‘ठुल्कान्छा’को बाँसुरी धुन (भिडियो)

हेमन्त विवश

काठमाडौं

झोलाभरि बाँसुरी र दुइटा सनई बोकेर एकाबिहानै घरबाट निस्किन्छन् बाँसुरी तथा सनई वादक धनबहादुर गुरुङ। दिनभरि विभिन्न रेकर्डिङ स्टुडियोमा पुगी बाजा बजाउँदा बजाउँदै दिन ढल्किसकेको हुन्छ। उसो त क्रमैसँग जिन्दगीका दिनहरु पनि त ढल्किरहेकै हुन्छन्।

जुनसुकै पेशा अपनाए पनि, जहाँसुकै पुगे पनि समय सँगसँगै बितिरहेका हुन्छन् जिन्दगीका पलहरु पनि। धनबहादुरले भने आफ्ना जिन्दगीका हरेक दिनहरुलाई सिर्जना र साधनामा व्यतित गरिरहेकै छन्। प्रायजसो उनी घर पुग्दा राति भइसकेको हुन्छ। बिहानै निस्केर राति घर फर्किनु उनको नित्य-कर्म नै बनिसकेको छ।

आजभन्दा चार दशकअघि गोर्खाको हर्बिसिरानचौर, कैचनपानीमा जन्मिएका शालिन र मिजासिलो स्वभावका भाग्यवादमा विश्वास गर्ने उनी बताउँछन्, ‘त्यतिखेर प्रायजसो ब्रिटिस सेनामा भर्ना हुने लहर थियो। सेनाको जागिर खान पहिले रनिङ नै हेर्ने गरिन्थ्यो। वीरेन्द्र शिल्डमा १५ सय मिटरको दौड तीन मिनेट १५ सेकेन्डमै पार गरी ६८ जनालाई डेढ फन्को पछि पार्न सफल भएको थिएँ। हृष्टपुष्ट ज्यान छँदै थियो। म सजिलै छनौट हुन सक्थेँ स्वदेशी तथा विदेशी सेनामा। तर त्यतातिर जाने सोच नै भएन।’

गाउँमा छँदादेखि नै लोकभाका गुनगुनाउँदै जानीनजानी बाँसुरी फुक्न थालेका उनको बाँसुरी मोह देखेरै हुनुपर्छ उनका दाइ रेशम गुरुङले उनलाई काठमाडौँ ल्याए। गोर्खा आँपपीपलमा रहेको जनता माविबाट ५ कक्षा उत्तीर्ण गरेका उनी प्रभात मावि ग्वार्कोमा भर्ना भए। त्यतैबाट एसएलसी उत्तीर्ण गरे।

त्यसपछिका दिनमा तिनै दाइले समयखेर नजाओस् भन्ने हेतुले उनलाई एकातिर सितारो कराते ज्वाइन गराए भने अर्कोतिर कलानिधि पाठशालामा बाँसुरी सिक्न लगाए। उनी त्यो पल सम्झिन्छन्, ‘दाइले बाटो देखाइदिनुभयो। यो गर, त्यो गर भनेर दबाब कहिल्यै दिनुभएन्। घरपरिवारबाट पूर्णरुपमा स्वतन्त्रता पाएको थिएँ।’

दुइटै गोरेटामा सँगसँगै बढिरहे पाइलाहरु। सितारो करातेमा ब्राउनबेल्ट पाइसकेका उनले चटक्कै छोडिदिए त्यो क्षेत्र। त्यसपछिका दिनमा जीवनको सारथी बन्न पुग्यो त्यही बाँसुरी। कलानिधि संगीत पाठशालामा बाँसुरी सिकाउने उनका गुरु थिए, जीवन आले। संघर्षको गोरेटामा निरन्तर एकनाशले यात्रारत रहे उनी।

