सगरमाथा शिविरबाट विश्व नेताहरूलाई गुटेरेसको चेतावनी– यो पागलपन रोकौँ

BreaknLinks
BreaknLinks

खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीलाई अझै याद छ, पुस-माघतिर स्कुल जाँदा घरमै बनाएको एउटा ‘स्की’ पनि काँधमा बोकेर दौडिन्थे त्योबेला।

करिब ३० वर्षअघि टल्किने ती हिमालमा अहिले भने उतिसारो हिउँ छैन। आँखै खाने ती हिउँ कहाँ गए?

कतै काला पत्थरहरू देखिन्छन्, कतै अलिअलि हिउँका टुक्राहरू।

सोमबार बिहानपख खुम्बु (सगरमाथा आधार शिविर) पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई भेटेका अध्यक्ष अधिकारीले पनि ३० वर्षमा देखिएको ज्यादै डरलाग्दा प्रभावहरूबारे बताएका थिए।

‘त्यो दिन त हिजै हो जस्तो लाग्छ, हामी स्कुल जाँदा पुस-माघमा पनि एउटा स्की झुन्ड्याएर जान्थ्यौँ’, उनी भन्छन्, ‘आज त्यस्तो छैन। हिउँ नै पर्दैन। हिउँ नै छैन।’

हुन त हिउँ पग्लिन्छ, त्यो उसको चरित्र नै हो। तर त्यसको गति र प्रभावहरूले अहिले निम्तिरहेको संकट सबका लागि भयावह छ।

हिउँ सकिएका काला हिमालहरू कसरी नाटकीय रुपमा फेरिएका छन् भन्नेबारेमा उनले गुटेरेसलाई पनि विस्तारमा भनेका थिए।

‘नाङ्गा हिमालमा पानीका फोहोरा ठोक्किँदा पहिराको जोखिम पनि उस्तै छ’, उनले भनेका थिए, ‘विश्वभरि बढ्दै गएको प्रदूषणका कारण हाम्रा हिमाल नाङ्गिएका छन्, त्यसको पीडा हामीले खेप्नुपरेको छ।’

उनका अनुसार अहिले चार/पाँच वर्षमा एकपटक हिउँ पर्छ। त्यो पनि पहिलाको जस्तै पर्दैन। त्यसकै कारण अहिले हिमालय वरिपरिका क्षेत्रमा ‘अचम्म’का परिवर्तनहरू देखापरेका छन्।

‘हिमनदी पग्लिनेक्रम बढेको छ, जलवायुजन्य हानी-नोक्सानी बढेको छ, पानीका स्रोत सुक्दै गएका छन्, स्थानीय बालीनालीमा जलवायुको असर परेको छ, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको छ’, अधिकारी भन्छन्, ‘हामीले आधा जीवन नबिताउँदै यस्ता परिवर्तन आइसकेका छन्। आउने पुस्ताले यसबाट कस्तो असर भोग्नुपर्ने होला? हामीले यस्तै जोखिमबारे महासचिवज्यूलाई भनेका छौँ।’

दोहोर्‍याएर खुम्बु पासाङल्हामु गाउँपालिका–४ को अध्यक्ष भएका ४० वर्षीय अधिकारी जन्मे-हुर्केको गाउँठाउँ यही नै हो। जहाँ उनले हिमालका हिउँ हेर्दै आफ्नो बालापन बिताए र हिमाली काखकै स्कुलमा कखरा सिके।

उनी आफैँ पनि वातावरण विज्ञानका विद्यार्थी हुन्। वातावरण इन्जिनियरिङ पढेका उनी काठमाडौँ र देशका अरु धेरै ठाउँमा काम गरेर २०७४ सालमा गाउँकै राजनीतिमा फर्किएका थिए।


‘शून्य कार्बन’को बेतुक दौडमा नेपाल


‘यसले गर्दा मैले पढेरभन्दा पनि यहीँ बसेर भोगेका कुरा हुन्। यो तीन दशकमा मलाई सम्झना भएदेखि हिमाली क्षेत्रको जलवायुमा धेरै परिवर्तनहरू देखापरेका छन्’, अधिकारीले भने, ‘हामीले भोगेका यिनै भोगाइहरू महासचिवज्यूलाई सुनाएका हौँ र हाम्रा यी आवाजहरूलाई उहाँले विश्वका नेताहरूलाई सुनाउने भन्नुभएको छ।’

