नेपाल प्रहरीको गिर्दो साख र मनोबल कसरी बचाउने?

Break n Links
Break n Links

राष्ट्र र नागरिकको जिउधनको सुरक्षार्थ हरनिमेष खटिइरहने नेपाल प्रहरी एक ऐतिहासिक र सम्मानित संगठन हो। यसमा प्रहरीहरू आउँछन्। जान्छन्। तर यो संस्था भनेको राज्यको प्रमुख सुरक्षा संयन्त्र भएकाले यसको साख बचाइराख्नु अति जरुरी छ। कुनै पनि हालतमा यसको मनोबल गिर्नु हुँदैन। प्रहरीको मनोबल गिर्दा अपराधीको मनोबल बढ्ने हुँदा यसको 'उर्जा' बचाइराख्नु अपरिहार्य छ।

तर बिडम्बना त के छ भने २०४७ साल यता नेपाल प्रहरीको मनोबल बारबार गिराउने प्रयत्नहरू भइरहेका छन्।

जनताले कहिल्यै पनि प्रहरीको मनोबल गिर्न दिनुहुँदैन। अपराधी समात्न मात्रै नभएर संगठन भित्र भ्रष्टाचारको दलदलमा भासिएका प्रहरीहरुलाई नै सर्वप्रथम कार्वाहीको दायरामा ल्याउन पनि प्रहरीलाई प्रसस्तै मनोबल चाहिन्छ। जनतालाई सुरक्षाको प्रत्याभूति दिन पनि प्रहरीलाई अथाह मनोबल चाहिन्छ।

रातदिन जनतासँग सेतु बाँधेर काम गर्नुपर्ने हुँदा प्रहरीलाई पाइला-पाइलामा जनताको साथ र सहयोग चाहिन्छ। यसको लागि प्रहरीले नै आफ्नो ढोका सदा खुल्ला राख्नु पर्दछ। जनतासँगको प्रत्येक 'डिल' र व्यवहारमा प्रहरी एकदमै अनुशासित, सचेत र सतर्क रहनु पर्दछ। मुलुकमा शान्ति र अमनचयन कायम गर्दै कानुन र संविधानको सम्मान र रक्षा गर्नु प्रहरीको प्रमुख कर्तव्य हुने हुँदा सर्वप्रथम प्रहरीले नै शान्त र संयमित हुनु जरुरी छ।

आवश्यक्ता पर्दा प्रहरीले हतियार पनि चलाउन पाउने हुँदा निहत्था जनतासँग जहिल्यै पनि प्रहरीले शान्त र संयमित भावमा पेश आउनु पर्ने हुन्छ। स्थितिलाई नियन्त्रणबाट बिमुख गराएर अन्धाधुन्ध गोली चलाउन पनि प्रहरीले मिल्दैन। प्रहरीले हमेशा हिंशा, उत्तेजना र भड्काउ माहौललाई बढाउने नभएर घटाउने तर्फ नै लाग्नु वान्छनिय हुन आउँछ। मान्छे कुटेर वा गोली हानेर प्रहरीले आफूलाई 'ग्लोरिफाइ' गर्न वा 'मजा' लिन पाउँदैन। मिल्दैन। त्यो केवल उसको 'काम' हुनुपर्छ र बाध्यात्मक परिस्थितिमा मात्रै उसले यी र यस्ता हतकण्डा अपनाउनु पर्दछ।

हतियार बोकेर दादागिरी, गुण्डागर्दी वा अपराध गर्छ भने, त्यो प्रहरी होइन, अपराधी वा आतंककारी हो। त्यसैले हतियार बोक्न पाएका प्रहरीको बोलीचाली र व्यवहार गुण्डा वा अपराधी जस्तो हुनु हुंदैन। हतियार बोकेको व्यक्ति यदि अपराधी होइन भने, ऊ अति सभ्य र सौम्य हुनु पर्दछ। नत्र प्रहरी र अपराधीमा खोइ त अन्तर?

