दूर-दूरबाट जोडिएर ‘मदन’हरूले नेपालमा सुरु गरेकाे गाँजा ‘महाअभियान’

कमल विक

काठमाडाैं

०७९ जेठ १० को दिन। दिउँसो पौने ४ बजेतिर।

राष्ट्रपतिबाट वाचन हुन लागिरहेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन जाँदै थिए। प्रधानमन्त्री देउवा सवार गाडी नयाँ बानेश्वर चोकमा गुडिरहेको थियो। अकस्मात्, दुई युवक प्रधानमन्त्री सवार गाडी अगाडि गएर उभिए।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि त्यही बाटो हुँदै संसद भवन छिर्ने भएकोले सुरक्षा व्यवस्था कडा बनाइएको थियो। नयाँ बानेश्वरस्थित सडकको दुवै किनारमा ठुलाे संख्यामा सुरक्षाकर्मीहरु तैनाथ थिए। सुरक्षाकर्मीहरुको निगरानी फुटपाथमा हिँड्ने सर्वसाधारणहरुमाथि समेत थियो।

त्यही कडा सुरक्षाबीच गुडिरहेको प्रधानमन्त्री सवार गाडी अगाडि ती युवकहरु कसरी पुगे, कसैले पत्तो पाउन सकिरहेका थिएनन्।

प्रधानमन्त्रीको सुरक्षामा खटिएका प्रहरीले उनीहरुलाई तत्काल नियन्त्रणमा लिए।

ती मध्येका एक थिए, मदन कोइराला (जोसेफ)।

भर्खर ‘नेपाल गाँजा वैधानिक महाअभियान’ सुरु भएको थियो। जसको नेतृत्व गरेको थिए, उनै मदनले।

त्यसदिन पनि उनीहरु ‘नेपालमा गाँजा वैधानिक हुनुपर्छ’ भन्ने मागसहित राष्ट्रपतिलाई ‘ब्यानर’ देखाउने योजनामा थिए। तर, राष्ट्रपतिको सवारीमा कडा सुरक्षा व्यवस्था हुन सक्ने अनुमान गरेर उनीहरु त्यसअगाडि नै प्रधानमन्त्री सवार गाडीमा हाम फालेका थिए।

मदनको नेतृत्वमा त्यसअघि देखि नै गाँजा वैधानिकताका लागि महाअभियान सुरु भएको थियो। त्यो महाअभियान अहिले पनि जारी छ।

यसबीचमा गाँजा वैधानिकताकाे पक्षमा धेरै काम भए। संसदमा गाँजासम्बन्धी विधेयक दर्ता भयो। संघीय सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजाको सम्भाव्यता अध्ययनका लागि रकम विनियोजन भयो। केही प्रदेश तथा स्थानीय तहहरु गाँजा वैधानिकताको बाटोमा एक–दुई पाइला अगाडि बढेका छन्। जसमा मदनको पनि योगदान मिसिएकाे छ।

ती मदन

मदनको जन्म वि.सं.२०३८ पुस २८ गते मोरङमा भएको हाे।

उनी काेइराला परिवारकाे भए पनि मावली राई हुन्। मावली घरमा रक्सी बन्थ्यो। मामाहरुले ‘लाै त भाञ्जा चाख’ भन्दै मदनलाई रक्सी खुवाउँथे। बिस्तारै-बिस्तारै मदनलाई रक्सीप्रति चाख बढ्दै गयाे। उनी नियमित सेवन गर्न थाले।

‘रक्सी खान १३ वर्षको उमेरबाट सुरु गरेको हो’, उनी सम्झन्छन्।

रक्सीपछि चुरोट। चुरोटपछि सुर्ती। सुर्तीपछि ड्रग्स। मदनले एकपछि अर्काे गर्दै सबै लागुऔषध सेवन गर्न थाले।

१५ वर्षको उमेरसम्म रक्सी र चुरोटमात्र खान्थे। त्यसपछि १९ वर्षको उमेरमा त ड्रग्सकाे पनि ‘एडिक’ बने।

