जुठी (नाम परिवर्तन) को घर रुकुममा पर्छ। ७ जनाको परिवारसँगै उनी २०८० कार्तिक १७ गते राति मस्त निन्द्रामा थिइन्। एक्कासी हल्लायो। सबै निन्द्रा निन्द्रैमा ब्यूँझिए। श्रीमान छिमेकी घरमा थिए। उनी घरको माथिल्लो तलाको अगाडिको कोठामा थिइन्। पछाडिको कोठामा छोरा-बुहारी। जुठी उठेर बस्न नपाउँदै घरको पछाडिको भाग भत्कियो। घर बाहिर जान नपाउँदै घरको बाँकी सबै भाग भत्कियो।
बल्ल बल्ल बाहिर गइन्। उनकाे होस हराए जस्तो भयाे। आत्तिएर छटपटिँदै थिइन्। छिमेकीको घर नभत्किएकोले श्रीमान सकुशल आए।
छोराछोरी घरभित्रै माटो र ढुंगाले थिचिए। सहयोगका लागि छिमेकीहरु आउन थाले। परिवारका सदस्यको सास त होला भन्ने आशमा थिइन् तर उनीहरुलाई भूकम्पले लगिसकेछ। एउटै कोठामा सुतेका उनका छोरा-बुहारी र दुई नाति एकै ठाउँमा प्राणविहीन भेटिए।
रुकुम-जाजरकोटमा भूकम्पले घरको भित्ता मात्र च्यातिएन, धेरैको मन नै च्याति दियो। आफ्नै घरका चार सदस्य एकैछिनमा गुमेपछि जुठीको होस हरायो। कैयौँ दिन बेहोस अवस्थामा अस्पतालको शैयामै छटपटाइरहिन्।
‘दैवको लिला कसैले टार्न सकिँदो रहेनछ। ७० वर्षको मलाई नलगी किन उमेरका सन्तानलाई लग्यो? के पाप गरेकी रहेछु? मलाई बाँच्न मन छैन अब’, आज पनि ती पीडा ताजै छन् जुठीका मनमा।
विनाशकारी भूकम्पले घरबास, खानानाना, परिवार सबै सकिदियो। लामो समयसम्म रातिमा निद्रा अनि दिनमा भोक-प्यास सबै हराए। सन्तानको यादमा जंगल र भेरीको किनारामा धाउन थालिन्।
समय बित्दै जाँदा पनि होस सबै सन्तानतिरै थियो। त्यहीबेला कतैबाट गएका मनोविमर्शकर्ता भेटिन्छन। कुराकानी सुरु हुन्छ। तिमि एक्लो छैनौ तिम्रो साथमा हामी छौ भन्ने उदेश्यका साथ गएका मनोविमर्शकर्ताहरुले मानसिक स्वास्थ्यमा काम गर्छन। निरन्तर मनोविमर्शपछि जुठीलाई सहज हुन्छ। कडाखालको मानसिक समस्या बोकेर आत्महत्याको तयारी गरकी उनी सहज दैनिकीमा आउँछिन्।
कली (नाम परिवर्तन) को घर जाजरकोटमा छ। १५ वर्षको उमेरमा मागी विवाह भयो। घरमा कसरी राम्री र संस्कारी बुहारी बन्ने भन्ने चिन्तामा रातदिन पिरोल्थ्यो। सासू-ससुरा, श्रीमान गरी ४ जनाको परिवार। १७ वर्षको उमेरमा बच्चा जन्मियो। अहिले ३७ वर्षकी उनीसँग २ वटा बच्चा छन्। हरेक दिन हातपाखुरा चलाए पनि बल्लतल्ल ८ महिना मात्र खाना पुग्ने। खानै नपुगे पनि मन आनन्द हुँदा जसरी पनि खुसी थियो। उनीहरूले केही वर्ष खुसीमै बिताए। तर त्यो खुसी धेरै दिन टिकेन।
पैसा कमाउनका भारत गएका श्रीमान बेपत्ता भएसँगै कलीका खुसी पनि हराउँदै गए। उता गएको केही समयसम्म सम्पर्कमा रहेका उनी आएनन्। कयौँ रातदिन तड्पाइमा बित्यो। एकदिन भारत बस्ने छिमेकी दाइले श्रीमानले अर्की बिहे गरेको जानकारी गराएपछि उनी छाँगाबाट खसेझैँ भइन्। तर विश्वास लागेन।
