नेपाली कांग्रेसको भर्खरै सम्पन्न महासमिति बैठकले नेपाली राजनीतिलाई दिशानिर्देश गर्ने तीन महत्वपूर्ण प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। ती प्रस्तावहरूमा महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत पार्टीमा अन्तरपार्टी प्राइमरी चुनाव गर्ने र नेताहरूको बहिर्गमनका लागि ‘वान–टु–थ्री–फोर’ सूत्र प्रयोग गर्ने तथा गगन थापाद्वारा प्रस्तावित चुनावपूर्वको गठबन्धनमा कांग्रेस सामेल नहुने प्रमुख हुन्।
नेताहरुको बहिर्गमनका लागि प्रस्तावित ‘वान-टु-थ्री-फोर’ सूत्रमा कुनै व्यक्ति एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक मात्रै सांसदको शपथ लिन पाउने भन्ने रहेको छ।
यसैगरी पार्टीको उम्मेदवारीका लागि अन्तरपार्टी प्राइमरी चुनाव हुने र त्यो चुनावमा सबैभन्दा बढी मत पाउने उम्मेदवार आकांक्षी नै पार्टीको आधिकारिक उम्मेदवार हुने भन्ने रहेको छ।
यी दुवै प्रस्ताव कांग्रेसजस्तो परम्परावादी पार्टीको जीवनमा ज्यादै अग्रगामी हुन्। र, झट्ट सुन्दा कांग्रेसमा यी प्रस्ताव पारित हुनु स्वाभाविकजस्तो पनि लाग्दैन। तर, कांग्रेसको महाधिवेशपछिको दोस्रो ठूलो संस्था महासमिति बैठकले यी दुवै प्रस्तावलाई सर्वसम्मतले स्वीकार गर्यो। यसबाट कांग्रेस परेको बेला जस्तोसुकै युटर्न लिन पनि पछि हट्दैन भन्ने दृष्टान्त मिलेको छ। अझ गजबको कुरा त यो प्रस्ताव पारित गर्ने महासमिति बैठकको सभापतित्व नै छैटौँपटक प्रधानमन्त्री पदको शपथका लागि उल्टो दिनगन्ती गरिरहेका शेरबहादुर देउवाले गरेका थिए।
यसैगरी पार्टीका अर्का महामन्त्री गगन थापाले आगामी आमचुनावमा कांग्रेसले कुनै पनि दलसँग चुनावपूर्वको गठबन्धन नगर्ने प्रस्ताव महासमितिमा पारित गराएका छन्। उनी गत आमचुनावमा नेकपा माओवादीसहित तत्कालीन सत्तारूढ पाँच घटकसँग चुनावपूर्व गठबन्धन गर्ने कुराको विपक्षमा थिए। त्यसका लागि उनले पार्टीभित्र अन्तिम समयसम्म पनि अडान लिए। तर, कांग्रेसको संस्थापन पक्षसामु उनको केही लागेन र उनी बहुमतको निर्णय स्वीकार गर्दै चुनावमा होमिए।
तर, यसपटक उनले त्यो प्रस्ताव आफ्नो प्रतिष्ठाको विषय बनाएर महासमिति बैठकमा लगे र सर्वसम्मतरूपमा पारित पनि गराए। यसबाट पार्टीमा उनी एजेण्डाका हिसाबले मात्र हैन, नैतिकरूपमा पनि बलियो बने।
यी तीनै प्रस्तावलाई कांग्रेस केन्द्रीय समितिको बैठकबाट संशोधनसहित पारित गरेर लागु गर्ने भनिएको छ। यद्यपि, कांग्रेस विधानमा महासमितिले पारित गरेको प्रस्तावमा केन्द्रीय समितिले संशोधन गर्न सक्ने वैधानिक व्यवस्था छैन। यस्तो अवस्थामा अब ती प्रस्तावहरू कसरी अगाडि बढ्छन्, हेर्नुपर्ने भएको छ।
नेपाली कांग्रेसका यी तीनै प्रस्ताव संस्थापन पक्षका हैनन्। संस्थापन त यी तीनै प्रस्तावको विपक्षमै छ। उता, कांग्रेसको अल्पमत पक्ष पनि यी सबै प्रस्तावमा एक मत छैन। शेखर कोइरालालगायत ६० नाघेको पुस्ता यी प्रस्तावमा खासै उत्साही छैन। तर, महामन्त्रीद्वय शर्मा र थापा भने यी तीन प्रस्तावका पक्षमा महाधिवेशनदेखि नै पैरवी गरिरहेका थिए। र, कांग्रेसको भविष्यका लागि चिन्तित एउटा ठूलो युवा तप्काको बलमा यसपटक उनीहरूले यी तीनै प्रस्ताव महासमितिमा लगे र पारित पनि गराए। यद्यपि, संस्थापन पक्ष यी प्रस्तावलाई असफल बनाउन लागिपरेको प्रष्टैसँग देखिन्थ्यो।
प्रस्ताव पारित होला त केन्द्रीय समितिमा ?