मदनकाे साथी-संगतमा ड्रग्स ‘फेसन’जस्तै थियो। साथी–भाइको लहलहैमा मदनले पनि त्यो ‘फेसन’ अङ्गाले। ‘त्यतिबेला ड्रग्स फेसन थियो’, उनी सम्झन्छन्, ‘सिनियरहरुले खाएको देख्दाखेरि हिरो हो जस्तो लाग्थ्याे। त्यतिखेर यो खाँदा हिरो भइनेरहिछ भनेर चाख्न थालियो। अनि, रमाइलो लाग्न थाल्यो। पछि बिस्तारै–बिस्तारै बानी बस्यो।’

विराटनगरनजिक भारतीय सीमा क्षेत्रमा सहजै पाइन्थ्याे, ड्रग्स। मदनले चाेरी र ठगी गरेर पैसा पनि जाेहाे गर्थे।

१९ वर्षको उमेरमा त मदन लागुऔषधमा नराम्रोसँग फसेका थिए।

बिहान उठेपछि पहिलो काम ड्रग्स सेवन गर्नु हुन्थ्यो। ड्रग्स सेवन नगरी उनी चल्न-बोल्न सक्दैन थिए। बिरामीलाई औषधिजस्तै मदनलाई ड्रग्स चाहिन्थ्यो।

‘त्यतिबेला म व्यक्ति थिएन। हा..हा..हा..त्यो बेला म व्यक्ति कहाँ थिएँ त, त्यतिबेला त म एक किसिमको बिरामी मानिस थिएँ, ड्रग्स नखाई उठ्न नसक्ने’, मदन त्यतिबेलाको अवस्था सुनाउँछन्।

त्यतिबेला मदनलाई लाग्थ्याे,– मर्छु त नसा सेवन गरेरै।

नसा सेवनको उडानले मदनको पढाइ-यात्राले गति लिन सकेन। एसएलसीसम्म पढे तर र परीक्षा दिएनन्।

‘त्यो समयमा कस्तो थियो भन्दा म एक त ड्रग्सकाे अधिनमा, नसाले कब्जा गरिसकेको मान्छे। त्यतिबेला पढाइ भनेको त थ्री इडियट्स फिल्ममा अक्षर उडेर गएको जस्तो लाग्यो,’ तर पनि उनलाई पढ्न नपाएकोमा पछुतो भने छैन, ‘मैले त्यो नपढेको नै राम्रो भयो। आखिरमा त्यो पढाइ पनि विदेशमा गएर चाकडी गर्न नै रहेछ। त्यसैले मैले जे गरेछु राम्रो गरेछु।’

ड्रग्स खाेज्न दिल्लीतिर

उनमा लागुऔषधकाे लेभल यतिसम्म बढेकाे थियाे कि अब त उनलाई नेपाली बजारमा पाइने ड्रग्सकाे डाेजले पुग्न छाड्याे। त्यसपछि अझै हार्ड ड्रग्सकाे खाेजीमा उनी दिल्ली गए।

‘नेपालमा हुँदा सुनेकाे थिएँ, दिल्लीमा हार्ड ड्रग्स पाइन्छ भन्ने त्यही हिसाबले म दिल्ली पुगेँ। त्यहाँ पुगेर मैले जे खाेजेकाे थिएँ त्यही पाएँ,’ मदनले भने।

तर, मदनकाे शरीरलाई त्यहाँकाे ड्रग्स थेग्न कठिन भयाे। उनी जुन नसामा ड्रग्सकाे डाेज दिन्थे, त्याे नसा भाेलिपल्ट ‘ड्यामेज’ हुन्थ्याे।

त्यति हुँदा पनि उनमा लागुऔषध छाड्ने कुनै लक्षण थिएन्। उनी थप ड्रग्सकाे खाेजीमा गल्ली चाहार्न थालेका थिए। त्यही क्रममा उनकाे भेट ‘साहारा’ नामक गैरसरकारी संस्थाका प्रतिनिधिसँग भेट हुन्छ।

