चित्रबहादुर केसी ‘स्टन्ट’ गर्न टेम्पो र बसमा चढेर यात्रा गर्ने होइनन्। न त उनी एकछिन भिडियो र फोटो खिच्न चढ्ने हुन। यो त उनको २५ वर्षदेखिको बाध्यता हो।
सांसद चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष पनि हुन्। घट्टेकुलाको ‘कोठा’ छोडेर अहिले पार्टी कार्यालयमै ‘डेरा’ बनाएका चित्रबहादुर केसीसँग काठमाडौंमा चल्ने माइक्रो अनि टेम्पो यात्राका धेरै किस्साहरू छन्।
सामाजिक सञ्जालमा छाइरहने चित्रबहादुरका यी दृश्यहरू कुनै स्टन्ट होइनन्। टेम्पो र माइक्रो यात्रामा उनलाई घेर्न ‘युट्युबर’हरूको हुल पनि हुँदैन। कहिले प्रतिपक्षको कुनामा त कहिले सत्ता पक्षको बेञ्चमा संसदभित्र देखिइरहने चित्रबहादुरको जिन्दगीसँग काठमाडौंका यी निला माइक्रो अनि टेम्पोहरूको साइनो २५ वर्ष पुरानो हो। जहाँ उनका राजनीतिक र आफ्नै जीवनका बैंशालु समय गुज्रिएका छन्।
बागलुङबाट राजनीतिक यात्रा प्रारम्भ गरेका केसी २०५६ सालमा पहिलोपटक सांसद बनेको थिए। त्यतिबेला पनि उनीसँग निजी गाडी थिएन।
अनामनगरको भित्री क्षेत्रमा पर्ने घट्टेकुलोमा डेरा गरेर बस्ने उनी त्यहाँबाट टेम्पो चढेर नयाँ बानेश्वरमा रहेको संसद भवन जान्थे।
कपनको एकताबस्तीमा रहेको पार्टी कार्यालय जानुपरे पनि मैतीदेवीबाट टेम्पो चढेर चावहिल पुग्थे। र, त्यहाँबाट बस चढेर जान्थे।
चित्रबहादुरको लागि टेम्पो र माइक्रो यात्राका सारथी हुन।
९ महिना मन्त्री र समिति सभापति हुँदा बाहेक अरुबेला केसीले धेरै जस्तो टेम्पो नै चढेका छन्।
उनी २०६४ मा संसदीय लेखा समिति सभापति भए। संसदीय समितिका सभापतिलाई संसद सचिवालयले सरकारी गाडी उपलब्ध गराउँछ। सभापति हुँदा ‘सरकारी गाडी पाइन्छ’ भन्ने पनि थाहा थिएन, केसीलाई।
सभापति भएको भोलिपल्ट संसद सचिवालयले गाडी दियो।
९ महिनासम्म लेखा समितिको नेतृत्व गर्दा केसीले सरकारी गाडी चढे।
९ महिनापछि समिति सभापतिबाट मुक्त भएपछि फेरि उनको यात्रा टेम्पो र माइक्रो बसमा नै हुन थाल्यो।
२०७२मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा केसी सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी उपप्रधानमन्त्री बने।
त्यो बेला पनि केसीले ९ महिना सरकारी गाडी चढ्ने मौका पाए।
त्यसपछि केसीले पुनः टेम्पो र माइक्रो बसमा नै यात्रा गर्न थाले।
यो बिचमा एउटा घटना पनि भयो।
केसी बैठकका लागि पार्टी कार्यालय कपन जाँदै थिए। घट्टेकुलो (डेरा)बाट निस्किएर मैतीदेवी पुगे। त्यहाँबाट निलो माइक्रो चढेर चावहिलतर्फ जाँदै थिए।
केसी सवार माइक्रोले गौशाला चोकमा ट्राफिक नियम उल्लंघन गर्यो। गौशालाबाट चावहिल जानुपर्ने माइक्रो ट्राफिक नियम उल्लंघन गर्दागर्दै ट्राफिक प्रहरीलाई देखेर रातोपुलतिर मोडियो।
केसी ठुलो स्वरमा बोले, ‘म त चावहिल जाने हो। तिमीले त रातोपुलतिर गाडी झारेऊ त...।’
माइक्रो चालकले सात्वना दिए, ‘हैन बुबा, तपाईंलाई चावहिल लगिदिए त भयो। यहाँ ट्राफिकले गडबड गर्लाजस्तो लाग्यो र म यता तल झरेर फर्काउछु....।’
बिचबाटोबाट माइक्रो फनक्क घुम्न खोज्दै थियो, केसी सडकमा खसे।
उनी बेहोस भए।
