संवैधानिक परिषद्को बैठक बोलाइयो, प्रधानन्यायाधीशबारे छलफल हुने

संवैधानिक परिषद्को बैठक बोलाइएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरी परिषद्को बैठक बोलाएका हुन्।

बैठकको एक मात्र एजेण्डा नयाँ प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्ने रहेको छ।

परिषद्का सदस्यहरूलाई पठाइएको पत्रमा प्रधानन्यायाधीश सिफारिसको एउटामात्रै एजेण्डा उल्लेख गरिएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउने हुनाले नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्ने तयारी गरिएको हो। नयाँ प्रधानन्यायाधीश सिफारिस भएपछि संसदीय सुनुवाइपछि नियुक्ति हुने प्रावधान छ।

नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्मा पठाइसकेको छ।

जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन्। सिफारिस मध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उनकै नाम सिफारिस हुने सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2024-09-11 13:11:00

प्रतिकृया दिनुहोस्