गुटेरेसले हिमालको त्यही भेगबाट एउटा भिडियो सन्देश जारी गर्दै सारा विश्वलाई चेतावनी दिएका छन्, ‘यो पागलपन हामीले रोक्नैपर्छ…।’

गुटेरेसको जलवायु सन्देश

आगामी महिना यूएईको दुबईमा विश्व जलवायु सम्मेलन हुँदैछ। त्यसकै तयारीका लागि पहिलो भ्रमणमा निस्किएका गुटेरेस नेपाल आइपुगेका हुन्।

दुबईमा आगामी नोभेम्बर ३० देखि डिसेम्बरको १२ सम्म त्यो सम्मेलन (कोप-२८) हुँदैछ। त्यसकै तयारीका लागि हिमालयको देश नेपालमा गुटेरेस विश्व जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र र यहाँका बासिन्दाले भोग्नुपरेका दु:ख बुझ्न यहाँ आएका हुन्।

जसलाई उनले त्यो सम्मेलनमा जुटेका विश्वका सबै नेताहरूलाई सुनाउनेछन् र भन्नेछन्, ‘अब यो पागलपन बन्द गरौँ। हिमालमा हिउँ सक्किसक्यो।’

उनले आफ्नो कुनै योगदानबिना नै ठुला देशहरूले गरिरहेको गल्तीको सजाय नेपालले भोग्नुपरिरहेको भन्दै त्यसका लागि विश्व समुदायसम्म आवाज लैजान आफू यहाँ आएको पनि बताएका छन्।

ठुला देशका कारण जलवायु परिवर्तन र विश्व तापमान वृद्धि भइरहेको र यसबाट नेपालजस्ता अल्पविकसित देशहरूले त्यसको नाटकीय असर भोग्नुपरिरहेको छ।

यसबारे यसअघि नेपालले संयुक्त राष्ट्रसंघमा पनि कुरा उठाइसकेको छ। गत भदौ तेस्रो साता अमेरिकामा भएको राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे विश्वका अतिकम विकसित देशहरूले पाउनुपर्ने ‘क्षतिपूर्ति’का बारेमा बोलेका थिए।

विश्वका अतिकम विकसित राष्ट्रहरूको अध्यक्ष राष्ट्र नेपाल हो। उनले संकेत गरेको त्यो ‘पागलपन’ भनेको विश्व तापमानलाई १.५ डिग्रीभन्दा पनि माथि लैजानेगरी भइरहेको होडबाजी अर्थात् कार्बन उत्सर्जनको प्रतिस्पर्धा हो।

यसअघि मुख्यालयबाटै जारी एक सन्देशमा गुटेरेसले भनेका थिए, ‘जलवायु परिवर्तनको युग सकियो, अब उम्लिरहेको युग सुरु भइसकेको छ।’ उम्लिरहेको यही विश्व हो, अनि त्यसकै तातो हावाले हाम्रा हिमालका हिउँ सकिँदैछन्। नेपालमा भएका यी हिमाल विश्वभरि एक हिस्सा पानीका मुहान हुन्।

‘हिमालहरू पग्लिरहेका छन्, हिमनदीहरू पग्लिरहेका छन्’, हिमालको यही काखमा यहाँका बासिन्दाहरूसँग कुराकानी गर्दै गुटेरेसले भनेका छन्, ‘तर हामी अब पछि हट्न सक्दैनौँ। हामीले यो तापक्रम १.५ डिग्रै रोक्नुपर्छ। अब ढिला भइसकेको छ।’

‘म अहिले यहाँ हिमालयमै छु। जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन्। अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन्’, गुटेरेसले भनेका छन्, ‘हामीले बाढीपहिरो देख्नुपरेको छ। यहाँको समुदाय नाटकीयरूपमा प्रभावित भइरहेको छ। हामीले यसलाई रोक्न जरुरी छ।’

यसअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटका क्रममा पनि गुटेरेसले विश्व जलवायु परिवर्तनको प्रभावलाई कम गर्न नेपालले गरेका प्रतिबद्धताहरू र योगदानको प्रशंसा गरेका थिए।

