रोल्पाको भागमा मन्त्रालय नै मन्त्रालय: चुनाव जितेका तीनै जना मन्त्री

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिएसँगै रोल्पाका तीन नेताले संघ र प्रदेशमा नेतृत्व पाएका छन्।

मुख्यमन्त्री महराले दीपेन्द्रकुमार पुन ‘सिजल’लाई विनाविभागीय मन्त्री नियुक्त गरेपछि प्रदेशमा दुई र संघमा एक जनाले मन्त्रालयको नेतृत्व गर्ने मौका पाएका हुन्।

लुम्बिनीमा मुख्यमन्त्री महराले नियुक्त गरेका विनाविभागीय मन्त्री सिजल पनि रोल्पाकै हुन्। उनी २०७९को निर्वाचनमा प्रदेशसभा ‘ख’बाट निर्वाचित भएका थिए।

निर्वाचनको समयमा माओवादी केन्द्र र काँग्रेसबीचको गठबन्धनको कारण टिकट नपाएका सिजलले बागी उम्मेदवारी दिएर चुनाव जितेका थिए। त्यतिबेला उनले पार्टीभित्र बिद्रोह गरेका थिए। निर्वाचन सकिएको महिना दिनमै सिजल आत्मालोचनासहित उनी माओवादी फर्किएका थिए।

रोल्पा घर भएका वर्षमान पुन ‘अनन्त’ यसअघि नै संघीय सरकारको अर्थमन्त्री भइसकेका छन्। उनी गत फागुन तेस्रो साता पुनः अर्थमन्त्री नियुक्त भएका थिए।

अर्थमन्त्री पुन र लुम्बिनीका मन्त्री सिजल छिमेकी हुन्। माडीचौरस्थित उनीहरूको घर करिब १५ मिनेटको दूरीमा पर्छ।

पछिल्लो समय रोल्पाबाट सत्तामा पुग्ने नेताहरूको संख्या बढेको छ। तर, जनतामा भने माओवादीप्रतिको आकर्षण क्रमशः घट्दै गएको पाइन्छ।

प्रकाशित मिति: : 2024-04-08 19:30:00

प्रतिकृया दिनुहोस्