‘श्रीमान मेरो लागि पैसा कमाउन गएको कसरी यस्तो गर्न सक्नुहुन्छ?’ रातदिन मनमा अनेकौँ कुराले बास गर्यो। छोराको पढाइ, बिहान बेलुका खानाको जोहो र श्रीमानले नहेरेपछि परिवारको अपहेलना खेपाइ सहनै गाह्रो हुन थाल्यो।
कलीको मनले बाटो मोड्छ। बाँच्नु भन्दा मर्न पाए हुन्थ्यो जस्तो लाग्न थाल्छ। आत्महत्याका धेरै प्रयासहरू गरिन् तर सन्तानको मायाले रोक्यो। एकदिन बच्चाको माया नि हराएछ क्यारे! डोरी लिएर रुखमा झुण्डिँदै लाग्दा छिमेकी दिदीले देखेर हल्लीखल्ली गरिन्। छिमेकीले घाइते शरीर उपचार गर्नका लागि सदरमुकाम लगे।
उपचारसँगै मनोविमर्श सेवा पनि लिएपछि मरेर हैन बाँचेर केही गर्नुपर्छ भन्ने सोच आएको छ। विगत भुलेकी कली मुसुक्क हाँस्दै भन्छिन्, ‘समयमा छिमेकी दिदीले नभेटेको भए झुण्डेर मर्थेँ होला।’
यी माथिका घटना प्रतिनिधि पात्र मात्र हुन्। नेपालमा यस्ता घटनाले तीव्र गति लिएको पाइन्छ। अहिले पछिल्लो अवस्थामा सरकारीसँगै केही गैरसरकारी संघसंस्थाहरूले मानसिक स्वास्थ्यका सवाल उठान गर्न थालेका छन्। नेपाल महिला सामुदायिक सेवा केन्द्रले रोल्पा, रुकुम, दाङ, जाजरकोट जस्ता जिल्लाहरूमा मानसिक स्वास्थ्यमा काम सुरुवात गरेको छ।
आमरूपमा समस्याका रूपमा नलिइने यो समस्या विकराल बन्दै गइरहेको भन्दै मानसिक स्वास्थ्यमा काम गर्नेहरूले चिन्ता र चासो दिन थाले पनि सरकारी तवरबाट भने चासो दिने गरेको पाइँदैन। विभिन्न समयमा हुने मानवीय तथा प्राकृतिक प्रकोप, लैंगिक हिंसा, बालविवाह, लागुपदार्थ दुर्व्यसनी, विपन्नताका कारण देखिने मानसिक समस्या कोरोना त्रास जस्तै बढ्दो गतिमा गएको देखिन्छ।
केन्द्र सरकारले यदाकदा मानसिक स्वास्थ्यका बारेमा न्यून चासो दिने गरेको देखिए पनि प्रदेश सरकार र स्थानीय तहहरू यो विषयमा अनभिज्ञजस्तै छन्। मानसिक स्वास्थ्यलाई समस्याका रूपमा नलिने गरेका कारण पनि समस्या ओझेल परेको हो। विभिन्न सरकारी निकायहरू संवेदनशील नबनिदिएका कारण स्वास्थ्यका जटिल समस्याहरु जहिले लुक्ने गर्छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य एउटा अवस्था हो। जसमा व्यक्तिले आफूसँग भएको सामर्थ्यलाई महसुस गर्ने, जीवनमा आइपर्ने सामान्य तनावलाई सामना गर्न सक्ने, उत्पादनशील काम गर्न सक्ने, आफ्नो क्षमताअनुसार परिवार र समाजका लागि योगदान गर्न सक्ने हुन्छन्।
मानसिक स्वास्थ्यले संवेगात्मक, मनोवैज्ञानिक र सामाजिक सु-स्वास्थ्यलाई समेटेको हुन्छ। यसले व्यक्तिले कस्तो सोच्छ, महसुस गर्छ र क्रियाकलाप गर्दछ भन्ने कुरालाई प्रभाव पार्दछ। त्यसैले मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो सोचाइ, भावना र व्यवहारलाई समाजमा सबैले मान्य हुने ढंगले प्रकट गर्दछन्।
