फागुन २१ गते राति सवा १० बजेतिर पथरी-शनिश्चरे नगरपालिका- ७ लामाटोलकी १५ वर्षीया ज्ञानमति थुलुङ ‘ट्वाइलेट’ जान घर बाहिर निस्किएकी थिइन्। उनी ‘ट्वाइलेट’ ढाेक्कैनेर के पुगेकी थिइन्, एक पुरुषले उनलाई छपाछप खुकुरीले हाने।
ज्ञानमति ठाउँकाे ठाउँ ढलिन्। छिनभरमै प्राण गयाे।
ज्ञानमतिलाई खुकुरी हान्ने अरु काेही थिएनन्, उनकै प्रेमी ३६ वर्षीय धिरेन खाँ चौधरी थिए।
हत्या भएकाे भाेलिपल्ट अनुसन्धान गर्दै जाँदा प्रहरीले धिरेनलाई आशंकाकाे भरमा पक्राउ गरेका थियाे। पछि भने धिरेनले ज्ञानमतिकाे हत्या गरेकाे भनेर स्वीकारे।
उनी अहिले इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा छन्।
०००
तर, पक्राउपछि मात्रै धिरेनले ज्ञानमति मारिएको थाहा पाए। त्यसअघि उनले आफूले ज्ञानमति आफ्नो हातबाट मारिएकी होइनन् भन्ने ठानिरहेका थिए। जब प्रहरीले धिरेनलाई सार्वजनिक गर्यो अनि मात्र उनले आफूले हानेको खुकुरी ज्ञानमति माथि परेको थाहा पाए।
हत्याको भोलिपल्ट २२ गते धिरेन पक्राउ परेका थिए। त्यसकाे तीन दिनसम्म धिरेन प्रहरीसँग केही बोलेनन्। उनी यत्तिमात्र बोलिरहेका थिए, ‘म बाट ठुलो गल्ती भो, मलाई फाँसीको सजाय दिन।’
जब पक्राउ परेकाे चार दिन बित्याे, त्यसपछि धिरेन प्रहरीसँग खुल्न थाले। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीअनुसार उनले आफूले हानेको खुकुरी ज्ञानमतिलाई नभएर अर्कैलाई हो भन्न थाले।
चौधरीले खुकुरी कसलाई हानेका थिए?
प्रहरी उपरीक्षक कार्कीकाअनुसार चाैधरीले खुकुरी हानेका व्यक्ति ज्ञानमतिका फूपूका छोरा विनोद वा उनकी श्रीमती विनिता राई थिए।
चौधरीले खुकुरी हान्न खोजेको विनोदलाई थियो। विनोद नभए उनकी श्रीमती विनितालाई हो। नभएपनि चौधरी विनोद र विनिताका दुई छोरा-छोरीमध्ये एकलाई मार्ने उद्देश्यले बाराबाट हिँडेका थिए।
तर, त्यो खुकुरी ज्ञानमतिलाई पर्यो। जुन कुरा धिरेनले खुकुरी हानेको भोलिपल्ट मात्रै थाहा पाएका थिए। उनी ज्ञानमतिलाई मार्न पथरी आएका थिएनन्।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रन्जनकुमार दाहालका अनुसार ज्ञानमतिका बुबा र विनोदकी आमा सौतेनी हुन्, अर्थात् आफ्नैपट्टीका सन्तान होइनन्, विनोद र ज्ञानमति।
खोटाङ ऐंसेलुखर्क- ६ सल्लेरीकी ज्ञानमति तीन वर्षअघि बुबाले आत्महत्या गरेपछि तराई झरेकी थिइन्।
ज्ञानमति फूपूकी छोरी विष्णुकुमारी राईको घर पथरीमा बसिरहेकी थिइन्। २०७८ साल माघ २८ गते निधन भयो। त्यसपछि उनी विनोदकहाँ पुगेकी थिइन्।