‘होस आउँदा गौशाला प्रहरीमा थिएँ’, केसीले त्यो घटना सुनाए, ‘मलाई त कुर्सीमा राखेका, वरिपरि पुलिसले घेरेका, स्थानीय र सबैले मलाई मात्रै हेरिरहेका। पञ्चायतकालमा प्रहरीको बिचमा त्यस्तै घेरिएर बसाल्थे।’
इन्स्पेक्टरले केसीलाई घटनाबारे बताए।
उनलाई त्यहाँबाट प्रहरीले नै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) पुर्यायो। उनको ढाडमा चोट लागेको रहेछ।
उपचार सुरु भयो।
उपचार भइरहँदा गृहमन्त्री विमलेन्द्र निधि पनि अस्पताल पुगे। त्यसपछि घटना चर्चामा आयो। उनका नेता, कार्यकर्ता र समर्थकले अस्पताल भरियो।
चिकित्सकले उनलाई ‘१५ दिन अस्पतालमा बस्नुपर्छ’ भनेका थिए। तर, उनले मानेनन्। ‘डाक्टरले मलाई १५ दिन अस्पतालमा बस्नुपर्छ भनेका थिए, मैले मानिनँ। मलाई त्यस्तो खास्सै केही भएको छैन जस्तो लाग्यो। फेरि मेरा मान्छेहरु पनि अस्पतालमा धेरै आउजाउ गर्न थाले। त्यही भएर मैले त घर जान्छु भनेँ’, केसीले सुनाए।
दुर्घटना भएको अर्को दिन केसीलाई अस्पतालले घर पठायो।
अस्पतालले सात दिनसम्म केसीको डेरामै अकुपञ्चरका लागि डाक्टर पठायो।
त्यसपछि पनि केसी राम्रोसँग उठ्न सकेनन्। बरु, डाक्टरले हेर्न छाडेको दिनदेखि स्वास्थ्यमा थप समस्या देखिन थाल्यो।
त्यही दुर्घटनाको कारण केसी तीन महिना ओछ्यनामा परे।
स्वास्थ्य अवस्था सहज नभएपछि केसीले २०७४को निर्वाचन पनि लड्न सकेनन्।
‘त्यही गाडीबाट खसेको कारण म ०७४ को चुनावमा उम्मेदवार नै भइनँ। म झनपछि झन बिरामी भएँ। पार्टीले निर्णय गरेपछि पनि म चुनाव लड्न सकिनँ।’
केसी २०७९मा चुनाव लडे।
चुनाव जितेपछि संसदीय नियमावली समितिको अध्यक्ष बने। त्यसपछि पनि उनलाई संसद सचिवालयले सरकारी गाडी उपलब्ध गराएको थियो।
दुई महिनामा समितिले नियमावली बनायो। समितिको कार्यकाल सकियो। केसीले सरकारी गाडी फिर्ता गरे।
गत वर्षको असोजको अन्त्यतिर बालुवाटारमा सर्वदलीय बैठक चलिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केसीलाई गाडी दिने प्रस्ताव अगाडि सारेका थिए।
सुरुमा स्वीकारेनन्। भने, ‘तपाईंहरुका जे–जे नीति हुन्छन्, त्यही–त्यही स्वीकार्नुपर्छ भने चाहिँदैन।’
सर्वदलीय बैठकमा सहभागीहरु हाँसे।
प्रचण्डले भने, ‘म तपाईंसँग एउटै पार्टीमा बसेको मान्छे हो। तपाईंहरु पदको लागि स्वार्थमा लाग्नु हुँदैन भन्ने थाहा छ। यो गाडीमा पनि त्यस्तो केही स्वार्थ होइन। लिनुहोस्।’
प्रचण्डको कुरा केसीले पत्याए।
केसीले त्यो गाडी चढ्न थालेको ६ महिना भएको थियो। सडक र संसदमा सहकारी ठगी प्रकरण चर्कियो।
चैत ६ गतेको संसद बैठकमा केसीले सहकारी प्रकरणलाई लिएर सरकारविरुद्ध बोले। त्यही बोलीलाई लिएर प्रचण्डले केसीलाई दिएको गाडी खोसे।
‘उहाँ (प्रचण्ड)ले विश्वासको मत लिने बेलामा सहकारीको काण्ड आएको थियो। सहकारीको रकम ध्वस्त पार्नेलाई उहाँले चाहिँ सफाइ दिनुभयो। महान्यायधीवक्तालाई सफाइ दिनुभयो। अब आइजिपीलाई पनि सफाइ दिएपछि मलाई भाउन्न भओ। मैले भण्डाफोर गरेँ, त्यसपछि सरकारले दिएको गाडी खोसिहाले’, चित्रबहादुरले सुनाए।
केसी संसदबाट बाहिर ननिस्कँदै उनका चालकलाई फोन आइसकेको थियो, ‘गाडी फिर्ता गर्नू भनेर।’
त्यसदिन चालकले यो कुरा केसीलाई बताएनन्।
अर्काेदिन केसीले संसद भवन जानका लागि चालकलाई फोन गरे।
