गृहमन्त्री लामिछानेको दबाबमा पोखरेल दुई दिने एआइजीमा सिफारिस

Break n Links
Break n Links

गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दुई दिनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बनाउँदैछ। मन्त्रालयले उनलाई दुई दिने एआइजी लागि सोमबार सिफारिस गरेको हो। 

हालका एआइजी उमेशराज जोशी उमेर हदका कारण यही असार २० गते अवकाश पाउँदैछन्।  त्यसपछि दुई दिने एआइजीका लागि पोखरेल सिफारिस भएका छन्। 

दुई दिने एआइजीपछि २२ गते रातिबाट पोखरेलले पनि उमेर हदका कारण अवकाश पाउनेछन्। प्रहरीमा एआइजी र डिआइजीको उमेर हद ५६ वर्ष हो। त्यसपछि अनिवार्य अवकाशमा जाने व्यवस्था छ। 

एकाध दिनकै लागि पोखरेललाई किन एआइजी बनाउन थालियो भन्ने प्रश्न उठेको छ। सुशासन र नैतिकताका ठुला कुरा गर्ने रवि लामिछाने गृह मन्त्री रहेको समयमा राज्यलाई आर्थिक व्ययभार पर्ने गरी पोखरेललाई जबरजस्ती एआइजी बनाउन लागिएको विषयले चर्चा पाएको छ। 

स्रोत लामिछानेको दबाबले पोखरेललाई दुई दिने एआइजी बनाउन सिफारिस गरिएको बताउँछ। यसअघि वसन्त लामालाई ३४ घन्टाका लागि एआइजी बनाउँदा पनि विरोध भएको थियो। 

त्यही विकृतिको निरन्तरतास्वरुप निकटकालाई विशिष्ट श्रेणी पदमा पुर्‍याउन लामिछानेले दबाब दिएको गृह स्रोत बताउँछ। स्रोतका अनुसार पोखरेल लामिछानेका वकिल सुशील पन्तका भान्जा पर्छन्। 

पोखरेललाई एआइजी बनाउन सल्लाह उनका अघोषित सल्लाहकार पूर्वएआइजी दिवेश लोहनीले दिएको बताइन्छ। लोहनी उनै हुन्, जसले लामालाई ३४ घन्टे एआइजी बनाउँदा विरोध गरेका थिए।

पोखरेल लोहनीका साँढुभाइ हुन्। दुई दिन बन्ने एआइजीले प्रहरी कार्यसम्पादनमा कुनै पनि खालको अनुभव र भूमिकामा सहयोग गर्न नसक्ने हुनाले यो पोखरेललाई विशुद्ध पदमा पुर्‍याउनकै लागि मात्रै हो। 

प्रहरी तथा निजामती प्रशासनमा विशिष्ठ श्रेणीको मूल्यांकन उच्च छ। अवकाशपछिको सेवा सुविधा तथा पदीय हैसियत बढ्ने भएकाले प्रहरीमा विशिष्ट श्रेणी पुग्न मरिहत्ते चल्ने गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखामा कार्यरत पोखरेल प्रहरी कार्यसम्पादनमा औषत मानिन्छन्।

बढुवा सिफारिस समितिको अध्यक्ष गृहसचिव एकनारायण अधिकारी र सदस्य सचिव रहेका प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुँवरले पोखरेललाई एआइजीका लागि सिफारिस गरेर सोमबार नै अमेरिका उडेका छन्। 

प्रकाशित मिति: : 2024-06-24 13:13:00

प्रतिकृया दिनुहोस्