यो निकै दु:खको कुरा हो कि नेपालमा अझैसम्म पनि प्रहरी पूर्णरुपले व्यवसायिक हुन सकेको छैन। यसका आफ्नै प्राविधिक पक्ष र कारण छन्। तर प्रमुख कारण चाहिँ मुलुकमा २०४७ सालपछि विद्यमान कथित 'बहुदल' नै हो। राजनीतिक दलका नेताहरुले प्रहरी संगठनलाई अत्याधिक दुरुपयोग गरेको देखिन्छ। नेपाल प्रहरी अनेक विवाद र प्रलोभनमा समेत बारबार पर्ने गरेको छ। त्यति ठूलो साख बोकेको यो संगठनको हुर्मत काढ्ने काम राजनीतिक नेताहरुबाट हुनु निकै दु:खद छ।

नेताहरुको घटिया हर्कतले नेपाल प्रहरीको व्यवसायिकता र 'चेन अफ कमाण्ड'मा समेत ठूलो बाधा उत्पन्न भएको प्रष्ट देख्न सकिन्छ। यस बिन्दुमा जोड दिएर भन्नुपर्दा प्रहरीले तत्काल आफ्ना गल्ती सच्याएर, कुनै राजनीतिक दलविशेष वा नेता भनाउँदा भ्रष्ट र बदनाम मान्छेका पछि नलागी सरासर काम, कर्तव्य एवं अधिकारमा ध्यान दिने तथा आफ्नो दायरामा बसेर देश र जनताको सेवा गर्ने। किनभने, सोही कामका लागि नेपाली जनताले उनीहरुलाई करमार्फत तलब र सेवासुविधा दिएका हुन्। संविधान अनुसार यसै पनि अहिले राज्यको 'चेन अफ कमाण्ड'मा जनता नै सर्वोपरी हुन्। मुलुककको सारा संप्रभुता जनतामा नीहित छ। जनतासँग ठिकसँग संवाद र व्यवहार गर्न नसक्दा सबैभन्दा ठूलो घाटा चाहिँ फेरि उही प्रहरी संगठनलाई नै हुने हुँदा उसले तत्काल आफ्ना 'लुपहोल्स' टाल्नुपर्ने देखिन्छ। नत्र सरकार गिराउन सक्ने जनताले प्रहरीलाई किन र के कारणले बाँकी राख्लान् यदि उसले अन्याय, अपराध र कुशासनलाई साथ दिन्छ भने?

सारतत्व के हो भने, कुनै पनि हालतमा प्रहरीको मनोबल गिर्नुहुँदैन। साथै प्रहरीले पनि आफ्नो काम, कर्तव्य एवं अधिकारलाई ठिकसँग निब्ट्याउनु जरुरी हुन्छ। नेपाल प्रहरीले अझै धेरै चुस्तदुरुस्त हुनु टड्कारो भइसकेको छ। उसले अझै धेरै 'बडील्यांग्वेज' सिक्नुपर्ने देखिन्छ।

जमाना बदलिएको छ। नेपाल प्रहरी भन्दा कुनै आतंककारी वा अपराधी वा डाकू बलियो भएको कसरी हेर्न वा भोग्न सक्लान् त जनताले?

कल्पना गर्नुहोस्  नेपाल-भारत खुल्ला सीमानाका कारण नेपालमा खुंखार अपराधी र आतंककारीहरुको बर्चस्व अझै बढ्दै गएर नेपाल प्रहरी चाहिँ कमजोर र विखण्डित भइरह्यो भने यहाँ कस्तो आपत् आइलाग्ला?

२/४ जना प्रहरीहरु भ्रष्ट भए भन्दैमा सारा संगठनलाई दोष दिन कदापि नमिल्ला। तर प्रहरीभित्र अलिक फरक पारा हुन्छ। त्यहाँ 'एउटा बिराउने, सारा पिराउने' भन्ने सिद्धान्त लागू हुन्छ। एउटा प्रहरी बेपत्ता भयो वा उसले कुनै गल्ती गर्यो भने, सारा 'बटालियन' जिम्मेवार ठहरिन्छ। मानिलिउँ एक हजार प्रहरी बस्ने ब्यारेकमा एउटा जवानले गल्ती गर्दा उसले मात्रै सजाय पाउँदैन, बाँकी ९९९ पनि सजायको भागिदार हुन्छन्।

'मने, तँहरु ९९९ जना त्यहाँ हुँदाहुँदै त्यो जाबो एउटाले किन र कसरी गल्ती गर्यो? के गर्दै थिइस् तँहरु? मोबाइल? तास? वा अर्थोकै केही?'

