गत वर्षको डिसेम्बरमा नेपाल आएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले सगरमाथाको फेंदीमा पुगेर विश्व नेताहरूलाई भनेका थिए ‘…यो पागलपन बन्द गरौं…।’
‘म अहिले यहाँ हिमालयमा छु। जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन्। हामीले बाढी-पहिरो देख्नुपरेको छ। यहाँको समुदाय नाटकीयरूपमा प्रभावित भइरहेको छ’ हिँउ सकिएर काला हुँदै गएका हिमाल हेर्दै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ मा पुगेर एउटा भिडियो जारी गरेर उनले विश्वका नेताहरूलाई सन्देश दिएका थिए- ‘हामीले बढ्दो तापक्रमलाई १.५ डिग्रीमा सीमित गर्नसक्नुपर्छ। यहाँका हाम्रा हिमतालहरू पछाडि फर्किरहेका छन् (हिँउ पग्लिएर पुरानै अवस्थामा) तर यसबाट हामी पछि हट्न सक्दैनौं।’
त्यो ठ्याक्कै दुबईमा हुँदै गरेको जलवायु विश्व सम्मेलनको २८ औं संस्करकाण पूर्वसन्ध्या थियो। र, विश्वभरिबाट जलवायु परिवर्तनसँग जुध्नका लागि रणनीति बनाउन जुट्न थालेका नेताहरूलाई सुनाउन उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए।
तस्बिर: हिमताल फुटेर आएको बाढीले बगाएको थामे गाउँ
त्यसको करिब आठ महिनापछि उनी उभिएर भिडियो खिचेको पल्लो छेउमा दुईवटा हिमताल फुटे। त्यो गाउँपालिकाको वडा नं ५ थामेको शीरमा रहेका हिमतालहरू फुटेर दूधकोशी हिलाम्मे भयो। दर्जन घर, पसल, विद्यालय अनि अस्पताल र जलविद्युत आयोजनाका कतिपय संरचनाहरू भताभुङ्ग बनायो। हिमतालको पानी मिसिएर उर्लिएको दूधकोशीमा एकजना बेपत्ता भए। धन्न अरु मानवीय क्षति भएन।
शुक्रबार दिउँसो बाढी आउँदा थाम वस्तीमा लगभग मानिसहरू थिएनन्। दिउँसोको समयमा सबैजना नजिकैको नाम्चे बजार गएका थिए। हरेक शुक्रबार त्यहाँ हाटबजार लाग्छ। धेरैजसो मानिसहरू घरखर्च लिन हाटबजार जान्छन्। वर्षाको समय भएका कारण यो पर्यटकका लागि ‘अफसिजन’ पनि हो। र त्यहाँ पर्यटकहरू पनि थिएनन्। नत्र थामे आफैमा पर्यटकीय क्षेत्र हो। सगरमाथाको आधारशिविर पुग्नेहरूको पाइला थामेमा नरोकिइ त सुखै हुन्न। त्यही सुन्दर थामे भने हिमताल फुटेर आएको बाढीले तहसनहस बनाएको छ।
महासचिव गुटेरेस उभिएको टाकुरादेखि लगभग ३ घण्टा पैदल यात्रापछि थामे पुगिन्छ। त्यसको शीरमा स–साना ५ वटा हिमतालहरू छन्। तीमध्ये दुई तालहरू ‘विष्फोट’ भएको अवलोकन गएको एउटा सरकारी टोलीले निष्कर्ष निकालेको छ। यद्यपि त्यसको विस्तृत अध्ययन भइसकेको छैन। तर सेनाको हेलिकोप्टरबाट त्यो क्षेत्रको अवलोकन गरेर फर्किएका राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलका अनुसार दूधकोशीमा मिसिएको लेदोसहितको त्यो पानी ती हिमतालकै पानी हो।
यी कस्ता ताल हुन्?