घरमा उनले बाँसुरी फुक्दा प्रायजसो सुनिरहन्थिन् आमा श्रीमायाले। आमाप्रतिको अगाध आदर र माया थियो उनभित्र। त्यसताका दाइ बीएण्डबी अस्पतालमा जागिरे थिए। घरको माहोल राम्रै थियो। यही बीचमा आमालाई दमको व्यथाले च्याप्दै गयो। २०६१ सालमा आमाले धर्ती छोडिन्। आमालाई सम्झेर उनी भन्छन्, ‘जान त एकदिन सबैले जानैपर्छ। तर, आमाले मेरो कमाइ खानै नपाई जानुभयो। त्यो कुराले बेलाबखत दुखाउँछ। अचेल बाजा बजाउँदा कुनै गीतमा आमा भन्ने शब्द सुनिदा मात्र पनि भावुक बनिदिन्छ मन।’

बाँसुरी बजाउन सिक्दै जाँदा विस्तारै स्टुडियोमा बजाउने अवसर पनि मिल्दै गयो। साधनामा तल्लीन हुँदै गए। यति मात्रले चित्त बुझाउन सकेनन् उनले, अनि बीचबीचमा समय निकालेर पुग्न थाले मुम्बई। जहाँ उनले गुरु हरिप्रसाद चौरसियासँग नोटेसन सिक्ने अवसर पाए। इलाहावाद विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेका उनी नेपालमा एक मात्र सनई वादकमा पर्दछन्।

दश वर्षजति जेम्स स्कुलमा संगीत शिक्षक बनी काम गरे। त्यहाँ पनि उनले विद्यार्थीहरुलाई सिकाउने भनेकै बाँसुरी थियो। १५ वर्ष नाद पाठशालामा सिकाए। माइती नेपाललगायत थुप्रै संस्थामा बाँसुरी सिकाएका उनी हाल कलानिधि संगीत पाठशालामा बाँसुरी सिकाउँछन्।

संगीतको गोरेटोमा यात्रारत रहेदेखि जीवनमा छुट्टै आनन्दको अनुभूति भइरहेको महसुस गर्दै उनी बताउँछन्, ‘यो क्षेत्रमा निकै आनन्द आइरहेको छ। बाटो दोबाेटोमा भेटिएकै हुन्छन् आफूले सिकाएका चेलाहरु। चार महिना लण्डनमा बस्दा प्रायजसो शिष्यहरुले नै घुमाए। आफ्नो बोनाए। साधना गर्दा होस् वा कुनै कार्यक्रममा बजाउँदा नै किन नहोस् आनन्दको महसुस भइरहेको हुन्छ।’

संगीतको शक्ति गज्जबको छ। संगीतले मान्छेको जीवनमा परिवर्तन ल्याइरहेको हुन्छ। उनमा पनि संगीतमा लागेदेखि थुप्रै परिवर्तन आएका छन्। उनी सम्झिन्छन्, ‘विगतमा मार हान्न कस्सिन्थेँ। संगीत सिक्न थालेदेखि मार हान्नुको त कुरै छोडौँ मार हाने ठाउँ नजिकै जाँदिनँ। घरमा पनि खसी, कुखुरा काट्न थाल्दा म त्यो ठाउँबाट भागिहाल्छु। त्यो दृश्य हेर्नै सक्दिनँ। कहिलेकाहीँ रिस उठ्दा त्यसलाई पनि नियन्त्रणमा ल्याउन सहज भूमिका निर्वाह गरिदिएको छ, संगीतले नै।’

उनलाई खानेकुरामा यही भन्ने हुँदैन। भोक लागेको बेला खाने कुरा पाए पुग्यो। जे हुँदा नि हुन्छ। कहिलेकाहीँ घुम्न मन लाग्छ, पेशाले खासै समय निकाल्न गाह्रो भैदिन्छ। तथापि कार्यक्रमका लागि देश, विदेशका विभिन्न ठाउँमा पुगेकै हुन्छन्। गोर्खा जिल्लामै पेशागत हिसाबले बाँसुरी बजाउने उनी एकजना मात्रै छन्।

