‘सुमदरानी’लाई अर्को ‘निर्मला पन्त’ बनाउने बाटोमा सरकार

Break n Links
Break n Links

‘निर्मला पन्त’को नाममा सरकारले केके मात्र रेकर्ड बनाएन!

निर्मलाको न्यायका लागि आधा दर्जन त छानबिन समिति बने।सरकार, राष्ट्रिय मानव अधिकार आयोग, प्रहरीले छुट्टै–छुट्टै समिति बनाएर अनुसन्धान गरे। 

अनुसन्धान १२३ जनाको डिएनए परीक्षण, केही सयमाथि सोधपुछ र केहीलाई पक्राउ गर्ने र छाड्नेबाहेक माथि पुगेन। 

कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको ६ वर्ष भयो। उनको २०७५ साल साउन १० गते विद्यालयबाट घर फर्किएपछि साथीको घरमा होमवर्क (गृहकार्य) गर्न जाँदा बलात्कारपछि हत्या भएको थियो।

हत्या भएको अर्को दिन ११ गते बिहान घर नजिकै उखुबारीमा उनी मृत फेला परेकी थिइन्। 

हत्यापछि अनुसन्धानमा लागेको राज्यले निर्मलाले न्याय दिलाउन सकेको छैन।  

२०७५ पछि ठुला दलका सबै प्रधानमन्त्री भइसकेका छन्। मन्त्री नभएका त दल नै छैनन्।

निर्मलाको हत्या हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। त्यसपछि २०७८ सालमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए। र, अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छन्। 

तर निर्मलाले न्याय पाउने आशा निकै दूर भइसकेको छ।

रोचक त यो छ कि निर्मलाको हत्या हुँदा संचारकर्मी रहेका रवि लामिछाने २०७९ को आम निर्वाचनपछि दुई पटक उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनिसकेका छन्। याद रहोस उनी निर्मलाको हत्यारा पत्ता लाउन नसकेको भनेर सरकारको चर्को आलोचना गर्ने गर्थे। 

संयोग अहिले उनी सरकारमा छन्। र, उनले पहिलो पटक (११ पुस २०७९) पटक गृहमन्त्री हुँदा  निर्मलाको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय पनि गरेका थिए। त्यसपछि छानबिन समिति बन्यो र अनुसन्धान भयो। 

तर पनि निर्मलाको हत्यारा को हो? सरकारले पत्ता लाग्न सकेको छैन। 

निर्मलाको हत्यारा त पत्ता लगाउन सकेको छैन नै सरकार। निर्मला जस्तै हत्याको शिकार बनेकी बाँकेको कोहलपुर नगरपालिका– ६ रझेनाकी सुमदरानी थारूको पनि हत्यारा सरकारले पक्राउ गर्न सकेको छैन। 

उनको हत्या भएको वर्ष दिन भइसक्यो। २८ बैशाख २०८० मा उनको हत्या भएको थियो। नेपालगन्जको श्रद्धानगरस्थित डेरामा बसेर उनी कम्प्युटरसम्बन्धि पढ्दै आएकी थिइन्। डेरामा नै राती उनको हत्या भएको थियो।

त्यसपछि प्रहरीले पीडितको जाहेरी लिनेबाहेक अर्को कुनै काम गर्न सकेको छैन। 

बरु पीडितलाई थप पीडा हुने गरी बाँके प्रहरीले हत्यारालाई पक्राउ गर्न १०–१५ वर्ष लाग्ने जवाफ दिने गरेको छ। ‘छोरीको हत्यापछि बाँके प्रहरीमा उजुरी दियौँ। प्रहरीले हत्यारालाई पक्राउ गर्ला भनेर एक वर्ष पनि कुर्‍यौँ। तर एक वर्षसम्म प्रहरीले हत्यारालाई पक्राउ गर्न सकेको छैन’, काठमाडौँमा धर्नामा बसेकी सुमदरानीकी आमा ललिता थारुले भनिन्, ‘प्रहरीले हत्यारा लुकाएको छ। हामीलाई त प्रहरीले हत्यारा पक्राउ गर्न १०–१५ वर्ष लाग्ने भनेको छ।’  

सुमदरानीको घटना निर्मलाको जस्तो हत्यारा पत्ता नलागेको होइन। प्रहरीले उनको हत्यारा पत्ता लगाइसकेको छ। मात्र पक्राउ गर्न प्रहरीको असक्षमता देखिएको छ।

तस्बिर– मृतक सुमदरानी

सुमदरानीको हत्यारा बर्दियाको राजापुर नगरपालिका–८ बस्ने २६ वर्षीय शैलेन्द्र चौधरी (थारु) रहेको प्रहरीले भनिसकेको छ। तर उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। 

हत्यापछि सुमदरानीको कोठामा शैलेन्द्रको कपडा, चक्कु, पुस्तक भेटिएकाले पनि उनीनै हत्यारा भएको सुमदरानीको परिवार भन्छ। 

