नयाँ राष्ट्रपति छान्न श्रीलङ्कामा मतदान

EPA-EFE/REX/Shutterstock
EPA-EFE/REX/Shutterstock

व्यापक प्रदर्शनबाट राष्ट्रपति हटेको डेढ वर्षपछि श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भइरहेकाे छ। देशको नवौँ कार्यकारी राष्ट्रपति चयनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएकाे हाे।

श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटसँगै सुरु भएको प्रदर्शन उत्कर्षमा पुगेपछि सन् २०२२ को जुलाईमा राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिएका थिए। राष्ट्रपति पदमा आसीन हुँदै भागेर विदेश गएका उनले पछि सिङ्गापुरबाट राजीनामा दिएका थिए।

मतदानलाई देशको आर्थिक सुधारको जनमत सङ्ग्रहको रूपमा हेरिएको छ।

राज्यबाट दिइने अनुदानमा कटौती र करको दरमा भएको वृद्धिका कारण धेरैले अझैसम्म गुजाराका लागि सङ्घर्ष गरिरहेका छन्।

मतदाताले आर्थिक मुद्दालाई चुनावमा प्रमुख चासोका साथ हेरिरहेका कारण चुनावी प्रतिस्पर्धा पनि यही विषयमा केन्द्रित हुने कैयौँ विश्लेषकहरूले भविष्यवाणी गरेका छन्।

‘बढ्दो मुद्रास्फीति, आकासिँदो जीवनयापनको खर्च र गरिबीले मतदाताहरू बजार मूल्यमा स्थिरता र जीविकोपार्जनमा सुधार गर्ने उपायको व्यग्र खोजीमा छन्,’ भारतमाको थिङ्क ट्याङ्क ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’का अनुसन्धाता सौम्य भौमिकले बीबीसीसँग भने।

‘आर्थिक सङ्कटबाट माथि उठ्न खोजिरहेको देशका लागि यो निर्वाचनले पुनरुत्थानको मार्गलाई आकार दिन र  देशको शासनमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विश्वास पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ’, उनकाे भनाइ छ।

चुनावी प्रतिस्पर्धामा कोको छन्

श्रीलङ्कालाई आर्थिक सङ्कटबाट माथि उठाउने महत्त्वपूर्ण जिम्मेवारी पाएका राष्ट्रपति रनिल विक्रमसिङ्घले अर्को कार्यकालका लागि निर्वाचित हुने आकाङ्क्षा राखेका छन्।

हाल ७५ वर्षका विक्रमसिङ्घलाई पूर्वराष्ट्रपति गोटाबय राजपक्ष अपदस्थ भएको एक सातापछि संसद्‌ले राष्ट्रपतिमा नियुक्त गरेको थियो।

राष्ट्रपति बनेको केही समयपछि उनीमाथि आन्दोलनको कार्यभारलाई बेवास्ता गरेको आरोप लाग्यो। उनीमाथि राजपक्ष परिवारको सुरक्षा कवच बनेको र उनीहरूलाई अभियोग लाग्नबाट जोगाएको र उनीहरूलाई पुनः एकत्रित हुने अनुमति दिएको आरोप पनि लागेको थियो। आफूमाथि लागेका आरोपलाई उनले अस्वीकार गर्दै आएका छन्।

राष्ट्रपति निर्वाचनमा दाबेदार वामपन्थी राजनीतिज्ञ अनुरा कुमारा दिशानायकलाई पनि बलियो उम्मेदवार मानिएको छ। उनको भ्रष्टाचार विरोधी अभियानले उनलाई जनसमर्थन बढेको बताइन्छ।

यो पटकको निर्वाचनमा श्रीलङ्काको इतिहासमै सबैभन्दा धेरै उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्। राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिएका तीन दर्जन उम्मेदवारमध्ये चार जनाले धेरै चर्चा पाएका छन्।

विक्रमसिङ्घ र दिशानायकबाहेक विपक्षी नेता सजिथ प्रेमदासा र अपदस्थ राष्ट्रपतिका ३८ वर्षीय भतिज नमल राजपक्ष पनि चर्चामा छन्।

स्थानीय समयअनुसार ४ बजेसम्म मतदानको समय तोकिएको छ। त्यसलगत्तै सुरु हुने मतगणनाको प्रारम्भिक परिणाम आइतबार बिहान मात्रै आउने ठानिएको छ।

- बिबिसी

प्रकाशित मिति: : 2024-09-21 15:00:00

प्रतिकृया दिनुहोस्