कांग्रेसले पारित गरेका यी प्रस्तावको कार्यान्वयनको पक्ष त छँदैछ, त्योभन्दा पनि पहिला महासमितिबाट सर्वसम्मतले पारित यी प्रस्ताव पार्टी संस्थापनले त्यही स्प्रिरिटमा स्विकार गर्ला त भन्ने नै अवस्था छ। संस्थापन पक्षका पार्टी उपसभापति पूर्णबहादुर खड्काले महासमितिमा एउटै प्रस्ताव सर्वसम्मतिले तीनै प्रस्ताव केन्द्रीय समितिमा लैजाने र संशोधनसहित पारित गर्ने भन्ने मात्रै पारित गरेको भनेर संस्थापनले यसमा खेल्ने संकेत गरेका छन्। उनले महासमितिमा सर्वसम्मतिका लागि पार्टीको अल्पमत पक्षको प्रस्ताव स्विकार गरिएको पनि बताएका छन्।
कांग्रेसको केन्द्रीय कार्यसमितिमा संस्थापन पक्षको ८२ प्रतिशत हिस्सा रहेको छ। र, त्यसको ठूलो हिस्सा यी तीनै प्रस्तावको पक्षमा छैन। यी प्रस्ताव पारित गर्दा वर्षौदेखि कांग्रेसमा डेरा सरीसरी बहुमत बनाएर चलखेल गरिरहेका खाइदेउहरूको भाग खोसिन्छ र उनीहरू चिल्लाराम हुन्छन्। त्यसैले उनीहरू यी प्रस्ताव पारित गरेर आफ्नै खुट्टामा बञ्चरो हान्न चाहदैनन्।
यो प्रस्ताव पारित भएर तत्कालै लागु हुने हो भने यसबाट सबैभन्दा ठूलो असर पार्टी सभापति देउबालाई नै पर्छ। घाम जतिकै छर्लङ्गै छ कि उनले गठबन्धनलगायतका सारा जोडजाम आफूलाई छैठौँपटक प्रधानमन्त्री बनाउनलाई नै गरेका हुन्। केन्द्रीय समितिमा पटकपटक मन्त्री र सांसद भएका धेरै पदाधिकारी तथा केन्द्रीय सदस्य छन्। राजनीतिलाई पेशा बनाइरहेका उनीहरू कोही पनि नमरूञ्जेल बहिर्गमन चाहँदैनन्।
यसैगरी आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने भन्ने हो भने अहिलेकै सत्ता गठबन्धन जोगाउन गाह्रो हुन्छ भन्ने संस्थापनको बुझाइ छ। त्यसो गर्दा यही वर्ष नै कांग्रेसले केन्द्रदेखि सातै प्रदेशका सरकारबाट पनि बाहिरिनुपर्ने स्थिति आउँछ। अर्कोतिर राष्ट्रियसभा अध्यक्ष हुनकै लागि चुनाव लडेका कृष्णप्रसाद सिटौलाको मुखमै आएको संवैधानिक पद पनि जान्छ। अहिले नै यो प्रस्तावका कारण सिटौलाको अध्यक्ष धरापमा परेको भनेर उनका गुटका धेरै नेता तथा कार्यकर्ता गगनलाई धारेहात लगाइरहेका छन्।
