मधेसमा मैमत्त महतो

तेजन खड्का

काठमाडौं

तराई मधेसमा उभराइरहेका राजनीतिक ‘दुकान’मध्ये एउटा चर्चित तर आफूले आफैँलाई दौडाइरहने एक राजनीतिक ‘दुकानदार’ हुन् राजेन्द्र महतो।

करिब ३५ वर्षको सक्रिय राजनीतिक जीवनमा महतो ५ पटक मन्त्री बनिसकेका छन्, त्यत्ति नै पार्टी पनि फेरेका छन्। ६५ वर्षको उकालो लागेका महतो अहिले भने राजनीतिको ओरालोमा आफैँ रनभूलमा छन्।

विद्यार्थी राजनीतिसँगै कुनैबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ठेक्कापट्टा’को काम हेर्ने महतोका पाइला तत्कालीन मधेसवादी नेता गजेन्द्र नारायण सिंहसँगको भेटसँगै राजनीतितिर मोडिएका थिए।

२०४६ सालमा गजेन्द्र नारायण सिंह नेतृत्वको नेपाल सद्भावना परिषदमा जोडिएका महतोले २०५६ पछिका प्राय निर्वाचन जितेका छन्। २०४६ को जनआन्दोलनपछि सद्भावना परिषदको नामबाट सामाजिक अभियानमा सक्रिय रहेका गजेन्द्र नारायण सिंहले त्यसैलाई सद्भावना पार्टी बनाएका थिए। त्यही पार्टीबाट महतो २०४८ सालको निर्वाचन पनि लडे। २०५१ को निर्वाचन पनि लडे। तर पहिलोपल्ट उनले २०५६ को निर्वाचन जितेर संसद छिरे।

माओवादी जनयुद्ध सकिएपछि स्वर्गीय गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा महतो उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए। त्यसयता उनी उपप्रधानसहित पाँच पटक मन्त्री भइसकेका छन्।

राजनीतिका आरोह-अवरोहमा

भारतको बिहारमा जन्मिएका महतोसँग दोहोरो नागरिकता भएको भन्दै पटक पटक विवाद आउने गर्छ। त्यसबारेमा उनले पटक पटक प्रष्टीकरण दिइसकेका छन् र हरेकपल्ट भनिरहेका छन्, ‘म धोती लगाउने नेपाली नै हुँ।’

यी ‘धोती-टोपी’को साम्प्रदायिक अभिव्यक्ति पनि राजेन्द्रलाई चिनाउने मानकहरू हुन्, जसलाई उनले आफ्नो पहिचानसँग गाँस्छन्। कुनैबेला तराई-मधेसलाई छुट्टै देश घोषणा गर्ने भनेर उनी त्यो अभियानमै लागे। संविधान जारी हुनेबेला गरिएको मधेस आन्दोलन र भारतले नाकाबन्दी गर्दा सबैभन्दा धेरै र सबैभन्दा पहिलो नाम राजेन्द्र महतोकै हुन्थ्यो।

अहिले पनि ‘बहुल राष्ट्र’को बेसुरा नारामा उनी उत्तिकै अडिग छन्। उनका यी र यस्तै अभिव्यक्तिका कारण उनले माफीमात्रै मागेनन्, बरु पार्टीबाटै निस्कासित हुनुपर्‍यो।

जनआन्दोलनपछि भएको पहिलो आम निर्वाचन २०४८ सालमा नै महतो नेपाल सद्भावना पार्टीबाट चुनाव लडेका थिए। उनी आफ्नै गृहजिल्ला सर्लाही-२ बाट चुनावमा भिडेका थिए। त्योबेला उनी पराजित भए।

२०५१ सालको निर्वाचनमा पनि उनी चुनाव लडे। त्योबेला पनि पराजित भए। २०५६ सालमा पूर्वप्रधानमन्त्री तथा राप्रपाका नेता सूर्यबहादुर थापा पनि राजेन्द्र महतोकै क्षेत्रमा उम्मेदवार थिए।

त्योबेला भने थापालाई हराउँदै महतो निर्वाचित भए। २०५६ सालको त्यही निर्वाचन नै महतोका लागि संसदीय यात्राको सुरुवात बन्यो।

