को होला पाइलट बाबाको अर्बौं सम्पत्तिको ‘रखवाला’? (भिडियाे)

Break n Links
Break n Links

‘पाइलट बाबा’का नामबाट विश्वविख्यात भारतीय मूलका एकजना महायोगीको निधन भएको छ।

भारतको मुम्बईस्थित अस्पतालमा उपचाररत उनको ८५ वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि उनी मधुमेह रोगसँग लडिरहेका थिए।

सन् १९७४ मा मकवानपुर जिल्लाको त्रिखण्डीमा हरि गिरी महाराजबाट दीक्षित भएका उनको नेपालसँग पनि गहिरो नाता छ। मकवानपुर तथा भक्तपुरको घ्याम्पे डाँडामा समेत आश्रम बनाएका उनका धेरै नेपाली अनुयायी पनि छन्।

अघिल्लो वर्षमात्रै उनी मकवानपुरको आश्रमको काम पूरा गर्नका लागि नेपाल आएका थिए। त्यसअघि पनि उनी यहाँका आश्रममा आएर बस्ने गरेका थिए।

भारतमा करिब ३ करोडजति साधुसन्तहरू छन्। तीमध्ये केही योगी र सन्तहरूमात्रै विश्वव्यापीरुपमा चिनिएका छन्। तीमध्ये एक यी पाइलट बाबा पनि हुन्।

सन् १९३८ मा भारतको बिहार राज्यमा जन्मिएका उनको वास्तविक नाम कपिल सिंह हो। जैविक रसायनशास्त्रमा डिग्री हासिल गरेका उनी आफ्नो युवाकालमा भारतीय सेनामा थिए। भारतीय वायुसेनामा कार्यरत उनी एक कुशल विमान चालक पनि हुन्। लडाकु विमान उडाउने उनी पछि ‘पाइलट बाबा’ भनेर चिनिए।

सन् १९६२, १९६५ र १९७१ मा चीन तथा पाकिस्तानसँगको युद्धमा उनले निकै बहादुरीपूर्वक भाग लिएका थिए। युद्धका बेला लडाकु विमान उडाउने क्रममा कैयौँ कीर्तिमान राखेका उनको उदाहरण अहिले पनि भारतीय वायु सेनाका प्रशिक्षार्थीहरूलाई दिइन्छ।

युद्धका क्रममा एकदमै कम उचाईंमा लडाकु विमान उडाने वायु सेनाका विरलै पाइलटहरूमध्ये उनी एक थिए। त्यसवापत उनले भारतीय सरकारबाट वीर चक्र, विशिष्ट सेवा पदकलगायत थुप्रै सम्मान र पदवीहरू पनि पाएका थिए।

जीवनका करिब १५ वर्ष भारतीय वायु सेनामा सेवा गरेपछि उनले अवकाश लिएका थिए र बाँकी जीवन उनले ‘सन्त’ भएर बिताए। अवकाश लिने बेलामा उनले सेनाको ‘विङ कमाण्ड’को जिम्मेवारीमा थिए। त्योबेला उनी मात्रै ३३ वर्षका थिए।

‘विज्ञानभन्दा माथिबाट पनि कसैले सत्ता चलाइरहेको छ’ भन्ने मान्यता बोकेर उनी त्यो सत्यको खोजी गर्ने क्रममा नेपाल तथा भारतका धेरै हिमाली काखहरूमा बसेका छन्। त्यसक्रममा उनले हिमालयका काखमा कठीन तप र जपहरू गरे। कैयौ दिनरात उनले पानीमुनि बसेर आफूलाई तपस्यामा लीन बनाएका छन्।

अनुयायीहरू बढ्दै गएपछि भारत र नेपालमा आश्रमहरू बनाएका थिए। हरिद्वारमा उनको मुख्य आश्रम छ। त्यस्तै नैनीताल, सासाराम, उत्तरकाशी, गंगोत्री, ऋषिकेशलगायतका स्थानमा पनि उनका आश्रमहरू छन्। उनका आफ्नै यात्राका कथाहरू अनि कैयौँ आध्यात्मिक पुस्तकहरू प्रकाशित छन्।

सन् १९९८ मा महामण्डलेश्वर पद पाएका पायलट बाबालाई सन् २०१०मा जूना अखडाको पीठाधीश्वर बनाइएको थियो। साधु सन्तहरूका करिब दर्जन अखडाहरूमध्ये जूना अखडा भारतमा प्रभावशालीमध्येको एक हो।

अनुयायीहरूबाट प्राप्त दानद्रब्यबाट उनले आश्रमका नाममा अर्बौंको भौतिक सम्पत्ति पनि जोडेका छन्। ती सब सामाजिक र धार्मिक सेवामा प्रयोग भइरहेका छन्। दिवंगत पाइलट बाबाको समाधिस्थलसँगै अखडाको नयाँ उत्ताराधिकारी चयन हुनेछन्। उनको उत्तराधिकारी हुनका लागि दुई महिलासहित चार जना लाइनमा थिए। 

प्रकाशित मिति: : 2024-08-22 18:49:00

प्रतिकृया दिनुहोस्