दुबईमा अवैध रूपमा बसेका नेपाली कामदारलाई आममाफी (भिडियाे)

Photo - BBC
Photo - BBC

संयुक्त अरब इमिरेट्स (यूएई)ले अवैध रूपमा बसोबास गरिरहेका नेपालीसहित आप्रवासी कामदारलाई आममाफी कार्यक्रम ल्याएको छ।

बिना कागजात (गैरकानूनी) रुपमा यूएईमा बसोबास गरिरहेका विदेशी नागरिकहरुको लागि भिसा आममाफी (एम्नेस्टी) कार्यक्रम ल्याएको हो।

यो अवसर गत १ सेप्टेम्बरदेखि लागू भएको हाे।

यूएई सरकारले यहाँ भिजिट वा रेसिडेन्स भिसा ओभरस्टे भएका वा अन्य कुनै कारणले गैरकानुनी तबरले बसोबास गरिरहेका आप्रवासीहरूलाई कानुनी दायारामा ल्याउन ६० दिनको अवधि तोकेर आममाफी घोषणा गरेको हो।

विभिन्न कारणले यूएईमा अलपत्र परेका नेपालीहरुले यस आममाफीबाट लाभ लिन सक्नेछन्। तर, फौजदारी मुद्दा लागेका वा भिसासँग सम्बन्धितबाहेक अन्य कुनै पनि मुद्दा लागेकाहरुले भने आममाफी पाउनको लागि उक्त केसबाट छुट्कारा पाउनु पर्नेछ।

सबै प्रकारका भिसाहरू रेसिडेन्स (कामदार, ब्यवसाय, विद्यार्थी व अन्य) वा भिजिट भिसामा बसेका व्यक्तिहरूले आफ्नो भिसा अवधि समाप्त भएर पनि यूएईमै बसिरहेकाहरुले यो आममाफीको फाइदा लिन सक्नेछन्।

यो आममाफी ३१ अक्टोबरसम्म चल्नेछ।

आवुधावीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै गैरकानुनी तवरले बसोबास गरिरहेका नेपालीहरूलाई उक्त सुबिधा लिन अनुरोध गरेको छ।

आममाफीको अवधिपश्चात पनि अटेर गरेर गैरकानुनी ढंगले बसेमा सजायको भागिदार हुनुपर्ने दूतावासले चेतावानीसमेत दिएको छ।

यस सम्बन्धमा नेपाली दूतावासले सोमबार नेपाली समुदायका प्रतिनिधिहरुसमेत छलफल गरेको थियो।

छलफलमा एनआरएनए यूएईका अध्यक्षसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित थिए।

दूतावासले यो आममाफीको खबरलाई धेरैभन्दा धेरै नेपालीहरूबीच प्रचारपसार गरी धेरैलाई लाभ दिलाउन सहयोगको लागि अनुरोध गरेको थियो।

छलफलमा राजदूत तेज बहादुर क्षेत्री, श्रम काउन्सिलर दिनबन्धु सुबेदी, एनआरएनए यूएईका अध्यक्ष विकास शाही, विभिन्न राजनितिक दलका प्रतिनिधिहरू सहभागी थिए।

आममाफी कार्यक्रममा सहभागी भएर नेपाल जानेहरू कुनै पनि बेला यूएईमा फर्किन सक्नेछन् अर्थात उनीहरूलाई कुनै किसिमको प्रतिबन्ध लगाइने छैन।

नेपाल फर्कन चाहनेहरुले ट्राभल अनुमति पाएको १४ दिनभित्र यूएई छोडिसक्नु पर्नेछ। यूएईमै काम खोजेर बस्न चाहनेहरुले कुनै कम्पनीको अफर लेटर लगेर नयाँ भिसा लगाउन सक्नेछन्।

यूएईमा रेसिडेन्स र टुरिस्ट भिसामा झण्डै ६ लाख नेपालीहरु रहेको अनुमान छ। यूएईमा कति नेपाली गैरकानुनी बसोबास गरिरहेका होलान भन्ने यकिन तथ्यांक नेपाली दूतावाससँग छैन।

प्रकाशित मिति: : 2024-09-05 15:46:00

प्रतिकृया दिनुहोस्