सत्ता साझेदारी ‘अनकम्फर्टेबल’ हुँदै गइरहेको विषयले फेरि एकपटक तुल पकड्दैछ।
तपाईंका कठिन समयहरू प्रायः तपाईंको जीवनका महान क्षणहरूमा परिणत हुन्छन्। अघि बढिरहनुहोस्। कठिन परिस्थितिहरूले अन्ततः बलियो मानिसहरू निर्माण गर्छ।
‘द लाइट इन द हर्ट’ पुस्तकका लेखक रोय टी. बेनेट (Roy T. Bennett )का शब्द सापटी हुन् यी हरफहरु। के यो सन्दर्भ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामा लागू हँदैछ त? वा तेस्रो राजनीतिक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा?
यतिबेला नेपालको राजनीतिका चर्चित अनुहारहरु ‘अनकम्फर्टेबल’ महशुस गरिरहेका छन्। चाहे ती जुनसुकै दल वा संगठनसँग आवद्ध भएका हुन्।
विषय प्रवेशअघि कम्फर्ट जोनको संक्षिप्त चर्चा गरौँ।
‘कम्फर्ट जोन’ भनेको एउटा यस्तो मानसिक अवस्था हो, जहाँ मानिस परिचित, सहज र सुरक्षित महसुस गर्छ। जबसम्म कुनै व्यक्ति आफ्नो आरामदायी क्षेत्रबाट बाहिर निस्कँदैन, तबसम्म जीवन कहिल्यै परिवर्तन हुँदैन। परिवर्तन मानिसको आरामदायी क्षेत्रको अन्त्यमा सुरु हुन्छ।
सबैभन्दा मूल विषय सत्ता साझेदार राजनीतिक दलहरुबीच छोटो अवधिमै ‘अनकम्फर्टेबल फिल’ हुनु देशका लागि नै हानिकारक हुन जान्छ।
अहिलेको सरकार मूलत: नेपाली काँग्रेसका सभापति शेरबहदुर देउवाको स्टेप फरवार्डबाट बनेको थियो। त्यसमाथि प्रधानमन्त्री बन्न दोस्रो ठुलो दलका अध्यक्ष केपी शर्मा ओली अघि बढेका हुन्।
यी दुई नेताहरुका बीच के साँच्चिकै अनकम्फर्टेबल अवस्था आइसकेको हो त? यो प्रश्नको जवाफका लागि देउवा र ओलीलाई कसैले प्रश्न गरेका छैनन्। तर ती दुई नेताको दलभित्र भने छलफल भएको भन्ने विषय चर्चामा छन्। खासगरी काँग्रेसभित्र।
काँग्रेस सभापति देउवा यतिबेला उनको जीवनकै उत्कृष्ट निर्णय लिएर अघि बढ्ने लगभग (अन्तिम) प्रयासमा रहेको बुझिन्छ। तर प्रधानमन्त्री ओली आफ्नो कार्य शैलीमा उति भिन्न देखिँदैनन्।
पछिल्लो पटक बनेको सरकारको धरातल भू-राजनीतिक शक्तिलाई केही हदसम्म छलेर तयार भएको मान्न सकिन्थ्यो। भू-राजनीतिका बाछिटा पूरै नपरेकाे त भन्न सकिन्न।
पुराना राजनीति दलहरुप्रतिको आम धारणा नकारात्मक रुपमा बढ्दै गइरहेको परिवेशमा त्यही पुराना दलका नेताहरुबाट सत्ता अघि बढिरहेकै छ। अर्को आम निर्वाचन नहुँदासम्म यो सिलसिला जारी नै रहनेछ। त्यसको एउटा उदाहरण टुँडिखेलमा देउवा र ओलीमाथि गरिएको व्यवहार हो।
हुन त ती घटना क्रममा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा खास स्वतन्त्र समर्थक युवाहरुको सहभागिता थियो भन्ने आरोप पनि छ। तर बेरोजगार युवाहरुको आक्रोश भन्ने कोणबाट समेत चर्चा भएको छ।
सत्ता साझेदार दलहरुबीच आपसी समझदारीमा तलमाथि हुन थालेको चर्चा राजनीतिक वृत्तमा फैलिएको छ। यदि त्यसै हो भने ठुला दलहरुबीच भएको सत्ता समीकरणले पनि स्थायित्व नपाउने वातावरण बन्दै गइरहेको हो त भन्ने गम्भीर प्रश्न खडा हुन्छ।
राजनीतिक घटनाक्रमको विकास जतिबेला जुनसुकै स्तरको घट्न वा विकसित हुनसक्ने सम्भावना रहन्छ।
भर्खरै परराष्ट्रमन्त्री डा. आर्जु राणा देउवाले गरेको भारत भ्रमणपछि सत्तारुढ एमाले सन्तुष्ट देखिँदैन। त्यसमाथि दिल्लीको शेराटन होटलमा माओवादी अध्यक्ष दाहाल पुत्रीद्वय गंगा र रेनुको डा.राणा देउवासँगको (अपुष्ट)भेटले चर्चा पायो।