माओवादीसहितको अर्को जनआन्दोलनबाट देशमा शासन व्यवस्था नै परिवर्तन भइसकेको थियो। २०६४ सालमा पहिलोपटक संविधानसभाको निर्वाचन भयो।

योबेला महतोले नेपाल सद्भावना पार्टी फुटाइसकेका थिए। र, केही नेताहरूलाई लिएर उनले सद्भावना पार्टी बनाएका थिए। यही पार्टीबाट उनले आफ्नै गृहजिल्लामा निर्वाचन क्षेत्र परिवर्तन गरे। सर्लाही-४ बाट चुनाव जितेर उनी संविधानसभाको सदस्य पनि भए।

२०७० को दोस्रो संविधानसभाको चुनाव हुँदासम्म मधेसको अर्को पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी पनि फुटिसकेको थियो। महिन्द्र यादवसहितका केही नेताहरूले तराई मधेस सद्भावना पार्टी बनाएका थिए। यो निर्वाचनमा भने महतोले यादवसँग हारे। महतो योबेला सद्भावना पार्टीका अध्यक्ष भइसकेका थिए।

संविधान जारी भइसकेपछि २०७४ सालमा आम निर्वाचन हुँदै थियो। २०७२ सालको संविधानलाई स्विकार्ने कि नस्विकार्ने भन्ने विवाद मधेसका नेताहरूमाझ सेलाइसकेको थिएन।

तथापि संसद र सत्तामा उनीहरूले आफ्नो अस्तित्व खोज्न थाले र मधेस झरिसकेका ठूला दलहरूलाई ‘टक्कर’ दिनका लागि मधेस केन्द्रित आन्दोलन गरिरहेका ६ वटा दलहरू मिलेर राष्ट्रिय जनता पार्टी बनाए।

छ पार्टीका छ जना नेताहरू ‘चक्रीय प्रणाली’मा आलोपालो पार्टीको नेतृत्व गर्ने समझदारीमा बनेको यही पार्टीबाट राजेन्द्र महतो चुनाव लड्नका लागि धनुषा-३ मा पुगे। त्यहाँको चुनावमा महतोले नेपाली काँग्रेसका उपसभापतिसमेत रहेका नेता विमलेन्द्र निधिलाई हराएर फेरि चर्चामा आए।

मधेस आन्दोलनको रापतापलगत्तै २०७४ सालमा धनुषा-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र महताले अनुकूल स्थिति नदेखेपछि २०७९ सालको चुनावमा गृहजिल्ला सर्लाही रोजे।

त्यो नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि निर्वाचित हुँदै आएको धनुषा–३ मा त्यतिबेला महतोलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘अदृष्य’ सहयोग प्राप्त थियो।

ओलीकै निर्देशनमा एमाले नेता रघुवीर महासेठ र उनकी पत्नी जुली महतोले आफ्नो संगठनको भोट महतोतिर ‘डाइभर्ट’ गर्न लगाएका थिए।

त्योबेला वाम गठबन्धनका तर्फबाट धनुषा–३ मा चुनाव लडेका माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले जम्मा साढे दुई हजार मत पाए। रामसिंहले आफ्नो संगठनको मत त पाए तर एमालेको मत महतोतिर ‘ट्रान्सफर’ भयो।

यसपटक भने धनुषा–३ बाट एमाले नेतृ जुली आफैँं उम्मेदवार हुने भएपछि सकसमा परेका महतो गृहजिल्ला सर्लाहीको क्षेत्र नम्बर २ बाट चुनाव लड्न बाध्य भए।

सिट बाँडफाँटमा कुरा नमिलेको भन्दै जनता समाजवादी पार्टी (जसपा) एमालेतिर लाग्यो। सत्तारुढ चार दलले लोसपालाई गठबन्धनमा सामेल गराएको थियो।

गठबन्धनका घटक दलको साथ पाउँदा सर्लाही–२ बाट चुनाव जित्न सहज हुने अनुमान थियो, महतोको।