यो प्रस्ताव जस्ताको तस्तै पारित हुँदा स्वयं गगन थापालाई पनि सकस हुन्छ। उनी तीनपटक सांसद भैसकेका छन्। त्यसैले उनका लागि पनि २०८४ को चुनाव अन्तिम हुन्छ। र, यहीपटक चुनाव जितेर प्रधानमन्त्री हुने दबाब बढ्छ।
प्रस्तुत पृष्ठभूमिमा यी तीनै प्रस्ताव महासमितिमा सर्वसम्मत भएकै स्प्रिरिटमा केन्द्रीय समितिमा पारित हुन लगभग असम्भव छ। त्यहाँ विभिन्न नेता र गुट–उपगुटको स्वार्थको सौदावाजी हुँदा बढीमा कुनै न कुनै शर्त राखेर मात्र यी प्रस्ताव पारित हुने सम्भावना देखिन्छ।
प्रस्ताव पारित भए कांग्रेसमा के हुन्छ ?
यी प्रस्ताव पारित भए तत्कालका लागि कांग्रेसको बूढो पुस्ता र जनाधार नभएका नेतालाई आहत पुग्छ भने कांग्रेसको भविष्य र नयाँ पुस्ताका लागि नेतृत्वमा आउन मार्गप्रशस्त भएर ठूलो राहत मिल्छ। यसबाट निराश भएका कांग्रेसजनमा आशा जाग्छ, राजनीतिज्ञमा पूर्वतयारी, सतर्कता, गम्भीरता र जवाफदेहीता बढेर जान्छ, कामको परिणाम देखाउने कुरामा उत्तरदायित्व बढ्छ र नेतृत्वसँग वाक्कदिक्क भएर कहिले बिदा लेलान् भन्ने पर्खाइको अन्त्य हुन्छ। कांग्रेसको मूल समस्याका रूपमा रहेको अवसरको न्यायोचित वितरणका लागि त बैधानिक व्यवस्था नै हुन्छ।
प्रकारान्तरमा कांग्रेसमा केही हुन्छ भन्ने किसिमको भावना जागृत हुन्छ र कांग्रेस नै प्रजातान्त्रिक विचारमा विश्वास गर्नेको मियो संस्था बन्ने जबर्जस्त परिस्थिति निर्माण हुन्छ। यसो हुँदा नानाथरिका स्वतन्त्र र दक्षिणपन्थी नयाँ पार्टीको देशमा जरूरी नै पर्दैन। सम्भावना भएका नेताहरू प्राइमरी चुनाव लडेर सहजै अगाडि बढ्न सक्छन् र उनीहरूका लागि मन्त्री पद पनि अहिलेभन्दा धेरै नजिक हुन्छ। सबै जनतामै गएर प्रतिस्पर्धामा अब्बल भएर आउने भएकाले कांग्रेस र जनताबीचको सम्बन्ध अरू प्रगाढ हुन्छ, डेलिभरी बढ्छ र कांग्रेसको राजनीतिक गुरूत्व माथि उकासिन्छ।
यसको प्रभाव अन्य दलमा के पर्छ ?