मन र समाजबीचको तालमेल मिलेको अवस्थामा व्यक्तिमा कुनै समस्या हुँदैन। यसलाई मनोसामाजिक सुस्वास्थ्य भनिन्छ। तर एउटा व्यक्ति समाजमा बसेको र हुर्केको हन्छ, ऊसँग त्यस समाजप्रतिको संस्कार, परम्परा, धर्म, आपसी सम्बन्ध हुन्छ भने त्यसको साथसाथै उसको व्यक्तिगत भावना, विचार, धारणा, बुझाइ आदि पनि हुन्छ। यी दुईबीचको सम्बन्ध नै मनोसामाजिक हो र यी दुईबीच सन्तुलन हुन सकेन भने मनोसामाजिक समस्या उत्पन्न हुनसक्छ।
मानसिक तनावका कारण मानिसलाई थुप्रै मनोसामाजिक समस्या हुन सक्छन्। डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअडर, छटपटीको समस्यासँगै निन्द्राको समस्यासमेत हुन्छ। तनावका समयमा मानिसहरूले लागुपदार्थसमेत प्रयोग गर्छन्। मानिसहरूलाई दिक्क लाग्ने, नरमाइलो लाग्ने, निराशा हुने, छटपटी हुने, अत्यास लाग्ने, ढुकढुकी बढ्ने हुन्छ। हातखुट्टा झमझमाउने, पोल्ने, कहिले यता कहिले यता दुखेजस्तो लाग्ने हुन्छ। यस्तो बेलामा जचाउन गयो रिपोर्टमा केही पनि आउँदैन, यो सबै तनावका कारणले हुन्छ।
मानसिक तनावबाट बच्ने उपायहरू
मानसिक तनावबाट बच्न, शारीरिक रूपमा स्वस्थ राख्न हामी व्यायाम गरेजस्तै मन स्वस्थ राख्नका लागि पनि काम गर्नुपर्छ। आफ्नो विचारलाई कसरी स्वस्थ राख्ने? मेरो विचार कतातिर गइरहेको छ? म आज कस्तो छु? मेरो सोचाइ कस्तो छ? म स्वस्थ्य छु कि छैन? आज म खुसी छु कि छैन? अलि तनाव पो छु कि? यस्ता कुरा बेलाबेलामा याद गर्नुपर्छ।
मेरो तनाव कस्तो खालको हो? मेरो पारीवारिक हो कि व्यावसायिक हो? कि या जागीरको पो हो कि? यसलाई पत्ता लगाउनुपर्छ। यस्ता कुराको साथै निन्द्राको व्यवस्थापन अनि खानाको व्यवस्थापन गर्न जरुरी छ।
आफू र परिवारलाई बेलाबेलामा मनोरञ्जन दिन आवश्यक छ। आफूले आफूलाई स्वस्थ र बलियो बनाउन मैले कुनै रमाइलो र खुसी हुने काम गरेको छु कि छैन भनेर आफूले आफूलाई जाँच्नुपर्छ। आधुनिकताले गर्दा व्यक्तिवादी चिन्तन हावी भएको छ। दिनरात काम गर्ने गर्नाले एकदिन पनि मानिसलाई फुर्सद छैन। रातिमा काम गर्नेलाई अझ बढी तनाव हुनसक्छ।
बेलाबेलामा साथीभाइ, आफन्तसँग घुम्ने, रमाइलो गर्ने गर्नुपर्दछ। बिदाको दिनमा आफ्नो कामको तनाव लिनु हुँदैन। आफ्नो विचारलाई बेलाबेलामा जाँच गर्नुपर्दछ। यस्ता समस्या देखिए भने मनोविमर्शकर्ता कहाँ जानुपर्छ र त्यहाँबाट समस्या समाधान हुन नसकेमा मानसिक रोग विशेषज्ञहरूसँग सल्लाह लिनुपर्छ।
नेपालमा मानसिक समस्या भन्नासाथ एउटै कुरा बुझ्ने गर्छौं, त्यो हो पागलपन। जबसम्म व्यक्ति र समाज यो समस्याबाट उठ्न सक्दैन, तबसम्म यो समस्या रहिरन्छ। अहिले पनि मानसिक स्वास्थ्यलाई समस्याको रूपमा हेरिएको अवस्था छैन। मानसिक समस्यालाई लाज र घृणाको संज्ञा दिइरहेको छ। यसले समस्यामा परेको व्यक्तिले झन् समस्या भोग्नुपरेको छ भने समाजले पनि कतै न कतै पीडाबोध गरेको हुन्छ। सबैभन्दा पहिले त मानसिक समस्याप्रति कोही कतै पनि संवेदनशील नभएको पाइन्छ। यसले यो समस्यालाई झनै मौलाएको देखिन्छ।
