भारतको मणिपुरमा गृहयुद्ध चलिरहेको छ। एउटा लडाइँ मणिपुरको माटोमा र अर्को भारतीय मिडियामा। जालझेल र षड्यन्त्रको श्रृङ्खला दुवैतिर गहिरो छ–मणिपुर र टेलिभिजनको पर्दामा।
बम मणिपुरको उपत्यकामा खस्छ तर यसको धुवाँ पहाड हुँदै टेलिभिजन स्टुडियोसम्म आइपुग्छ। मणिपुरमा जे भइरहेको छ,त्यो अत्यन्त पीडादायी र खतरनाक छ। अनि भारतीय मिडियामा जे चलिरहेको छ,त्यो झनै हानिकारक छ।
मिडियाको प्रभाव दूरदराजसम्मै फैलिन्छ। बम आक्रमणले थोरै मानिसको ज्यान लिनसक्छ, तर गलत मिडिया रिपोर्टिङले लाखौंको मन र हृदयलाई असर गरिरहेको छ। त्यसैले युद्धजस्तो अवस्थामा सञ्चारमाध्यमले निष्पक्ष र तटस्थ रहनु आवश्यकता मात्र होइन, अनिवार्य पनि हुन्छ। दुर्भाग्यवश, अहिले भारतीय मिडियाको शैली ठीक उल्टो छ।
म्यान्मारको सिमानामा अवस्थित भारतको अति संवेदनशील राज्य मणिपुरको अवस्था डेढ वर्षदेखि गम्भीर छ। तर बम,बन्दुक र गोलाबारीबाट त्रसित,व्याकुल, भयभित र आक्रोशित जमातले मणिपुरमा गरेको पछिल्लो ड्रोन आक्रमणलाई लिएर नयाँ र गम्भीर विवाद खडा भएको छ।
पश्चिम इम्फालको कौत्रुक र सेन्जाम चिराङमा ड्रोन बम हानियो। जसमा एक महिलासहित दुई जनाको मृत्यु भयो र तीन जना घाइते भए। घटनापछि उपत्यकामा बसोबास गर्ने मैतेइ समुदायले पहाडी क्षेत्रमा बसोबास गर्ने कुकी जातिलाई जिम्मेवार ठहर गर्यो।
अर्कोतर्फ, रिपब्लिक टिभीका मुख्य सम्पादक अर्नब गोस्वामी,जसको नाम नेपालीहरूलाई पनि राम्रोसँग थाहा छ। ती पात्रले मणिपुर आक्रमणको पछाडि विदेशी शक्तिहरू,विशेष गरी चीन र अमेरिकालाई दोष दिएका छन्।
भारतीय मिडियाको असंगति र पूर्वाग्रहको प्रतीक अर्नब गोस्वामीले आफ्नो शोमा मणिपुर हिंसाको तथ्यपरक रिपोर्टिङको कहिल्यै गरेनन्। हुन त,अर्नबजस्ता दर्जनौँ पत्रकारलाई भारतमा गोदी पत्रकार भनेर पनि चिनिन्छ। जसले राज्यसत्ता र प्रधानमन्त्री मोदीको मात्रै गीत गाउँछन्।
मणिपुरमा जारी द्वन्द्वलाई लिएर मिडियाको एक भागको व्यवहार अत्यन्त चिन्ताजनक छ। आदिवासी जनजाति नेता फोरमका नेता तथा कुकी विद्यार्थी संगठननिकट एकजना सदस्यले अर्नब गोस्वामीका आरोपहरूलाई निराधार र काल्पनिक भन्दै अस्वीकार गरेका छन्। उनले यसलाई पूर्णतया जातीय द्वन्द्व भन्दै म्यान्मार, अमेरिका वा चीनको कुनै भूमिका नभएको बताएका छन्। कुकी र मेइतेई जातीय द्वन्द्वलाई विदेशी हस्तक्षेपसँग जोड्दा स्थिति थप जटिल हुने भारतीय खोज पत्रकारहरूकाे दाबी छ।