यो नै ब्यारेकको भाषा हो। तर यहाँ त तालिम सकिइसक्दा हाम्रा प्रहरीहरुले ब्यारेक नै बिर्सिसक्छन्। बर्दीभित्र ठूलो भुँडी हुलेको प्रहरीलाई के भन्नुहुन्छ? के ऊ आफ्नो काम ठिकसँग गरिरहेको छ त? के ऊ चुस्त-दुरुस्त छ? दंगा वा युद्ध हुँदा ऊ के काम गर्छ?  कि ऊ अल्छी वा भ्रष्टाचारी भइसक्यो?

ड्युटीमा रहेको प्रहरीको ठूलो भुँडी देख्दा तपाईंलाई हाँसो उठ्छ कि के हुन्छ? नेपाली जनतालाई मेरो प्रश्न !

सुन्दा सामान्य जस्तो लाग्ने 'भुँडी र बोसो'को कुरा निकै जरुरी छ, नेपालमा। ग्यास्ट्रिक बढेर हैरान छ, यता प्रायःलाई। बजारमा छ्यापछ्याप्ती म्याद गुज्रेका वा नक्कली सामानहरु पाइन्छन्। त्यस्तो खाएपछि ग्यास्ट्रीक, अल्सर वा क्यान्सर नै पनि हुने भयो।

तसर्थ नेपाल प्रहरीले आफ्नो अनावश्यक बोसो र सुन्निएको ठूलो भुँडी तत्काल घटाउनु पर्ने हुन्छ जो २०४७ सालपछि उनीहरुको शरीरमा पत्रपत्र भएर जम्मा हुन पुगेको हो। अनि मात्रै नेपाल प्रहरीको मनोबल ह्वात्तै बढ्न सक्छ। अतिशय ठूलो भुँडीले पनि प्रहरीको मनोबल गिराउन सक्छ। किनभने, ठूलो भुँडी र ज्यादा बोसो प्रहरीलाई कहिल्यै पनि सुहाउँदैन। सुहाउँछ त?

तथापि। यति हुँदाहुँदै फेरि अर्कातिर जोड दिएरै भन्नुपर्ने हुन्छ, नेपाल प्रहरीको मनोबल गिर्नु चाहिँ कुनै पनि हालतमा स्वीकार्य छैन। किनकि, प्रहरीको मनोबलले देशको शान्ति, सुरक्षा र कानूनको कार्यान्वयनमा प्रत्यक्ष प्रभाव पार्छ। प्रहरीको उच्च मनोबलले मात्र संगठनलाई व्यावसायिक, अनुशासित र जनताको विश्वास जित्न सक्षम बनाउँछ। नेपाल प्रहरीले आफ्नो कर्तव्य, अधिकार र दायित्वलाई सही तरिकाले पालन गर्नु पर्दछ, जसले संगठनलाई सदा बलियो र प्रभावकारी राख्न मद्दत पुगोस्। प्रहरी संगठनको शारीरिक तथा मानसिक फिटनेस, व्यावसायिकता र नैतिकता सधैं उच्च रहनुपर्छ, ताकि प्रहरीहरुले चुनौतीपूर्ण परिस्थितिहरूमा पनि सधैं सक्षम र विश्वसनीय बनेर काम गर्न सकून्।

विश्व परिवेशमा एक्काइसौं सताब्दीको प्रहरी बारे केही महत्त्वपूर्ण प्रसंग यहाँ निचोड स्वरुप प्रस्तुत गरिएको छ।