साहारा लागुऔषध सेवनकर्ताहरुलाई सुधार्नका लागि काम गर्ने संस्था हाे। भारतमा यसकाे मातहतमा धेरै संस्थाहरु सक्रिय छन्, जसले कूलतमा लागेका व्यक्तिहरुलाई कूलतमुक्त बनाउनमा भूमिका खेल्छ। अर्थात्, साहारा एक रिहाव सेन्टर हाे।

साेही संस्थाका प्रतिनिधिले मदनलाई पनि ड्रग्स दिने आश्वासनमा ट्रिनिटी नामक रिहाव सेन्टरसम्म पुर्‍याए। त्याे संस्थाले सुरुमा थाेरै-थाेरै गर्दै ड्रग्स खुवायाे। बिस्तारै-बिस्तारै गर्दै लागुऔषधकाे जालाेबाट बाहिर निकाल्याे।

‘त्यहाँ रहँदा मैले ड्रग्स ट्रिटमेन्ट गरेँ। नसासम्बन्धी उपचार गरेँ। त्यहाँ नसा सेवन गरेकाहरुले आफूले यसरी छोडेँ भनेर अरुलाई सिकाउँथे,’ उनले भने। त्यहाँ उनले एक वर्ष क्लास लिए।

रिहाव सेन्टरमा रहँदा जीवनमा केही महत्वपूर्ण ज्ञानहरु पनि प्राप्त गरे। जसले उनकाे जीवनमा धेरै परिवर्तन ल्याइदियाे।

उनी हरेक दिन आज आफ्नाे अन्तिम हाे भन्ने सम्झन्छन्। अर्थात्, उनी भाेलिकाे सपना बुन्दैनन्, आजकाे खुसीमा रमाउँछन्।

‘म त आज मेरो अन्तिम दिन हो भनेर जीवन बिताउँछु। त्यसले गर्दा मेरो भोलिको प्लान केही पनि हुँदैन,’ मदनले सुधार केन्द्रमा हुँदा २१ वर्षकाे उमेरदेखि यस्ताे साेच्न थालेका हुन्, ‘यसले मलाई बाँच्न सजिलो बनाएको छ। लोप छैन, कसैसँग रिस पनि छैन। अब आजको दिन जे पर्छ त्यही टर्छ।’

लागुऔषध सेवन गर्न छाडेपछि उनले त्यही संस्थामा ६ महिनाकाे तालिम लिए। र, त्यसमै स्टाफकाे रुपमा काम गरे।

लागुऔषधबाट मुक्त भएपछिकाे जीवनबारे उनी भन्छन्, ‘त्यो समय मेरा लागि एकदमै नयाँ थियो। किनभने, १३ वर्षकाे उमेरदेखि नसा गरेको मान्छे, एकैचोटी नसाबाट टाढिँदाखेरि त जीवन त यो पनि रहिछ त भन्ने भयो।’

हार्ड ड्रग्सकाे खाेजीमा १९ वर्षमा भारत छिरेका मदन २५ वर्षकाे उमेरमा लागुऔषध त्यागेर नेपाल फर्किए।

...तर, एचआइएभी लिएर

मदन नेपाल फर्किँदा एचआइभी संक्रमित भएका थिए।

एचआइभी संक्रमित भएपछि मदनले भारतमा नै त्यससम्बन्धी तालिम लिएका थिए। त्याे तालिमले उनमा आत्मविश्वास भरिएकाे थियाे। र, स्वदेश फर्किएर केही गर्ने हुटहुटी पनि।

नेपाल फर्किएपछि मदनकाे भेट राजीव काफ्लेसँग हुन्छ। राजीव ती व्यक्ति हुन्, जाे नेपालमा पहिलाेपटक ‘म एचआइभी संक्रमित हुँ’ भनेर सार्वजनिक भएका थिए।

