बालेनले खन्दाखन्दै सडक विभागले पुरिदियो (भिडियाेसहित)

Break n Links
Break n Links

काठमाडौं महानगरले फुटपाथ विस्तारका लागि भन्दै काटेको न्युरोड सडक डिभिजन कार्यालयले टालेको छ। 

दुई दिनको अल्टिमेट दिँदा समेत महानगरले सडक नबनाएपछि डिभिजन कार्यालयले सोमबार बिहानदेखि भत्काइएकाे सडकमा कालाेपत्रे गरेकाे हाे। 

काठमाडौं महानगरलाई पटक–पटक पत्र पठाउँदा पनि न्युरोड सडकको पुनःर्स्थापना नगरेपछि आफूहरू नै सडक बनाएकाे डिभिजन कार्यालयमा प्रवक्ता प्रमोद खतिवडाले बताए। 

उनका अनुसार सर्वसाधारणलाई हिड्नमा सहज होस् भन्ने उद्देश्यका साथ महानगरले भत्काएको सडकमा ‘पिच’ गरिएकाे हाे। 

‘महानगरले सडक भत्काएर लथालिङ बनाएपछि हामीले सडक टालेका हौं। महानगरले दायित्व भुल्यो भन्दैमा हामीले जनतालाई दुख दिनु हुँदैन’, बिएल नेपाली सेवालाई उनले भने, ‘सर्वसाधारणलाई हिडँडुल गर्न सजिलो होस् भनेर महानगरले बिगारेको सडक बनाएका हौं।’

सडक विभागले पठाएको पत्रको वेवास्ता गरेको महानगरलाई कानुनबमोजिम कारबाही हुने उनले बताए। र, न्युरोड सडक बनाउँदा लागेको रकमको बिल पनि महानगरलाई पठाउने प्रवक्ता खतिवडाको भनाइ छ। 

 ‘कानुनले तोकेअनुसारको कारबाही अवशय नै हुन्छ तर पहिले सडक बनोस्। त्यसपछि सडकमा लागेको खर्चको पनि महानगरले व्यर्होनुपर्छ’, उनले भने, ‘हामी बिल पठाउँछौं।’

सोमबार बिहानको सात बजेदेखि सडक विभागले फुटपाथ विस्तारका लागि भन्दै महानगरले भत्काएको सडक टाल्न सुरु गरेको थियो। 

आफूहरूले गरिरहेको काममा हस्तक्षेप गरेको भन्दै बालेन शाहले सामाजिक सञ्जालमा आक्रोश समेत पोखेका छन्। 

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम तोकेरै ‘१० हजार करोडको काण्ड’ लुकाउन महानगरले फुटपाथ विस्तार गर्न काटेको न्युरोड सडकमा हस्तक्षेप गरेकाे आरोप लगाएका छन्। 

महानगरले फुटपाथ बढाउन काटेकाे न्युरोड सडक विभागले टाल्न थालेपछि जंगिएका बालेनले लेखेका छन्,‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू!’

महानगरले भत्काएको न्युरोड सडकका कारण स्थानीयहरू मेयर बालेनकाे विराेधमा उत्रिएका छन्। 

इतिहास बाेकेकाे न्युराेड सडक साँघुराे बनाउन खाेजेकाे कारण आफूहरू काेध्रित भएकाे स्थानीय सराेज बताउँछन्। उनका अनुसार न्युराेड सडकलाई मास्नुकाे सुट्टा संरक्षण गर्नुपर्छ। 

मेयर बालेनले मुख्य सडकलाई खुम्चाउँदा न्युराेड क्षेत्रका स्थानीयबासीहरूलाई  समस्या हुने उनले बताए।

‘सडक सानो हुँदा हामीलाई समस्या पर्ने देखियो। त्यसैले हामीले विरोध गरेका हौं’, मेयर बालेनलाई उनी अनुरोध गर्छन्, ‘तपाईंको राम्रो कामलाई हामी सधैं समर्थन गर्छौं तर नराम्रो र कानुन मिच्ने कामको हामी ३२ वडाकै स्थानीयले विरोध गर्नेछौं।’ 

याे पनि...

प्रकाशित मिति: : 2024-06-03 18:15:00

प्रतिकृया दिनुहोस्