आज लाखौँ नेपालीहरू विदेशमा छन् । रहरले होस् वा कहरले उनीहरूले आफ्नो जन्मदेश छोडेका छन्, यो यथार्थ हो । र, अब यो क्रम कसैको प्रिय चाहना वा कामनाले घट्नेवाला पनि छैन । उनीहरू केही न केही कारणले बिदेसिए । सबैका कारण एउटै छैनन् । सूक्ष्म किसिमले नियाल्ने हो भने बाहिरिएका नेपालीको संख्या जतिकै कारण होलान् ।
फेरि यसरी बिदेसिने नेपाली मात्र हैनन् । संसारका लगभग सबै देशका केही न केही मानिसहरू बिदेसिएकै छन् । कारण र परिस्थितिले संख्या केही तलमाथि बनाएको होला । त्यो बेग्लै कुरा हो । तर पनि सबैको प्रिय चाहना एउटै छ– सत्यं, शिवं सुन्दरम् । त्यो प्रिय चाहना सबैलाई प्राप्त भएको छ वा छैन, त्यो बेग्लै कुरा हो । तर पनि बिदेसिनु आज एक किसिमको ग्लोबल फेनोमेनन हो ।
यो आजको मात्र हैन, मानव सभ्यता सुरु भएदेखिकै आम प्रवृत्ति हो । हामी नेपालीहरू जहाँ नेपाल देश बनाएर बस्यौँ, त्यहाँ पनि हाम्रा पुर्खाहरू बसाइ सर्दै आएका हुन् । त्यतिबेला भौगोलिक सीमाका देश थिएनन्, त्यस अर्थमा मात्र उनीहरू बिदेसिएका थिएनन् । उनीहरूले त्यसरी हिँड्नुको औचित्य पुष्टि गर्न भनेका थिए, बसुधैव कुटूम्बकम् । अर्थात्, संसार साझा घर हो ।
सन् १९६३ मा ग्लोबल भिलेजको अवधारणा आयो । त्यसपछि मात्र सांस्कृतिक रूपले पश्चिमले पूर्वलाई र आर्थिक रूपले उत्तरले दक्षिणलाई चिन्न थाल्यो । त्यसअघि नै हाम्रा पुर्खाले बसुधैव कुटूम्बकम् भनेर आफ्नो श्रेष्ठता प्रस्तुत गरिसेका थिए । अहिले बिदेसिनु पनि त्यही मन्त्रको सार्थकता हो ।
अब प्रश्न उठ्छ, नेपालीहरू बिदेसिएर फाइदा भएको छ कि नोक्सान ? यो निरपेक्ष कुरा हैन । सापेक्षतामा हेर्ने हो भने केही फाइदा भएका छन्, केही बेफाइदा । चुरो बेफाइदा भनेको देशले आफ्ना नागरिक गुमाएको छ । त्यसमा पनि धेरैजसो केही गरौँ भन्ने सोच भएका योग्य र सक्षम नागरिक नै गुमाएको छ ।
फाइदाको कुरा हेर्दा उनीहरूमार्फत नेपाल र नेपाली दुवै एक साथ विश्वभर फैलिएका छन् । अर्थात् नेपालको विस्तार भएको छ । आजको समय भौगोलिक साँधसीमा सारेर नेपाल विस्तार हुने हैन, नेपाली विस्तारित भएर मात्र नेपाल बिस्तार हुने हो । नेपाली भाषा, भेष, खाना संसारभर पुर्याएर नै नेपाल र नपाली विस्तारित हुने हो । नाफा र नोक्सानको लम्बेतान सूची बनाउन सकिन्छ तर सारमा यसबाट नेपाली विस्तारित भएर ग्लोबल जाति भएको छ । उनीहरूसँगै मिनी नेपाल पनि त्यहाँ पुगेको छ ।
यो स्तम्भकार पनि तिनै लाखौँ बिदेसिएका नेपालीमध्ये एक हो । हो, बिदेसिनुको कारण, परिस्थिति र उद्देश्यको मिहिन विश्लेषण गर्ने हो भने मेरो जस्तै अवस्था भएको अर्को नेपाली भेटिँदैन । जसरी मानिसको अनुहार मिल्दैन, ठ्याक्कै उस्तै कुरा हो यो पनि । तर, मेरो जस्तै अवस्था भएका हजारौँ नेपाली बिदेसिएका छन् । यद्यपि जस्तै हुनु र ठ्याक्कै हुनु फरक कुरा हुन् ।