विष्णुकुमारीको मृत्यु भएपछि ज्ञानमतिलाई विनोदले ‘जबरजस्त’ अपनाउनुपर्ने बाध्यता आइलागेको थियो।
विनोद अटो चलाउँछन्। उनकी श्रीमती होटल चलाउँछिन् घरमै।
ज्ञानमतिले आफ्नोपन भन्ने खासै अनुभूति गर्नै पाइनन्, विनोदको घरमा। धिरेनसँग सामाजिक सञ्जालमा चिनजान भएर ‘प्रेम’मा परेपछि उनले आफ्ना दु:ख-पीडाहरू उनै चौधरीलाई सुनाउँथिन्।
‘विनोद र उनकी श्रीमती विनिताले होटलको काममा ज्ञानमतिलाई अत्यधिक खटाउने, दु:ख-पिर-समस्यामा खासै वास्ता नगर्ने गर्दा रहेछन्,’ हिरासतमा रहेका धिरेनको बयान उद्धृत गर्दै डिएसपी दाहालले भने, ‘बुबाको मृत्युपछि पथरीमा विनोदकी दिदीको घरमा उनी आइन्, दिदीको मृत्युपछि आफ्नो ठानेर विनोदको घरमा पुगिन्, त्यहाँ पनि ममता नपाएपछि विरक्तिएकी ज्ञानमतिले धिरेनलाई कुरा सुनाउन थालिन्।’
१४ वर्षका छोरा, आमा र श्रीमतीलाई बारा जितपुर सिमरामा छोडेर कुवेत हिँडेका धिरेन परिवारबाट बेखुसी थिए। उनकी श्रीमती कतारमा छिन्। उनका बुबा कान्छी श्रीमतीसाथ मोरङ ग्रामथान गाउँपालिका- ४ मा बस्छन्।
ज्ञानमतिको मोबाइल थिएन। विनोदकै मोबाइलबाट धेरैजसो फेसबुक चलाउँथिन्। यसबाहेक जसको फोन पाउँथिन्, फेसबुक खोलेर धिरेनसँग कुरा गरिहाल्थिन्।
उनले विनोदको घरमा आफूलाई ‘राम्रो व्यवहार नभएको’ सुनाउँथिन्। किशोरावस्थाकी ज्ञानमतिसँग एक वर्षअघि नै भेटेर जोगबनी नाकासम्म पुगेका छँदैथिए धिरेन। दुवै परिवारले छुट्याएर ल्याए पनि धिरेन र ज्ञानमतिको प्रेमको गाँठो ‘कसिलो’ भइरहेको थियो।
धिरेनलाई ज्ञानमतिले भन्थिन्, ‘मलाई बिहे गरेर लैजानू।’
तर, धिरेनको अवस्था थाहा पाइसकेका विनोद त्यो सम्बन्धलाई लिएर रुष्ट थिए।
धिरेनको पारिवारिक अवस्था जे भएपनि ज्ञानमति उनीसँग छुट्टिन नसक्ने भइसकेकी रहेको प्रहरी अनुसन्धानले देखाएको छ।
धिरेनले प्रहरीका अनुसन्धान अधिकृतसँग भन्न थाले, ‘मैले ज्ञानमतिलाई खुकुरी हानेकै होइन।’
डिएसपी दाहाल भन्छन्, ‘ज्ञानमतिसँग धिरेनको अत्यधिक प्रेम थियो, धिरेनसँग ज्ञानमति पनि उत्तिकै प्रेममा थिइन्।’
यसको पुष्ट्याइँका लागि धिरेनसँग अनुसन्धान अधिकृतले प्रश्न सोध्न थाले। अहिले धिरेन बल्ल खुलेर बोल्न थालेका छन्।
दाहालका अनुसार धिरेनले फागुन २६ गते हिरासतमै ज्ञानमतिको किरिया गर्ने अनुमति मागे। धिरेनले भने, ‘मलाई सेतो कपडा ल्याइदिनू।’
अनुसन्धान अधिकृतले भने, ‘त्यो मिल्दैन।’
त्यसपछि धिरेनले अधिकृतलाई अनुरोध गरे, ‘म ज्ञानमतिको लाश जलाएको ठाउँमा जान्छु।’
अधिकृतले भने, ‘दाप मात्र भेटिएको छ, खुकुरी कहाँ फाल्यौ?’
