डोटीमा फेरि माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले आदर्श गाउँपालिका–२ का ६० वर्षीया भागादेवी ओझाको नयाँ वर्षमा घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको बताए।
ओझासँगै ढिस्कोमा पुरिएका ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको छ। खड्काको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।
शनिबार मात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ का २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो। रोस्यारासँगै माटो लिन गएका अन्य तीन महिलालाई उद्धार गरिएको थियो।
स्थानीयवासी नयाँ वर्ष नजिकिएसँगै घर लिपपोतका लागि रातो तथा कमेरो माटो बढी मात्रामा प्रयोग गर्दछन्।