आत्महत्या रोकथामका लागि थप प्रयासहरुको आवश्यकता
नेपालमा आत्महत्या रोकथामका लागि थुप्रै प्रयासहरु भएका छन्। केही हदसम्म ती प्रयासहरु सफल भएका होलान् र छन् पनि। तर राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको तीतो यथार्थ माथि उल्लेखित तथ्यांकले छर्लङ्ग पारिदिएको छ। यो तथ्यांकले आत्महत्या रोकथामका लागि थप प्रयासहरू आवश्यक रहेको तथ्यलाई पुष्टि गरेको छ।
आत्महत्याका पछाडि अनेकौँ सामाजिक, सांस्कृतिक, वातावरणीय, आर्थिक, मनोवैज्ञानिक र जैविक कारणहरू हुने गर्दछन्। यी कारणहरुको रोकथाम एउटै व्यक्ति, संस्था वा निकायबाट सम्भव छैन। यसका लागि बहुआयामिक, बहुपक्षीय र बहुसहभागीतात्मक दृष्टिकोणबाट हेरिनुपर्छ। आत्महत्या रोकथामका लागि हरेक व्यक्ति, परिवार, समुदाय, संस्था र सरकार उत्तिकै जिम्मेवार छन्।
व्यक्तिको दैनिक जीवनयापन, पारिवारिक सद्भाव, समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था र राज्यले अवलम्बन गर्ने नीति, नियम र राज्यको शासन व्यवस्था कुनै न कुनै रुपमा आत्महत्याका लागि जिम्मेवार र उत्तरदायी छन्। त्यसकारण आत्महत्या रोकथामका लागि व्यक्ति, परिवार, समुदाय, संस्था र सरकारले आ–आफ्नो तहबाट भूमिका निर्वाह गर्नु आवश्यक छ।
विशेषगरी सरकारका तर्फबाट मानसिक स्वास्थ्यको यो कहालिलाग्दो अवस्थालाई ध्यानमा राख्दै समुदाय र लक्षित समूह केन्द्रित मानसिक स्वास्थ्य प्रवर्द्धन र प्रभावकारी आत्महत्या रोकथाम कार्यक्रम कार्यान्वयन गर्न अति आवश्यक छ।
समस्या सबैका आ-आफ्ना हुन्छन्। सुगमका मानसिक समस्या आफ्नै प्रकारका छन् भने दुर्गमका आफ्नै। सबै भएर पनि मन खुसी नहुने र केही नहुँदा दुख्ने मनहरू पलपल तनावमा रहन्छन्। परिवार र समाजले मानसिक समस्या बोकेर बसेकालाई हेर्ने दृष्टिकोण गतिलो हुन नसक्नु सबैभन्दा जटिल समस्या हो।
पढेलेखेका भनिएकाहरू पनि मानसिक समस्याका विषयमा गतिलो धारणा बनाउन चाहन्नन्। तीन तहको सरकार, जिल्ला जिल्लामा रहेका अस्पताल र स्वास्थ्य कार्यालय अनि टोलटोलमा रहेका स्वास्थ्य केन्द्र कसैले पनि मानसिक स्वास्थ्यमा गहन छलफलसम्म गर्न चाहँदैनन्।
अस्पताल, स्वास्थ्य संस्थामा मनोचिकित्सक र मनोविमर्शकर्ता नहुनु ठुलो समस्या छ। मानसिक समस्या बोकेर आउनेहरूलाई मनोविमर्शको जरुरी हुन्छ तर सेवा उपलब्धता नहुँदा सकस पर्ने गर्दछ। कम्तिमा पनि स्थानीय तहहरुले आफ्ना पालिकामा मनोविमर्शकर्ताको व्यवस्थासँगै मानसिक स्वास्थ्यका बारेमा थोरै मात्र सकारात्मक भूमिका खेलिदिए धेरै हुने जानकारहरु बताउँछन्। हरेक दिन व्यक्तिको खुसी लुटिरहेको यो समस्याका बारेमा सबैले बेलैमा ध्यान दिन जरुरी छ।
(लेखक नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख हुन्।)