नेपालले आगामी २०५० सम्ममा ‘नेट जिरो’ अर्थात् शून्य कार्बनको लक्ष्य लिएको छ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको एउटा सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०४५ सम्ममा ‘नेट जिरो’मा पुग्ने नेपालको लक्ष्य विश्वलाई सुनाए।

राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन गएका प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देश(एडिसी)को अध्यक्षका हैसियतले ‘क्लाइमेट एम्बिसन समिट’लाई सम्बोधन गर्दै ‘शून्य कार्बन’को लक्ष्य सुनाएका हुन्।

यद्यपि, यसअघि नै सन् २०२१ को सिओपी(कोप-२६) अर्थात् विश्व जलवायु सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो लक्ष्य विश्वमाझ पुर्‍याइसकेका थिए।

त्योबेला भारतले ४८ वर्षपछि अर्थात् करिब सन् २०६९ सम्म र छिमेकी चीनले ३८ वर्षपछि अर्थात् करिब सन् २०६० सम्ममा त्यस्तो लक्ष्यमा पुग्नसक्ने प्रतिबद्धता जनाएका थिए।

तर, नेपालले भने करिब २५ वर्षअघि नै त्यो लक्ष्य भेटाउने कहानी सुनाएर विश्वभरिबाट ‘स्यावासी’ बटुलेको थियो।


करिब ६३ खर्ब खर्चेर सन् २०४५ सम्म नेपालले भेटाउन खोजेको एउटा लक्ष्य


शक्ति राष्ट्रहरूको बीचमा रहेको नेपाल र विश्वका अरु राष्ट्रहरूभन्दा अघि नै नेट जिरोको लक्ष्य हासिल गर्न नेपालले देखाएको तत्परताले त्यस्ता राष्ट्रहरूलाई दबाब पुग्ने विश्वास पनि गुटेरेसले लिएका छन्।

‘पृथ्वी तातिनु वा त्यसले निम्त्याएको जलवायु संकट नेपालको आफ्नो सिर्जना होइन’, गुटेरेसले भनेका छन्, ‘तर अरूकै कारण निम्तिएको यो विश्वव्यापी संकटको आँधीमा नेपाल र सारा नेपालीको जीवन फसेको छ।’

तीस वर्षको अन्तरालमा झन्डै एक तिहाइ हिउँ गुमाइसकेका नेपालका हिमालहरू विश्वव्यापी जलवायु संकटको प्रभाव देखाउन पर्याप्त रहेको भन्दै त्यसलाई आफैँले अनुभव गर्न पनि गुटेरेस नेपाल आएका हुन्।

‘म आफैँ यतिबेला हिमालयका छेउमा छु। हिमनदीहरूमा जलवायु संकटको भयावह प्रभावहरू आफैँ हेर्न म यहाँ आएको हुँ’, गुटेरेसले भनेका छन् ‘स्थिति एकदमै नाजुक छ र यसको गति निकै द्रुत छ। नेपालले तीस वर्षको अवधिमा झन्डै एक तिहाइ हिउँ गुमाइसकेको छ। अझै यो क्रम रोकिएको छैन।’

उनले त्यसका लागि अझ धेरै विश्वव्यापी पहलहरू आवश्यक रहेको र विकसित देशहरूले नेपालजस्ता देशलाई सहयोग गर्नुपर्ने पनि बताए। उनीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले पनि त्यसबारे ध्यानाकर्षण गराएका थिए।

‘जलवायु परिवर्तन र त्यसका असरहरूका बारेमा हामीले चर्चा गरेका छौँ। नेपालजस्ता देशले भोग्नुपरेको जलवायु संकटका बारेमा महासचिवज्यू गम्भीर हुनुभएको पाएको छु’, प्रधानमन्त्रीले भनेका छन्, ‘नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँले निकै प्रभावकारी भूमिका पनि खेल्नुभएको छ।’

जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आगामी दिनमा राष्ट्रसङ्घलगायत द्विपक्षीय तथा बहुपक्षीप अन्तर्राष्ट्रिय निकायबाट सहयोगका लागि पहल गरिदिन पनि प्रधानमन्त्रीले गुटेरेसलाई आग्रह गरेका थिए। 

प्रकाशित मिति: : 2023-10-30 17:40:00

प्रतिकृया दिनुहोस्