प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेकाे छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले सहकारी ठगी प्रकरणमा गृहमन्त्री मुछिएकाे भन्दै उच्च नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए।
‘म आग्रह गर्न चाहन्छु मेरा माननीय मित्र गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्न’, उनले भने।
सांसद पौडेलले रास्वपा सभापतिसमेत रहेका लामिछानेलाई गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेका छन्।
उनले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएर कस्तो अनुसन्धान हुने भन्दै प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गरे।
‘आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुन हुँदैनथ्यो। प्रधानमन्त्रीज्युले प्रश्न भएको मान्छेलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो। अनुसन्धानकाे घेराभित्र रहेका व्यक्ति सरकारकाे मुख्य पदमा रहँदा सहकारी पीडितहरूको माग कसरी पूरा हुन्छ? उहाँ प्रश्न गर्ने पेसाबाट आउनुभएको हो, त्यसैले प्रश्नलाई निषेध गर्न मिल्दैन। उठेका सवालको जवाफ दिनुपर्छ। प्रधानमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले यो प्रश्न उठाइरहनेछ’, पौडेलले भने
प्रधानमन्त्री प्रचण्डको सुशासनको नीतिप्रति आशंका गर्दै उनले जुन निकायले छानबिन गर्नुपर्ने त्यही निकायको नेतृत्व आरोपीलाई दिनु अनुचित हुने बताए।