इरानमाथि आक्रमण गर्ने कि नगर्ने? अलमलमा छन् ट्रम्प

इजरायल-इरान युद्धमा अमेरिका प्रत्यक्ष सहभागी हुने वा नहुने भन्नेबारेमा आगामी दुई साताभित्र निर्णय लिने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता ट्रम्प यस्तै अलमलमा रुमलिइरहेका छन्। 

सुरुवातमै उनले इरानलाई कडा चेतावनी दिएका थिए। केही दिनअघि उनले इरानलाई ‘विना शर्त आत्मसमर्पण’ गर्न भनेपछि इरानका सर्वोच्च नेताले पनि कडा धम्कीपूर्ण जवाफ फर्काएका थिए। उनले इरानमाथि आक्रमणको प्रयास गरे वा इजरायललाई त्यसका लागि कुनै पनि सहयोग गरेमा इरानले खाडीमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्नेसम्मका चेतावनी दिएका छन्। 

यद्यपि इजरायललाई अमेरिकाले अप्रत्यक्षरुपमा इरानमाथि आक्रमणमा सघाइ पनि रहेको छ। त्यसमा अमेरिकी स्वार्थ पनि मिलेको छ। जहाँ इजरायलय र अमेरिका दुबै इरानका आणविक परियोजनाहरू ध्वस्त पार्न चाहन्छन्। 
सुरुदेखि नै इजरायलले इरानका आणविक भट्टी तथा प्रशोधन केन्द्रहरूमा आक्रमण गर्दै आएको छ। त्यत्तिकै जवाफ इरानले पनि इजरायललाई दिँदै आएको छ। 

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा रहेको भूमिक आणविक प्रशोधन केन्द्रहरू ध्वस्त पार्नका लागि अमेरिकामात्रै रहेको एउटा शक्तिशाली बम हान्नेबारे आफ्ना सुरक्षा रणनीतिकारहरूसँग सल्लाह गरेका थिए। तर त्यहाँ मत विभाजित भएपछि अहिले नै इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्नेबारे ह्वाइट हाउसले निर्णय लिन सकेको छैन। 

‘निकट भविष्यमै इरान कुटनीतिक वार्तामा आउनेछ भन्ने हामीलाई पूरा विश्वास छ। तर आगामी दुई साताभित्र ऊ वर्तामा आए पनि वा नआए पनि अमेरिका एउटा निर्णयमा पुग्नेछ’ ह्वाइट हाउसकी एकजना प्रेस सचिव क्यारोलीन लेभीटले भनेकी छिन्। 

यो भनेको इरानका आगामी रणनीतिमा ट्रम्पले पर्ख र हेरको नीति लिएका छन्। खासगरी उनले इरानमा रहेका अमेरिकी नागरिकमाथि कुनै क्षति भएमा तत्कालै आक्रमण गर्ने चेतावनी पनि दिएका थिए। अहिले इरानमा लगभग २ सयभन्दा अमेरिकी नागरिक छन्। यद्यपि अहिलेसम्म अमेरिकी नागरिकमाथि कुनै क्षतिका समाचारहरू आइसकेका छैनन्। 
 

प्रकाशित मिति: : 2025-06-20 09:56:00

प्रतिकृया दिनुहोस्