चालकले फोनबाटै भने, ‘गाडी त थुते नि हजुर।’
चालकले भन्दै थिए, ‘आज म हजुरलाई नयाँ बानेश्वर छोड्दिन्छु। अनि, सिंहदरबार गएर गाडी बुझाउँछु।’
केसी त्यसदिन चालकलाई सिंहदरबार पठाएर आफू टेम्पोमा संसद बैठक गए।
०००
केसी बस्ने अहिले पार्टी कार्यालय कपनमा हो। त्यहीँबाट सार्वजनिक यातायात चढेर उनी संसद भवनदेखि अन्य बैठकहरुमा पुग्छन्।
उनलाई सबैभन्दा धेरै पुग्नुपर्ने ठाउँ नयाँ बानेश्वरमा रहेको संघीय संसद भवन र सिंहदरबार हो। यी दुई ठाउँमा आउजाउ गर्न उनलाई हरेकपटक चारवटा गाडी फेर्नुपर्छ।
जस्तो: संसद भवन नयाँ बानेश्वर पुग्नु पर्दा उनी कपन एकताबस्तीबाट बस चढेर चावहिल पुग्छन्। चावहिल चोकमा उत्रिएर त्यहाँबाट टेम्पोमा चढेर सिधैं नयाँ बानेश्वर पुग्छन्। भने, सिंहदरबार पुग्नु पर्दा त्यहीँ एकताबस्तीबाट चावहिलसम्म एउटा बसमा, त्यहाँबाट नयाँ बानेश्वरसम्म टेम्पोमा र त्यहाँबाट पनि अर्को टेम्पोमा चढेर सिंहदरबार पुग्छन्।
यसरी सार्वजनिक गाडीमा यात्रा गर्दा केसीलाई चिन्नेहरु अचम्मित हुन्छन्। कतिपयले ‘नेताजस्तो मान्छे पनि सार्वजनिक गाडी चढेको?’ भनेर प्रश्न गर्छन्। केही नयाँ मानिसहरुले उनीसँग फोटो खिच्छन्। उनलाई सामान्यतय यात्रा गर्दा सहज नै हुन्छ।
तर, कहिलेकाहीँ भने उनलाई आपत नै पर्छ। पानी पर्दा, हावाहुरी चल्दा र साँझपख अँध्यारोमा यात्रा गर्नुपर्दा भने उनी धेरैजस्तो अलमलमा पर्छन्।
यहाँ केसीले हामीलाई सार्वजनिक यात्रामा हिँड्दा आफूले पाएको दुःखको अर्को घटना सुनाए:
कुनैबेला यहाँ चावहिल उत्रिने मान्छे, चावहिल आयो भनेर मित्रपार्क उत्रिएँ राति, यही पोहोरको सेसनमा हो। बाहिर पानी आएको थियो धुनधान, म त चावहिल आएँ भनेको मित्रपार्क नै उत्रिएछु। पानी आएको थियो बाटो खास्सै ख्याल गरेनछु, चावहिल आएँ कि भनेको त म चाहिँ उँदो गौशालातिर पो गएछु। अनि एकजना अर्घाखाँची हो कि धादिङ कताको साथी मोटरसाइकलमा आउँदै हुनुहुँदो रहेछ। उहाँले चिनिहाल्नु भयो। राति साढे आठ बजेको थियो, पानी आएको छ, हावाहुरी पनि चलेको।
उहाँले ‘ओ केसीजी, कता हो तपाईं?’ भनेर सोध्नु भयो।
म चाहिँ ‘चावहिलतिर जाने हो’ भनेँ। उहाँले ‘कहाँ चावहिल त उता हो नि, कहाँ तपाईं गौशालातिर हिँड्ने? यस्तो रातिमा’ भन्नु भयो।
अनि, ‘अहो! लौ गल्ती भयो’ भनेपछि उहाँले मोटरसाइकलमा गोपीकृष्ण हलनेर ल्याएर छोड्नु भयो। उहाँलाई चाहिँ विदेश जानेले एयरपोर्टबाट बोलाइरहेको थियो। उहाँ चाहिँ मेरो खातिर मात्रै गोपीकृष्ण आउनुभएको रहेछ। नत्र नआउने रहेछन्।
त्यहाँ पुगेर एउटा टेम्पोलाई सोधेँ। उसले तीन सय हो कि चार सय कति भन्यो। यहाँ आउन १० मिनेट पनि लाग्दैन।
अर्को पूर्वतिरको ट्याक्सीले ‘म लग्दिन्छु’ भनेर सुकेधारासम्म ल्याइदियो।
फेरि, उसको पनि विदेश जानेवालाले पहिलै बुक गरेको रहेछ। त्यो ट्याक्सी पनि फर्कियो।
म सुकेधारबाट यहाँ (एकताबस्ती) आउने ओम जनता बसमा आएँ।
बढ्दो उमेरले पनि होला उनी अहिले यसरी धेरैपटक झुक्किने गरेका छन्। कहिले कपन उत्रिनु पर्नेमा बिचबाटोमा नै उत्रिन्छन्। त कहिले केही पर।
तर, जति दुःख पाएपनि उनलाई त्यस्तो नराम्रो लाग्ने रहेनछ कि!