पछिल्लो समय बिदेसिने नेपालीको संख्यासँगै देशमा बस्ने र विदेशिनेबिच एक किसिमको विभाजनको रेखा पनि मोटाउँदै छ । विभाजनको रेखा मोटाएको मात्र हैन, गाली गलौजमै उत्रेका कयौँ विषय वा घटनाहरू छन् ।
खासगरी देशमा बस्नेहरूले बिदेसिनेहरूलाई नेपाल सबै उनीहरूले नै बिगारेजस्तो गरेर गाली गरिरहेका हुन्छन् । अझ, त्यसमा पनि विदेश जान नसकेका र आफ्ना कोही पनि विदेशमा नहुनेहरूको त कुरा पनि सुन्नै गाह्रो हुन्छ । बाबुआमाको सौजन्यमा डेटा किनेर वा बाइफाई चलाएर सामाजिक सञ्जालमा आएकाहरूको त कुरै भएन ।
यदाकदा यो स्तम्भकारको पनि त्यस्ता मानिससँग दुर्भाग्यपूर्ण जम्काभेट भएको छ । कहिलेकाहीँ त चुप लाग्दा खराब अभियोग स्विकारेको हुने अवस्था आउँछ र त्यस्तो अवस्थामा नचाहेर पनि सवालजवाफमा उत्रनुपर्ने हुन्छ ।
जब मानिसहरू हामीजस्ता बिदेसिएकाले देश बिगारेको आरोप लगाउँदै भगौँडा, पलायनवादी, भाँडा माझ्न गएको, भिरखर्के, शरणार्थी आदि इत्यादि भन्छन्, त्यसपछि भने यो स्तम्भकारको पनि कन्पारो तात्छ । तर, यो पनि सत्य हो कि त्यस्तो कन्पारो तात्ने यो स्तम्भकार एक्लो नेपाली हैन, ऊजस्ता हजारौँ नेपाली विदेशमा छन् ।
यसपटकको स्तम्भमा केही आफ्नै बारेमा र केही मजस्ता मानिसको बारेमा लेख्न चाहन्छु । म अहिले ८००० माइल टाढा अमेरिकामा छु । वंशजको नागरिकका रूपमा अमेरिका आएको अब म गैरआवासीय नेपाली नागरिक मात्र हुँ । मेरो पछिल्लो नागरिकको अवस्था पनि नेपालको संविधानले चिन्छ ।
हो, मैले नेपालको राजनीति र प्रशासनिक अधिकार भने गुमाएको छु । मेरो मातृभूमिको भलाइका लागि म योभन्दा पनि धेरै गुमाउन तयार छु । यद्यपि, केही भिरखर्केहरू दोहोरो नागरिकताका कुरा गरेर नेपालबाट लिन मात्रै चाहन्छन्, म त्यो पंक्तिमा पर्दिन ।
भन्नलाई जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने तर गर्न चाहिँ अनेक किसिमका किर्ते कारोबार गरेर मातृभूमिबाटै लुट्ने पाखण्डहरू मैले धेरै देखेको छु । म त्यस्ता मातृभूमिबाट लिन मात्र चाहने पात्र र प्रकृतिहरूलाई घृणा नै गर्छु ।
यो स्तम्भकार एक फरक परिस्थितिमा बिदेसिएको हो । ५० वर्षसम्म आफ्नो क्षेत्रबाट देशका लागि केही गरेर र त्यो योगदानलाई अतुलनीय योगदानका रूपमा अमेरिकाबाट प्रमाणित गराएर अमेरिका हिँडेको मानिस हुँ । त्यसको प्राविधिक अर्थ हो, अमेरिकाले इबी १ आधारमा ग्रीनकार्ड दिएको एक्स्ट्रा अर्डिनरी मानिस । तर, म विनम्रताका साथ भन्न चाहन्छु यो मेरो रहर थिएन, पूरापूर कहर थियो ।
जब देशमा कुनै पनि राजनीतिक पार्टीको चौवन्नी सदस्य नभएकै कारणले कुनै पनि सक्षम नागरिकले आफ्नो योग्यता अनुसार देशमा योगदान गर्न पाउँदैन, ऊ त्यस्तो देशमा किन बस्छ ? कोही तथाकथित उपल्लो जातमा जन्मेकै आधारमा योग्य भएर पनि कोटा सिष्टममा नपरेर सधैँ अवसरबाट वञ्चित हुन्छ, ऊ कतिन्जेल त्यस्तो देशमा बसिरहन सक्छ ?