धिरेनले भने, ‘पहिले ज्ञानमतिलाई जलाएको ठाउँ पुग्छु अनि भनौँला।’
अनुसन्धान अधिकृतले धिरेनलाई हिरासतबाट निकालेर ज्ञानमति जलाएको सुनझोडा खोला पुर्याए। त्यहाँ धिरेनले लाश जलाए ठाउँतिर अन्जुलीमा पानी लिएर फालिदिए।
त्यसपछि धिरेनले ‘खुकुरी कहाँ छ भन्छु’ भने।
उनले जसो भने अनुसन्धान अधिकृतले पत्याए। धिरेनले ज्ञानमति बसेको विनोदको घरको पूर्वपट्टीको पानी बगिरहेको खोलो देखाइदिए।
‘खुकुरी यहाँ फालेको छु भनेर भनिदिए,’ डिएसपी दाहाल भन्छन्, ‘उनले जहाँ भनेका थिए, खोलामा छिर्दा खुकुरी भेटियो।’
हत्यापछि खुकुरीको दाप धिरेनले घटनास्थल छेउमै छोडेका थिए। ‘भेटिएको खुकुरी र दापको आकार मिल्यो,’ डिएसपी दाहालले भने।
घटना अनुसन्धानमा ज्ञानमतिका दाइ विनोदले खासै सहयोग गरेका छैनन्। उनलाई प्रहरीले शंकाको घेरामा राखिरहेकै थियो। ‘अहिले पनि छन् शंकाको घेरामै,’ दाहालले भने, ‘अब लगभग अनुसन्धान सकियो, धिरेनले नै सबै कुरा स्वीकारेका छन्।’
हत्याको अघिल्लो दिन नै धिरेन बाराबाट पथरी आएका थिए। पथरीमा गाडीबाट उत्रिएपछि उनले ‘केही योजना बनाए’ भन्ने डिएसपी दाहालको भनाइ छ।
तर, धिरेन त्यो दिन अर्थात् फागुन २० गते विर्तामोड पुगेका छन्। त्यहाँ जाँदा उनले ‘केटी साथी’लाई भेटेको भनेका छन्।
भोलिपल्ट धिरेन दिउँसो २ : ४८ मा पथरी आइपुगे। त्यहाँ आएपछि उनले मोबाइल अफ गरे। त्यहाँबाट सिधैं धिरेन लामाटोली पुगे। लामाटोली उनै विनोदको होटलमा गएर चाउमिन खाए, त्यो पनि ज्ञानमतिकै हातबाट।
त्यो समय साढे ३-४ बजेभित्रको हो। त्यसपछि धिरेन ‘विनोद वा उनकी श्रीमती विनिता जो भेटे पनि सिध्याउँछु’ भनी रुँघेर बसेका छन्।
‘जतिबेला महिलाजस्तो मानिस ट्वाइलेटबाट निस्कियो, धिरेनले खुकुरी छपाछप हाने, त्यो खुकुरी उनले विनोदको श्रीमती विनितालाई हानेको हुनुपर्छ,’ डिएसपी दाहालले भने, ‘तर, त्यो खुकुरी ज्ञानमतिमाथि परेको छ। धिरेनले ज्ञानमतिलाई मार्न चाहँदैनथे।’
ज्ञानमतिको मृत शरीर भेटिएको ट्वाइलेट अगाडि हो। त्यहाँ बत्ती पनि जडित छ। तर, त्यसबेला बत्ती बलेको थियो वा थिएन भन्ने कुराको पुष्ट्याइँका निम्ति ज्ञानमतिका दाजु विनोदले बताएका छैनन्।
‘अनुसन्धान जारी नै छ, अनुसन्धानमा ज्ञानमतिका दाजु पनि छन्, हत्यामा धिरेन एक्लै छन् र उनले हत्या गरेकोमा कुनै शंका बाँकी रहेन,’ डिएसपी दाहालले भने।
ज्ञानमतिको हत्यामा उनको पालनपोषणको जिम्मा लिएको परिवार बढी जिम्मेवार देखिन्छ। धिरेन विनोदको होटल पुगेका दिउँसै थिए। उनीसँग अर्का व्यक्ति पनि पुगेका थिए। तर, ती व्यक्ति को थिए भन्ने यकिन भइसकेको छैन।
‘धिरेन लामाटोली पुगेको दिउँसै हो, सिसिटिभी फुटेजहरूबाट पत्ता लागेको छ, उनी पथरी चोकबाट हिँड्दै त्यहाँ पुगेका हुन् भन्ने पुष्टि भइसकेको छ,’ दाहालले भने।
धिरेन नै हत्यारा हुन् भन्ने प्रमाण प्रशस्त संकलन भएका छन्। धिरेनले लगाएको जुत्ता र हत्यापछि भाग्दा भेट्टाइएका जुत्ताका पाइला मिलेका छन्।
‘अब ज्ञानमति हत्याबारे धेरै लम्बाइ-चौडाइ बाँकी रहेन,’ डिएसपी दाहाल भने।