सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले सुन तस्करीमा महराकाे संलग्नता देखिएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको हो।
इलेक्ट्रिक चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा महराको संलग्नता देखिएको आयोगको ठहर छ। यसअघि सुन प्रकरणमा आयोगले महरासँग बयानसमेत लिएको थियाे।
जाँचबुझ आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएकाे थियाे। उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीसम्बन्धी आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए।
प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ। उनले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गरेका छन्।