‘म त २०५६ सालदेखि यही टेम्पो माइक्रो, बसहरुमा चढ्दै आएको छु। सार्वजनिक गाडीमा मान्छेलाई कसरी गुन्द्रुकलाई जस्तरी खाँदिन्छ। कति दुःख दिइन्छ। ड्राइभरले कस्तो व्यवहार गर्छन। ट्राफिकले कस्तो बोल्छन्, त्यो त मैले सबै भोगेको छु’, केसी बोल्छन्, ‘यो त अरु जनताले जे भोगेका छन्, मैले पनि त्यही भोगेको त हो। अब म सांसद भएँ भन्दैमा छुट्टै मान्छे त होइन नि, जनताले जे भोगेका छन मैले पनि त्यही भोगेको छु।’
उनलाई लाग्दैन कि अरु नेताहरु गाडी चढेका छन् भन्दैमा म पनि चढ्नुपर्छ।
यसमा भने उनको एउटै तर्क छ, ‘अरु घोडामाथि चढ्छन भनेर आफू घरकाे धुरीमाथि चढ्ने कुरा त भएन नि। अब गाडी भएन सार्वजनिक बसमा, टेम्पोमा, पैदल हिँड्नु पर्यो भनेर मलाई दुःख लाग्दैन। किनभने लाखौं नेपाली जनताले पाएको दुःख मैले पाएको छु। म तिनीहरु भन्दा छुट्टै न केही होइन।’
हतार हुँदा केसीले पठाओका मोटरसाइकलहरू प्रयोग गर्छन। धेरै जस्तो टाढा–टाढा जाँदा आउँदा उनलाई पठाओको जरुरत पर्छ।
तर, पठाओ उनको लागि सबैभन्दा कठिन माध्यम हो।
अहिले पनि केसीको ढाड दुख्ने समस्या छ। त्यही भएर उनलाई पठाओमा मुस्किल हुन्छ।
‘पठाओमा पनि म एकदुई चोटी हिँडेँ। तर, ढाड दुखेर हिँड्न नै सकिनँ। हावाहुरी पानी नपरेको बेला पठाओमा पनि हुन्छ तर पठाओहरु अलि रन्काएर हिँड्छन् कहिलेकाहीँ खाल्डोमा पर्दा ढाड दुख्छ’, केसीले पठाओ अनुभव पनि सुनाए।
र त भन्छन्, ‘मलाई त पठाओभन्दा बस र टेम्पो नै ठिक लाग्छ।’
अनि, सधैं टेम्पोमा नै?
‘टेम्पो र माइक्रोमा कहिलेसम्म चढ्ने त?’
उनको जवाफ थियो, ‘गाडी न हुञ्जेलसम्म…।’
पार्टीमा गाडी किन्ने विषयमा बेला–बेलामा छलफल हुने रहेछ।
‘जस्तो भए पनि एउटा त गाडी चाहिने रहेछ!’ भन्ने कुरा पार्टीमा उठ्छ। तर, कार्यान्वयन हुँदैन।
‘म मात्र नभएर अरु साथीहरु पनि हुनुहुन्छ, उहाँहरुलाई पनि चाहिने छ। एउटा गाडी त किन्नपर्छ भनेर दुई चार लाख पैसा पनि जम्मा गरेको हो। तर, त्यो कार्यान्वयनमा आउन सकेन’, केसीले सुनाए।
तर, पनि केसीले फेरि मधुरो आवाजमा भने, ‘दुखै काटेर टेम्पोमा हिँडिरहनुपर्छ भन्ने पनि छैन। तैपनि हामीले विचार गरिरहेका छौं। जसो तसो पार्टीले गाडी लिन सक्यो भने त्यसलाई सदुपयोग गरौंला भन्ने चाहना छ। मतदाताकोमा पुगौंला भन्ने रहर छ।’
भिडियाे:
फाेटाे/भिडियाे: रविन भण्डारी