर्ने भएको छ।

केन्द्रका अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले सातै प्रदेशमा यस्तो सेवा विस्तार गर्ने निर्णय गरेको हो।

बैठकमा बोल्दै मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरूमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार सुरु भइसकेको भन्दै मुटु रोगको उपचारसमेत विस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए।

वर्षाका कारण १०० मेगावाट विद्युत कम, लोडसेडिङ होला?

देशभरि भएको वर्षा, बाढी र पहिराका कारण विभिन्न आयोजनाहरूमा क्षति पुगेपछि अहिले नेपालमा लगभग १ हजार मेगावाट विद्युत आपूर्ति कम भएको छ। योबाहेक अरु ससाना विद्युत उत्पादन गृहहरूमा पनि क्षति पुगेको छ।

देशभरि अहिले राष्ट्रिय प्रशारण लाइनमा लगभग २८ सय मेगावाट बिजुली जोडिएको थियो। सामान्यतया वर्षायामको यो बेलामा माग भन्दा उत्पादन बढी हुन्थ्यो र त्यो बढी बिजुली भारतलाई बेचिन्थ्यो। तर अहिले भने भारतलाई बिजुली निर्यात रोकिएको विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरणको प्रारम्भिक लेखाजोखाअनुसार गत शनिबार र शुक्रबारको वर्षाका कारण विद्युत क्षेत्रमा लगभग २ अर्ब ५० करोडभन्दा बढी क्षति भएको छ।

हिउँदयाम सुरु हुनुभन्दा अघि नै ती आयोजनाहरूको मर्मत गर्न नसकिए फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था आउनसक्ने प्राधिकरणले जनाएको छ।

शेयर बजारमा उछाल

गत भदौ दोस्रो सातादेखि ओरालो यात्रामा रहेको सेयर बजारको कारोबारमा लामोसमयपछि उछाल देखिएको छ।

मंगलबार कारोबार अवधिभरि सेयर बजार ११४.७० अंकले बढेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा रोकिएको थियो।

मंगलबार सूचकसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा कुल ७ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज बैंकिङ समूहको सेयर मूल्य ३.८२ प्रतिशत, विकास बैंक समूहको ५.४८ प्रतिशत, फाइनान्स समूहको सेयर मूल्य ९.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९७ प्रतिशतले बढेको छ।

मंगलबार जलविद्युत समूहको सेयर मूल्य ५.९८ प्रतिशत, लगानी समूह ६.१० प्रतिशत, जीवन बिमा समूहको ४.१२ प्रतिशत, उत्पादन समूहको २.१९ प्रतिशत, लघुवित्त समूहको ३.९८ प्रतिशत र निर्जीवन बिमा समूहको ३.०९ प्रतिशतले बढेको छ।

सुकुम्बासी बस्तीबाट प्रचण्डको गर्जन

बाढीमा डुबेको बल्खुको सुकुम्बासी बस्तीबाट पार्टीको स्वयंसेवक परिचालन अभियान सुरु गर्दै प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारको आलोचना गरेका छन्।

उनले पूर्वसूचना र जानकारी हुँदा हुँदै विपत व्यवस्थापनमा गरेको कमजोरीप्रति आत्मालोचना गर्दै राहत तथा पुनस्थापनाको कामलाई युद्धस्तरमा अघि बढाउन सरकारलाई भनेका छन्।

नेकपा माओवादीले यही बस्तीबाट देशभरि स्वंयसेवाको अभियान सुरु गरेको भन्दै अध्यक्ष प्रचण्डले संकटका बेला सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न पनि आग्रह गरे।

प्रकाशित मिति: : 2024-10-01 19:00:00

प्रतिकृया दिनुहोस्