एक्काइसौं सताब्दीमा प्रहरीको भूमिका र जिम्मेवारीहरु थप जटिल र व्यापक भएका छन्। अन्तरास्ट्रिय आतंकवादले विश्वभरि दह्रो गरी जरो गाडिसकेको छ। यो युगमा प्रहरी संगठनलाई अत्याधुनिक प्रविधि, मानव अधिकारको संरक्षण र समुदायसँगको घनिष्ट सम्बन्धमा आधारित हुनु अत्यावश्यक छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार, प्रहरीको काम केवल अपराध नियन्त्रणमा मात्र सीमित हुनु हुँदैन। बरु यसले समाजमा शान्ति, न्याय र सुरक्षाको स्थायित्व कायम राख्न पनि योगदान पुर्‍याउन सक्नुपर्छ।

अब अमेरिका, रुस र जापानजस्ता विकसित मुलुकको प्रहरी कस्तो छ, छोटकरीमा त्यो हेरौं।

- अमेरिकामा प्रहरी संगठन अत्याधुनिक प्रविधि र अनुसन्धानमा आधारित छ। प्रहरीको भूमिकामा विविधता, समावेशिता र समुदायसँगको सहकार्य प्रमुख छन्। अमेरिकाको प्रहरीले 'कम्युनिटी पोलिसिङ' लाई प्राथमिकता दिन्छ, जसले अपराध रोकथाममा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्छ। 'फर्गुसन' घटना र अन्य सामाजिक अशान्तिहरूले अमेरिकी प्रहरी संस्थामा सुधारको आवश्यकतालाई उजागर गरेको छ र यसका लागि व्यापक सुधारका प्रयासहरू पनि भइरहेका छन्। मानव अधिकारको मामिलामा अमेरिकी प्रहरी अत्याधिक आलोचित छ। केही वर्षअघि एक गोरा अमेरिकी प्रहरीले सार्वजनिक स्थानमा एकजना अफ्रीकी मूलका युवकलाई घुँडाले घाँटी थिचेर मारेको घटनाले अमेरिकी मानवअधिकारवादको धज्जी उडाएको थियो।

- रुसको प्रहरी संगठनमा अनुशासन, कठोरतालाई प्राथमिकता दिइन्छ। यहाँको प्रहरी संगठनले राज्यको सुरक्षा र कानूनी कार्यान्वयनमा कडा अनुशासनको पालना गर्छ। यद्यपि, लोकतन्त्र र मानव अधिकारको सन्दर्भमा रुसको प्रहरीको आलोचना पनि हुने गर्छ। तर, आतंकवाद र संगठित अपराधविरुद्धको लडाईंमा रुसी प्रहरीको भूमिका प्रभावकारी मानिन्छ।

- जापानको प्रहरी विश्वकै एक उत्कृष्ट मानिन्छ। उनीहरु अत्यधिक अनुशासित, व्यावसायिक र समुदायप्रति संवेदनशील हुन्छन्। जापानको 'कोबान प्रणाली' (स्थानीय प्रहरी चौकी) ले प्रहरीलाई समुदायको नजिक राख्छ र अपराध रोकथाममा महत्वपूर्ण भूमिका खेल्दछ। जापानी प्रहरी आफ्नो समुदायसँगको गहिरो सम्बन्धमार्फत समाजमा शान्ति र स्थिरता कायम राख्न सफल भएको मानिन्छ।

एक्काइसौं सताब्दीको प्रहरीले केवल कानूनको पालना गर्ने-गराउने मात्रै होइन, समुदायको सुरक्षा र विश्वासको पनि प्रत्याभूति दिनुपर्छ। अमेरिका, रुस र जापानका उदाहरणहरूले देखाउँछ कि अनुशासन, प्रविधि र समुदायसँगको सहकार्यले प्रहरी संगठनलाई अझ प्रभावकारी र जनताप्रति उत्तरदायी बनाउँछ। नेपाल प्रहरीले पनि विश्वव्यापी मापदण्डहरू अपनाएर आफ्नो संगठनलाई चुस्त र सक्षम बनाउँदै जनताको विश्वास अझै जित्नु अपरिहार्य छ।

प्रकाशित मिति: : 2024-08-25 17:22:00

प्रतिकृया दिनुहोस्