शैलेन्द्र पनि सुमदरानीको हत्यापछि भेटिएका छैनन्। उनको अन्तिम लोकेसन भारतमा देखाएको थियो। त्यसपछि उनी कहाँ गए? कता छन् भन्नेमा प्रहरीले अनुसन्धान गर्न सकेको छैन।

हत्यारा पत्ता लागेपनि पक्राउ नहुनुलाई सुमदरानीकी आमा ललिता प्रहरी नै लुकाउन लागेको आरोप लगाउँछिन्। ‘उसका (शैलेन्द्रका) आफन्त नेता छन् रे! म त चिन्दिन। त्यसैले पनि होला उ पक्राउ नपर्नु। प्रहरीलाई पैसा पनि पेल्यो (दिएको)होला’, ललिताले भनिन्। 

सुमदरानीको भाइ (निरेन) र शैलेन्द्र साथी हुन्। शैलेन्द्र सुमदरानीको कोठमा आउनेजाने गर्थे। परिवारकाअनुसार सुमदरानीलाई शैलेन्द्रले मन पराउँथे। बिहे गर्ने पनि कुरा गर्थे। तर सुमदरानी सबै कुरा अस्विकार गर्थिन्। 

सायद प्रेम अस्विकार गरेकाले कोठामा भाइ (निरेन) नभएको समयमा सुमदरानीको शैलेन्द्रले हत्या गरेको परिवारको आशंका छ।

सुमदरानीको चक्कु प्रहार गरी विभत्स तरिकाले हत्या भएको थियो। घाँटी रेटिएको थियो। पेटमा चक्कु रोपिएको थियो। 

परिवारकाअनुसार बैशाख ११ गते बिहान कोठामा शव फेला पर्दा सुमदरानी रगताम्य थिइन्। त्यसपछि अनुसन्धान गर्दा शैलेन्द्र हत्या गरी भागेको प्रहरी बताउँछ। 

छोरीको हत्या सिंहदरबारलाई सुनाउँदैछिन् ललिता

छोरीको हत्यापछि एक वर्षसम्म अनुसन्धानलाई पर्खेर बसेकी ललिता अहिले सिंहदरबार गुहार्दैछिन्। बाँके प्रहरीले हत्यारालाई उन्मुक्ति दिएको भन्दै उनी यही जेठ २४ गतेदेखि काठमाडौँको माइतीघरमा न्याय माग गर्दै धर्नारत छिन्। 

छोरीको हत्यारालाई पक्राउ नगरेसम्म धर्नामा बस्ने उनी बताउँछिन्। ‘त्यहाँ (बाँके)का प्रहरीले त हामीलाई न्याय दिन्न। अब माथिबाटै न्याय नपाएसम्म घर फर्किन्न’, उनी भन्छिन्।

छोरी सुमदरानीको हत्यारा शैलेन्द्रलाई जसरी पनि छिटो पक्राउ गर्नुपर्ने उनको माग छ। 

अनसनमा अधिकारकर्मी

सुमदरानीको हत्यारालाई छिटो पक्राउ गर्नुपर्ने माग गर्दै अधिकारकर्मी रुबी खान अनसनमा छिन्। उनी अनसनमा बसेको आज (असार ४ गते) १२ दिन भयो। अनसनमा बस्दा उनको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा उपचार भइरहेको छ। 

खानको अवस्था थप विग्रदै गएको अस्पतालले भनिसकेको छ। ‘आमरण अनसनको आज १२औँ दिन। न्यायप्राप्तिका लागि हाम्रो आन्दोलन जारी छ’, खानेले समाजिक सञ्जालमा जानकारी बनाएकी छिन्, ‘चेकअप गर्ने डाक्टरहरूले हिजोदेखि बिशेष सल्लाह दिनुभइरहेको छ की हात खट्टा हल्लाई राख्नुस, चलाई राख्नुस, हिड्ने कोशिस गर्नुस नभए ब्लड (रगत) जमेर पछि खुट्टा नचल्ने अवस्था हुन सक्छ।’

‘जेल भरौँ अभियान’ लिएर उनको नेतृत्वमा काठमाडौँमा आन्दोलन भइरहेको छ। सुमदरानी, निर्मला कुर्मीले न्याय पाउनुपर्ने र माहेलका तेलीको जाहेरी खारेज हुनुपर्ने आन्दोलनरतहरूको माग छ। 

तर काठमाडौँमा भएको आन्दोलनको १३ दिनसम्म सरकारको पहलकदमी प्रभावकारी छैन। आन्दलनमा रहेकालाई सरकारले घर फिर्तीका लागि चासो देखाएको छैन।

अस्पतालबाट अधिकारकर्मी खानले लेखेकी छिन्– ‘धन्यवाद सरकार तपाईको महिला मुद्दा र महिला सवालप्रतिको असंवेदनशिलता र निर्दयीतालाई।’

प्रकाशित मिति: : 2024-06-19 17:23:00

प्रतिकृया दिनुहोस्