थामे समुद्र सतहदेखि लगभग ३ हजार ८ सय मिटरभन्दा माथिल्लो उचाईमा छ। यहाँका खोला-नदीका जलाधार क्षेत्रको मुख्य मुहानहरू भने अझ माथि लगभग ४ हजार मिटर माथि रहेका हिमतालहरू वा त्योभन्दा पनि अझ उचाईंमा रहेका हिमालय क्षेत्रहरू नै हुन्।
थामे बजार चिरेर बग्ने दूधकोशीमै मिसिन्छ थामेखोला। जसको मुहान मुख्य थामेबजारदेखि लगभग ९ किलोमिटर माथि टाकुरामा पर्छ। त्यो खोलामा बग्ने पानी जहाँबाट रसाएर आउँछ त्यहाँ पाँचवटा हिमतालहरू छन्।
तिनका नामाकरण त गरिएको छैन सँगै तिनको जोखिमबारे अहिलेसम्म पनि अध्ययन र अनुसन्धानहरू भएका छैनन्। यसबाट प्रस्ट हुन्छ ती ताललाई अहिलेसम्म खतराका रुपमा हेरिएकै थिएन। बाढीपछि त्यहाँ पुगेको सरकारी अध्ययन टोलीका अनुसार ती स–साना हिमतालहरू हुन्। प्रमुख कार्यकारी अवलोकन गरेर फर्किएपछि प्राधिकरणले जारी गरेको एउटा जानकारीअनुसार थामेको शीरमा रहेका पाँच मध्ये दुईवटा हिमतालहरू फुटेर त्यसको पानी लेदो र गेग्रानहरू लिएर खोलामा मिसिएको थियो।
सुरुमा एउटा ताल फुट्यो। त्यसको पानी बगेर अर्को तालमा पुग्यो अनि त्यो पनि फुट्यो। दुवै ताल फुट्दा पानीको बेग र आयतन बाढी बन्यो। त्यहाँ वरिपरि रहेका बाँकी तीनवटा तालहरू भने अहिले सामान्य अवस्थामा छन्। तर छेउमै रहेका दुई तालहरू फुटेपछि अरु पनि जोखिममा रहेको प्राधिकरणले निश्कर्ष निकालेको छ।
गत वर्ष संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस त्यहाँ पुगेका बेला खुम्बु पासाङल्हामु गाउँपालिका-४का वडाअध्यक्ष लक्ष्मण अधिकारीले उनीसँग भनेका थिए- ‘हाम्रा हिमालहरू नाङ्गिदैंछन्। सिरानमा रहेका हिमतालहरूमा पनि हलचल पैदा भएको छ। नाङ्गा हिमालमा वर्षाताका छिटाहरू पर्नाले बाढीपहिराको जोखिम बढेको छ।’
उनी आफै वातावरण विज्ञानका विद्यार्थी पनि हुन्। २०७४ सालतिर आफ्नै गाउँ फर्किएर राजनीतिमा होमिएका उनले आगामी पिंढीको चिन्ता गर्दै भनेका थिए ‘म भर्खरै चालिस पुगें। मेरै पालामा यहाँ धेरै परिवर्तन देखिसकेको छु। हामीले चाँडै नै निकै संकटपूर्ण अवस्था भोग्नुपर्नेछ भन्ने कुराहरू मैले त्यो बेला पनि भनेको थिएँ।’
बाढीको क्षतिपछि अहिले थामे अन्धाकार छ। वस्ती उज्यालो बनाएको खोलाका हाइड्रोपावरहरू ध्वस्त भएका छन्। टेलिकमका टावरहरू बिग्रिएका छन्। बत्ति पनि छैन। सञ्चार पनि छैन।
‘म पनि त्यहिँ पुगेर फर्किदैंछु’ टेलिफोनमा कुरा गर्दै उनले बिएल नेपाली सेवासँग भने ‘ती तालहरूकोबारेमा खास अध्ययन र अनुसन्धानहरू भएकै थिएनन्। तिनलाई जोखिमपूर्ण हिमतालकोबारेमा कहिँकतै सूचिकृत गरिएकै थिएन।’
तस्बिर: हिमताल फुटेर आएको बाढीले ध्वस्त बनाएको थामे गाउँ
उनका अनुसार केही दिनयता थामेका सिरानवरिपरी पानी पनि निकै परिरहेको थियो। उनकै जीवनकालमा भोगेका छन् पहिलाको तुलनामा अहिले वर्षाको चरित्र फेरिएको छ। कहिले परेको पर्यै हुन्छ कहिले छ्याङ्ग घामका घाम। यसपालि पनि त्यस्तै भएको थियो। वरिपरिका वर्षा मापन केन्द्रहरूको रेकर्डअनुसार बाढी आउनुभन्दा अघिल्ला १५ दिनमा त्यो क्षेत्र वरिपरि करिब १३३.८३ मिलिलिटर वर्षा भएको देखिन्छ। मौसमविदहरूका अनुसार यो क्षेत्रमा गरिएको यो ‘अस्वभाविक’ वर्षा रेकर्ड हो।