राजीव त्यतिबेला एचआइभी संक्रमितहरुका लागि काम गर्न ‘नवकिरण प्लस’ नामक संस्था खाेल्ने तयारीमा थिए।

त्यही संस्था खाेल्ने तयारीस्वरुप विराटनगर पुगेका बेला सन २००३ मा राजीवसँग मदनकाे भेट हुन्छ।

त्यसपछि राजीव र मदनले ‘नवकिरण प्लस’मार्फत् देशव्यापीरुपमा एचआइभी संक्रमितहरुकाे लागि काम सुरु गरेका थिए।

...अनि सुरु हुन्छ गाँजा वैधानिकताकाे आन्दाेलन

सन २०१६ मा राजीव बैंककबाट फर्किँदै थिए।

उनलाई लिन मदन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। फर्किँदा उनीहरुबीच कुराकानी हुन्छ:

मदन: दाइ, अब कहिले फर्किनुहुन्छ?

राजीव: अब फर्किन्न यार।

मदन : किन?

राजीव : अब गाँजा खाेल्नुपर्छ नेपालमा।

यही कुराकानीपछि मदनले आफू गाँजा वैधानिकताकाे अभियानमा लागेकाे बताउँछन्।

‘त्यतिबेलासम्म मलाई गाँजाबारे केही मतलब नै थिएन। त्यही एयरपोर्टको कहानीबाट सुरु भएको हो अभिायन’, मदनले भने।

राजीवले बैंककमा हुँदा गाँजाबारे बुझेका थिए। त्यही कुरा नेपालमा आएर मदनलाई सुनाए। त्यसपछि मदनले आफ्नाे सामाजिक सञ्जालहरुमार्फत गाँजासम्बन्धी सामाग्रीहरु बनाएर सार्वजनिक गर्न सुरु गरेका थिए।

त्यतिबेलासम्म मदनहरुलाई नेपालमा गाँजा वैधानिक कसरी गर्न सकिन्छ भन्नेबारे कुनै जानकारी थिए।

त्यसपछिका दिनहरुमा भने उनीहरूले काठमाडाैँ महानगरपालिका पूर्वमेयर केशव स्थापित, तत्कालीन स्वास्थ्य तथा जनसंख्यमन्त्री विराेध खतिवडा, नेकपा (एमाले) सांसद शेरबहादुर तामाङलगायत राजीवीतिज्ञहरुलाई भेटेर वार्ता गरेका थिए।

त्यसलगत्तै शेरबहादुर तामाङले संसदमा गाँजासम्बन्धी विधेयक दर्ता गरे।

मदनकाे नेतृत्वमा सुरु भएकाे थियाे, ‘नेपाल गाँजा वैधानिक महाअभियान’।

त्यही महाअभियान अन्तर्गतकाे कार्यक्रम थियाे, मदनले प्रधानमन्त्री शेरबहादुर देउवाकाे गाडी राेकेर ब्यानर देखाएकाे।

मदन अहिले कुनै पनि लागुऔषध सेवन गर्दैनन्। तर, उनकाे माग यत्ति छ, नेपालमा गाँजाकाे उत्पादन तथा बिक्री वितरण खुल्ला गर्नुपर्छ। गाँजा बेचेर नै नेपाल सम्पन्नशाली हुने उनकाे विश्वास छ। त्यसैले त उनले संकल्प गरेका छन्, नेपालमा गाँजा वैधानिक नभएसम्म लडिरहने।

‘नेपालमा गाँजा वैधानिक भएकाे दिन के गर्नुहुन्छ?’ भन्ने प्रश्नमा उनकाे उत्तर छ, ‘हेलिकप्टरमा उड्दै गाँजा खाएर खुसी साट्ने मन छ।’

तस्बिर: रविन भण्डारी/बिएल नेपाली सेवा

प्रकाशित मिति: : 2024-02-29 21:31:00

प्रतिकृया दिनुहोस्