पछिल्लो समय उनी सनई वादकका रुपमा पनि चिनिएका छन्। देशभरिमै पेशागत हिसाबले अर्थात् गीत रेकर्डिङको क्रममा शास्त्रीय संगीतमा सनई बजाउने उनी मात्रै छन्। जुन उनले १२ वर्षअघि भारतमा गई सिकेका थिए। उनी त्यो पल सम्झिन्छन्, ‘गुरुले नेपाल आएको बेला बाँसुरी बजाइसकेपछि सनई झिकेर बजाउन थाल्नुभयो। म त्यो दृश्य हेरिरहेको थिएँ। अनि म पनि सिक्छु यो बाजा बजाउन भन्ने लाग्यो र बेलाबखत भारत गई सिक्न थालेँ।अनि विस्तारै स्टुडियोतिर बजाउन थालियो। दुई/चार पैसा कमाइ पनि हुन थाल्यो।’

२०६४ सालमा सनातन धर्म समितिले शास्त्रीय संगीतका थुप्रै वाद्यवादकहरुका बीचमा काठमाडौँमा प्रतियोगिता गरायो। जहाँ थुप्रै क्लासिकल बाजा बजाउनेहरुकाबीच उनले बजाएको बाँसुरीले निर्णायकको मन तान्यो। उनी त्यस प्रतियोगितामा प्रथम हुन सफल भए। जसले हौसला थप्नुका साथै चिनिने मौका पनि पाए।

संगीतमा साधनारत उनकाे रीता गुरुङसँगको प्रेम पनि एक प्रकारको साधनाजस्तै बन्न पुग्यो। दश वर्षसम्म प्रेम गरे। दश वर्षपछि मात्रै उक्त प्रेम विवाहमा परिणत हुन गयो। अहिले पनि उस्तै प्रेमिल सम्बन्ध छ दुईजनाका बीचमा।

६ जना दाजुभाइमध्येमा उनी पाँचौँ नम्बरमा पर्दछन्। गाउँघरमा सबैले ‘ठुलो कान्छा’ भनेर चिन्छन् उनलाई। गाउँ गाउँ नै हो। गाउँको जस्तो आत्मीयता र आनन्द सहर नभेटिने भन्दै उनी भन्छन्, ‘हरेक वर्ष दसैंको बेला ६ जना दाइभाइलगायत परिवारका सबै सदस्य गाउँमा पुग्छौँ। उतै रमाइलो गर्छौँ। सबै भाइ छुट्टाछुट्टै बसेका छौँ, तथापि पैतृक सम्पत्तिमा भागबन्डा लगाएका छैनौँ। परिवरमा आफूभन्दा ठूलाले भनेको मान्ने र आदर गर्ने चलन छ। हाम्रो परिवारलाई गाउँमा एक उदाहरणको रुपमा हेरिन्छ।’

उनले बाँसुरी र सनई बजाएका थुप्रै गीतहरु चर्चित छन्। सधन चापागाईंको ‘देखेर तिमीलाई’ होस् वा चलचित्र ‘छक्का पन्जा’को ‘सिरुपाते जुँगा’ बोलको गीतमा होस्, उनले नै बजाएका थिए सनई। कहिलेकाहीँ दिनमै १२-१५ वटा गीतमा बाजा बजाएका छन् उनले। दुई/चार वटा गीतमा दिनहुँ बजाएकै हुन्छन्। कमाइ पनि राम्रै छ। उनी यो क्षेत्रमा आउन पाएकोमा प्रसन्न देखिन्छन्।

जिन्दगीको कुरा गर्दा उनी भन्छन्, ‘जिन्दगीलाई मान्छेले कसरी लिने भन्ने कुरा हो। हामीले आफूसँग जे छ, त्यसैमा रमाउन सिक्नु पर्दछ। आखिर जिन्दगी भन्नु एउटा खेलौना न हो। परिस्थितिले जुन भूमिका दिन्छ, त्यही निर्वाह गर्नुपर्छ। हाम्रो जीवन नै परिस्थितिको खेलौना हो।’

प्रकाशित मिति: : 2024-04-17 19:00:00

प्रतिकृया दिनुहोस्