जब देशमा ठूला नेता र नोकरशाहसँग कुनै रगत वा फरियाको नाता लगाउन सकिँदैन र त्यही बापत कुनै काम पाइँदैन भने को सधैँभरि मेरो मातृभूमि हो भनेर बसिरहन सक्छ ? कुनै लठ्ठकको घर र जग्गाको भाउ बढाउन दिनदहाडै घरमा डोजर लाग्छ र त्यो ट्रमामा परिवारका सदस्य पर्छन् भने त्यस्तो कानून बिनाको जंगली राजमा आँसुको घुट्को पिएर को बसिरहन सक्छ ?
यो स्तम्भकारले त्यस्तै कारणले बिदेसिएको एक नेपाली हो । ठ्याक्कै यस्तै नभए पनि यस्तै यस्तै कारणले बिदेसिएका हजारौँ नेपाली मैले भेटेको छु । म यहाँ लगभग मेरो जस्तै कथा भएका दुई नेपालीको दृष्टान्त दिन चाहन्छु ।
एकजनालाई मैले न्युजिल्याण्डको भेडीगोठमा भेटेको थिएँ । उनी जुम्लाका शाह थिए । उनले भने, ‘पढ्न त बीए पढेको थिएँ । शाह थर भएकाले कोटामा परिएन । जागिर पाइनँ । जुम्ला विमानस्थलमा यात्रुका लागि एकजना साहुको घोडा तान्ने सयसको काम गर्थै । कहिले यात्रु चढाएर गन्तव्यमा पुर्याउँथे कहिले उनीहरूको सामान । त्यसो गर्दा एक दिन एकजना यात्रुले नाम सोध्यो, नाम र थर भनेँ । त्यो सुन्ने बित्तिकै उसले भन्यो, शाह भएर पनि घोडा तान्ने ?, शाहको त बेइज्जत नै गरेछौँ । त्यसपछि म यस्तो देशमा के बस्नु भनेर अनेक हण्ठर खाँदै यहाँ आइपुगे । यहाँ म भेडा हेर्छु । सात वर्ष भयो । श्रीमती र छोराछोरी पनि ल्याए । अहिले म खुसी छु ।’
अर्को पात्र गत वर्ष क्यानाडाको टोरोन्टोस्थित एक भारतीय रेस्टुरेन्टमा भेट्टिए । उनको कथा झन् मार्मिक थियो । तथाकथित उपल्लो जातका उनले जनप्रशासनमा स्वर्णपदकसहित मास्टर गरेका रहेछन् । लोकसेवामा खुल्लातर्फ शाखा अधिकृतमा एक नम्बरमा नाम निकालेका रहेछन् । तर, खुल्लामा नाम निकाल्न नसकेर महिला कोटामा नाम निकालेकी एक महिला केही वर्षमै महिलाको कोटामा उपसचिव र पिछडिएको वर्गमा सहसचिव भएर आफ्नै हाकिम भएर आइछिन् । उनले व्यवहार पनि हाकिमकै गरिछन् । सहन नसकेर जागीरबाटै राजीनामा दिएर सपरिवार क्यानडा पुगेछन् । अहिले उनी रेष्टेरेन्टमा काम गर्दै पीएचडी गर्दै रहेछन् ।