हिमतालको जोखिम
विश्वव्यापीरुपमा बढ्दै गइरहेको तापमानले हाम्रा हिमालहरू लामो समयदेखि तातिइरहेका छन्। सामान्य मौसममा पनि ‘माइनस’ तापमानमा हुने यी अग्ला हिमाली भेगहरू आजभोलि १५-१६ डिग्री तापक्रममा हुन्छन्। खासगरी हिमनदी बढ्ने वा हिमतालहरू पग्लिने भनेकै यही तापक्रमले नै हो। हिमनदीको पानी जमेर बनेका तालहरू पग्लिँदा त्यहाँ पानीको आयतन बढ्दै जान्छ र त्यसले थप भूभाग खोज्दै जान्छ। जसले तालका घेराहरू तोडिदिन्छ। त्यसैलाई हामीले हिमतालको ‘विष्फोट’ भन्छौं। र त्यसले तल्लो तटीय क्षेत्रमा बाढी बनेर क्षति पुर्याउँछ।
खासमा थामेमा भएको पनि यही हो।
तस्बिर: खुम्बु क्षेत्रका हिमतालहरू
‘तातो बढेको छ। लामखुट्टेहरू हिमाल चढेको कहानी त सुन्नुभएकै होला। तापक्रम बढिरहेको छ। अनि हाम्रा हिमाल, हिमनदी र हिमतालहरू पनि पग्लिइरहेका छन्। यो भविष्यका लागि पनि निकै जोखिम हो भनेर हामीले सरकारलाई धेरै पटक भनिसकेका छौं’ अधिकारी भन्छन् ‘थामेमा भएको पनि यही होला। यसैलाई हाम्रा राष्ट्रसंघका महासचिवज्यूले पनि जलवायु परिवर्तनको असर भोग्न तयार हुनुपर्छ भन्नुभएको थियो।’
र भविष्यमा थप क्षति छेक्नका लागि आजैबाट विकासका नाममा ‘पागलपन रोक्न’ उनले विश्वका नेताहरूलाई भनेका थिए।
थामेको सिरानमा शुक्रबार जहाँ हिमताल फुटे त्यहाँ अझै तीनवटा सग्ला हिमतालहरू छन्। तिनको अवस्थाको बारेमा सायद कसैलाई थाहा छैन।
केही दिनअघिमात्रै राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको वातावरणीय क्षेत्रमा आधारित एउटा तथ्याङ्कीय प्रतिवेदन जारी गरेको छ। त्यसका अनुसार सोलुखुम्बुमा मात्रै १२ वटा हिमतालहरू जोखिमपूर्ण अवस्थामा छन्। त्यसबाहेक देशभरिका हिमाली क्षेत्रमा लगभग २१ वटा हिमतालहरू निकै जोखिमपूर्ण अवस्थामा छन्। जो ३ हजारदेखि ५ हजार ५ सय मिटरभन्दा पनि अग्ला स्थानमा छन्।
नेपालमा रहेर हिमाली भेगको जलवायु र जनजीवन अध्ययन गरिरहेको एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)ले चार वर्षअघि सार्वजनिक गरेको एउटा प्रतिवेदनले नेपालमा हिमताल र हिमनदीहरूको जोखिमबारे भनेको थियो।
त्यो प्रतिवेदनका अनुसार लगभग २१ वटा त्यस्ता जोखिमपूर्ण हिमतालहरू नेपालकै क्षेत्रमा छन्। ती जतिबेला पनि फुट्नसक्छन्। त्यसबाहेक २५ वटा तिब्बत क्षेत्रमा पर्छन्। अनि एउटा भने भारतीय भूमिमा छ। ४७ वटा यी हिमतालहरू जुनसुकै विष्फोट भए पनि त्यसको क्षति भने नेपाली भूभागले नै ब्यहोर्नुपर्छ।
गत वर्षको डिसेम्बरमा सिक्किममा आएको ठूलो बाढीको कारण पनि तिनै हिमताल फुटेर हो। त्यसबाट त्यहाँ सयौं मानिसको मृत्यु भएको थियो भने धेरै भौतिक क्षति पनि भएको थियो। त्यो भनेको कञ्चनजंगा क्षेत्रमै रहेको हिमताल हो। जहाँ दर्जनभन्दा धेरै जोखिमका हिमताल छन्।
नेपालमा सबैभन्दा धेरै जोखिममा रहेको हिमताल दोलखामा रहेको ‘च्छो रोल्पा’ र सोलुखुम्बुमै रहेको ‘इम्जा’ हिमताल हुन्।