प्रधानमन्त्री ओलीले पनि सार्वजनिक रुपमा अब महिला प्रधानमन्त्री बनाउने भनेर बोलेपछि तरङ्ग थपिएको छ। आखिर त्यस्तो के अवस्था आइपर्यो, ताकि आफू प्रधानमन्त्रीको कुर्सीमा रहँदा ओलीले त्यसो बोल्नुपर्यो त! के त्यो डा.राणा देउवाप्रति संकेत थियो वा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लक्षित थियो। भणडारी प्रतिनिधिसभा सदस्य छैनन्। यी कोणबाट सतही चर्चा बढ्यो।
यसबीच माओवादी अध्यक्ष प्रचण्डले संसदमा राखेका कुराहरुले पनि कतिपय विषयलाई इंगित गर्दछ। माओवादीले आफ्नै नेतृत्वमा सरकार नचाहे पनि ओली नेतृत्व सरकारको आयुमा विराम लगाउने रणनीति बनेको भन्न सकिन्छ।
यता, काँग्रेस सभापति देउवा पार्टीको आन्तरिक दस्तावेजीकरणको फसेको पेच सके क्लकवाईज, नभए एन्टी क्लकवाइज फुकाउन खोजिरहेका छन्।
काँग्रेसभित्र केही नेताहरु वर्तमान सरकार गठनप्रति असन्तुष्ट नै छन्। अनि अर्को एउटा तहका नेताहरु सभापति देउवामाथि पार्टी सञ्चालनका नाममा दबाब कायम राखिरहन चान्छन्। अर्कातर्फ सभापति देउवा स्वयं यो सरकारलाई निरन्तरता दिने मुडमा छन्। सरकार सञ्चालनमा आउने कतिपय असमझदारीलाई देउवाले इग्नोर गरिरहेका छन्।
सत्ता साझेदार मुख्य घटक एमाले र काँग्रेसबीच के साँच्चिकै अनकम्फर्टेबलको माहोल बढ्दै गएको होला त?
सम्बन्धित दलरुबाट यसको सार्वजनिक प्रतिक्रिया आएका छैनन्। तर कतिपय अनौपचारिक सन्दर्भमा प्रधानमन्त्री ओलीको रेस्पोन्स काँग्रेसलाई कम्फर्टेबल नभएको चर्चा छ। तर समीकरण फेरबदलकै तहमा समस्या आइनपरेको काँग्रेसको बुझाई देखिन्छ।
एमालेका अध्यक्ष ओलीसँगको डा.आर्जु राणा देउवाको सत्तारोहणलाई काँग्रेसभित्र सहज स्विकारोक्ती भने छैन। सभापति देउवा सत्ता सहकार्यलाई असहज महशुस नगर्दासम्म समीकरण फेरबदल उति सम्भव देखिँदैन। देउवा अब के श्रीमतीलाई अघि बढाएर आफू राजनीतिबाट सुखद बहिर्गमन चाहि रहेकाछन्? भन्ने विषय चासोका साथ हेरिएको छ।
लामो समय काँग्रेस हाँकेका स्व.गिरिजाप्रसाद कोइरालाले छोरी सुजाता कोइरालालाई राजनीतिमा स्थापित गराउन क्याविनेट पुर्याएका थिए। तर त्यो आंशिक रुपमा मात्रै सफल भयो। अहिले सभापति देउवा पनि उस्तै परिवेशमा पुगेका छन्। तर देउवा राजनीतिमा जोखिम मोल्न सक्ने नेताका रुपमा चित्रित छन्। त्यसको असर आगामी दिनहरुमा खुल्दै जानेछन्।
यसैबीच सत्ता समीकरणका नयाँ द्वारहरु खुल्न सक्ने सम्भावनालाई माओवादी अध्यक्ष प्रचण्ड माइक्रो म्यानेजमेन्टमा अघि बढेका संकेतहरु आइरहेका छन्। त्यसको मोर्चा उनको हेडक्वाटर अर्थात् छोरीहरु गंगा र रेणुले सम्हालेका छन्।
प्रधानमन्त्री भएपछि ओलीले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्न सकेका छैनन्। बरु परराष्ट्रमन्त्री डा.राणाले त्यसको माइलेज पाइरहेको अवस्था छ।
भारत र चीन दुई छिमेकी ओलीको भूमिकालाई लिएर पर्ख र हेरको नीतिबाट मूल्यांकन गरिरहेको कूटनीतिक वृत्तको आँकलन छ।
समग्रमा सरकार गठन भएको छोटो अवधिमा नै सरकारको आयुलाई लिएर अड्कलबाजी सुरु भइसकेका छन्। सरकारका साझेदार दलहरुबीचमा अनकम्फर्टेबल अवस्था पैदा भएको छ कि छैन भन्ने विषय कहीँ न कहीँ चर्चामा आइसकेको छ। जो कि स्थायित्व, सेवा प्रवाह र देशका लागि सकारात्मक संकेत होइनन्।