यी दुई त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता कथाव्यथा भएका अरू पनि हजारौँ नेपाली विदेशमा छन् । विदेशमा मात्र छैनन्, विदेशी नागरिकता नै लिएका छन् । अब उनीहरू फर्कँदैनन् र उनीहरूका सन्तान पनि फर्कँदैनन् । यो सत्य हो यद्यपि, उनीहरू त्यो सत्य सार्वजनिक गर्न चाहँदैनन् । यदि उनीहरूले नागरिकता लिएको र नेपाल नफर्किने बताए भने उनीहरूको अपराधिकरण हुन्छ, सत्तोसराप गरिन्छ । त्यसैले उनीहरू भन्न चाहँदैनन् ।
यो स्तम्भकार भने अलि जब्बर छ र सगौरव भन्छ ‘म अमेरिकी नागरिक हुँ । अमेरिका मेरो देश हो । तर, मेरो आधिकारिक परिचय नेपाली–अमेरिकी हो । मैले नेपाली छोडेको छैन । मैले अमेरिकी जनगणनामा मेरो मूल नेपाली लेखेको छु । त्यस्तो लेख्ने नेपालीको संख्या अमेरिकामा २,१९,५०३ छ । त्यहीमध्येको एक नेपाली–अमेरिकी हुँ म । तर, म गैरआवासीय नेपाली नागरिक पनि हुँ । यो मेरो लागि चिनाजस्तै हो । नेपाल मेरो मातृभूमि हो । म मनैदेखि ‘जननी जन्मभूमिश्च स्वर्गादपिः गरियसी’ भन्छु र त्यही अनुसारको व्यवहार पनि गर्छु ।
हो, मैले नेपाल सपार्न सकिन होला तर मैले नेपाल बिगारेको पनि छैन । बरु नेपाल छोडेर नेपालको स्रोत र साधन प्रयोग गरेको छैन । मैले गरेका कामहरू अर्को नेपालीले गर्न पाएका छन् । मेरो जे जति सम्पत्ति थियो, नेपालमै छ । त्यसबाट नेपालको कुल गृहस्थ उत्पादनमा केही योगदान भएकै छ ।
म भन्दिन कि अनेक भुक्तमान भोगेर पनि नेपालमै बसेका नेपालीभन्दा म श्रेष्ठ नेपाली हुँ । त्यो कदापि हैन पनि । तर, ८००० माइल टाढा रहेर पनि म मेरो जन्मदेशलाई त्यतिकै माया गर्छु जति त्यो देशमै बसेर कुनै पनि किसिमको लुटतन्त्रमा सामेल नभएका नेपालीले गर्छन् । हो, अब म नेपाल सँधैभरि बस्नकै लागि जान्न र मेरा सन्तान पनि जाँदैनन् । तर, म आफ्नो मातृभूमिलाई घोषणा गरेर हैन, नगररै केही दिइरहेको छु र दिइरहने छु ।
बिट मार्नुअघि एउटा सन्दर्भ जोड्न चाहन्छु । गत साता मैले मेरो एक विद्यार्थीलाई नेपालस्थित अमेरिकी दूताबासको एक उच्च पदमा काम गर्न जाने क्रममा विदा गरें । मैले भने, 'मेरो जन्मदेश संसारकै सुन्दर र पवित्र देश छ । यो देशले तपाईलाई सधैभरी स्वागत गरिरहन्छ । हो, केही खराब मान्छेहरूले तपाईंलाई दु:ख दिन सक्लान् । तर, मेरो अनुहार सम्झेर मेरो जन्मभूमीलाई केही नभनी दिनु होला ।'
हामी दुबैका आँखामा आँसु थिए । परेलीबाट झरिरहेका आँशुका मोतीहरूले चुपचाप सम्वाद गरे ।
कृपया मेरो मातृभूमीलाई माया गर्न पाउँने मेरो अधिकार नखोसी दिनु होला ।