यो अग्रगामी थिति बसेर कांग्रेस दक्षिणपन्थी कित्ताको मियो बन्ने बित्तिकै त्यसको स्वभाविक प्रभाव अन्य दलमा पनि पर्छ। दक्षिणपन्थी दलमा रहेका वा प्रजातान्त्रिक विचार बोक्ने सम्भावना भएका नेता–कार्यकर्ता कांग्रेसमा गोलबद्ध हुन्छन्। यो कित्ताका स्वतन्त्र र नयाँ पार्टीका गतिला कांग्रेसमै गएर जनताका लागि राजनीति गर्छन्, बाँकी चटकेका सटर सदाका लागि बन्द हुन्छन्।
कांग्रेसका कारण समग्र दक्षिणपन्थी कित्तामै हलचल भएर एउटै दक्षिणपन्थी होलसेल सटर बन्ने बित्तिकै त्यसको प्रभाव देशको वामपन्थी कित्तामा पनि पर्छ। वामपन्थीका नाममा थापिएका अनेकौ सटर बन्द भएर उनीहरू पनि एउटै वामपन्थी होलसेल सटर बनाउन बाध्य हुन्छन्।
यसले गर्दा देश वैचारिक आधारमा राजनीतिक ध्रुवीकरणको बाटोमा जान्छ। कांग्रेसले दक्षिणपन्थी धारको नेतृत्व गर्ने बित्तिकै त्यसलाई टक्कर दिन वामपन्थी धारको एकीकृत कम्युनिष्ट पार्टी बन्ने बाध्यकारी परिस्थिति बन्छ।
देशमा अहिले पनि केही अतिवादी दक्षिणपन्थी कम्युनिष्टलाई तथानाम गाली गर्दै सत्तोसराप गरिरहेका छन्। नाम जे दिए पनि संसारमा वामपन्थी शक्ति रहन्छ नै। नेपालको सन्दर्भमा पनि कम्युनिष्ट पार्टी एउटा बिकाउ ब्राण्ड हो। जबसम्म नेपाली समाजमा अभाव, गरिवी, अशिक्षा र विभेद न्युनिकरण भएर एउटा साइजमा आउँदैन तबसम्म नेपालमा कम्युनिष्ट ब्राण्ड बिकिरहन्छ। यो ब्राण्ड सक्नका लागि देश समृद्ध र जनता सुखी हुन सक्ने वातावरण बन्नुपर्छ। त्यस्तो परिस्थिति बनेपछि जनताले नै कम्युनिष्ट पार्टीलाई मत दिन छोड्छन् र अर्को नामको वामपन्थी दल बन्छ।
अहिलेको आवश्यकता के हो ?
कांग्रेस महासमितिले गरेको यो निर्णय कांग्रेसका लागि त संजीवनी बुट्टी हो नै, नेपालको राजनीतिलाई सही ट्याकमा ल्याउने एउटा ऐतिहासिक प्रस्थान विन्दु पनि हो। त्यसैले नेपाली मिडिया, नागरिक समाज र विचार निर्माताले यो प्रस्तावको पक्षमा वहस पैरवी गर्न आवश्यक छ। यदि सबैले यसको आवश्यकता औल्याएर कांग्रेसको संस्थापनलाई दबाब दिने हो भने कांग्रेस यो निर्णय जस्ताको तस्तै अगाडि बढाउन बाध्य हुने छ। त्यसले प्रकारान्तरमा नेपाललाई सही राजनीतिक ध्रुवीकरणमा लैजानुको साथै सबैखाले बासी प्रवृति र पात्रलाई क्रमशः बिस्थापित गर्दै जनताले चाहेजस्तै साजी पात्र र प्रवृति स्थापित गर्न मार्गप्रशस्त गर्ने छ।
यस अर्थमा कंग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा धन्यवादका पात्र छन्। कांग्रेस महासमितिमा यी दुईले पारित गराएका प्रस्तावले नेपालको राजनीतिलाई सही ट्रयाकमा ल्याउन सहयोग गर्नेछन्। त्यसैले जो जहाँ छौं, त्यही रहेर यी प्रस्तावलाई तार्किक निस्कर्षमा पु¥याउन मदत गरौं। यो समयमा नेपाल र नेपालीको भलाइका लागि गर्ने योगदान त्यही हुने छ।