तर, उनले रोजेको सर्लाही–२ मा सत्ता गठबन्धनबीच सहमति जुटेन। सिट बाँडफाँटमा त्यो क्षेत्र माओवादी केन्द्रको भागमा पर्‍यो। र, अन्ततः ‘मित्रवत्’ प्रतिस्पर्धामा उत्रिन गठबन्धनका शीर्ष नेताहरू सहमत भए।

शीर्ष नेताहरूलाई सुरक्षित गर्ने बाबुराम भट्टराईसँग वाचा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्लाही–२ नेपाल समाजवादी पार्टी (नेसपा) लाई दिए।

त्यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रको चुनाव चिह्न लिएर नेसपाका अध्यक्ष महिन्द्रराय यादवले महतोलाई हराए। यसपटक महतोको संसदीय यात्रामा एउटा ब्रेक लाग्यो।

त्यतिञ्जेल महतोले उपेन्द्र यादवलाई पनि छोडिसकेका थिए। र बयोवृद्ध नेता महन्थ ठाकुरसँग लागेर पुरानै पार्टी तराई मेधस लोकतान्त्रिक पार्टी ब्यूँताइसकेका थिए।

निर्वाचनपछि यो पार्टीमा पनि उनी स्थिर भएनन्। महन्थसँग उनको टकराव बढ्दै गयो। सधैँ सत्ता र शक्तिको वरिपरि नै रहेका महतो विस्तारै मौन हुँदै गए। पार्टीका बैठकहरूमै जान छोडे।

गत मंसिरमा ठाकुरले विभिन्न जिल्लाको नेतृत्व र पार्टीको केन्द्रमा सयौँ सदस्यहरू थप गरे। तर त्यसमा महतो पक्षका एकजना पनि परेनन्। पार्टी गठन भएको तीन महिना पनि नबित्दै असन्तुष्टि चुलिन थालेपछि ठाकुरले महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेताको पद दिएका थिए।

तर पनि महतो सन्तुष्ट हुन सकेनन्। उनी कार्यकारिणी अनि पार्टीका अरु बैठकहरूमा पनि जान छोडे। बरु ठाकुरको उछितो काढिरहे।

त्यसपछि राजनीतिक वृत्तबाट अलि टाढा रहेर मौनजस्तै भएका महतो सोमबार(फागुन १३ गते) भने एउटा नयाँ अभियान लिएर राष्ट्रिय सभागृहमा झुल्किए।

‘बहुलराष्ट्रिय राज्य स्थापनाका निमित्त’ महतोले अब ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको घोषणा गरेका छन्।

यो अभियान घोषणाका लागि उनले मधेसका धेरै ठाउँबाट बस चढाएर महिला तथा बालबालिकाहरू ल्याएका थिए। उनीहरूलाई दिनभरि राष्ट्रियसभाको हलमा केही किताब र डायरीहरू बाँडेर उनले ‘प्रशिक्षण’ पनि दिए।

त्यहीबीचमा उनले एउटा पत्रकार सम्मेलन पनि गरे। अनि यो अभियानका बारेमा भने। पार्टीका बारेमा पनि भने।

‘स्व-देशवाद, बहुलराष्ट्रवाद, सामुदायिक समाजवाद’को ट्यागलाइनमा उनले घोषणा गरेको अभियानलाई ‘समान नेपाल’को छाता ओढाइदिएका छन्। र, यसलाई उग्र बनाउनका लागि महतोले ‘पहिचानवाद’का अभियान्ता बुद्धिछिरिङ मोक्तानलाई अघि सारेका छन्।

महन्थ ठाकुरसँग लगभग टाढिइसकेका महतोले यो अभियानमा नेपाली काँग्रेस, एमाले, माओवादी, जसपालगायत सबै पार्टीका नेता कार्यकर्ताहरू जोडिइसकेको दाबी गर्दै आफ्नो ‘पूर्वपार्टी’ तमलोपलाई पनि सहभागी हुन आह्वान गरे।

‘तपाईंले आफ्नो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी छोडिसक्नुभएको हो?’
पत्रकारहरूलाई जवाफ दिँदै उनले भने, ‘मैले मेरो पूर्वपार्टी भनिसकेको छु।’ आधिकारिकरुपमा उनले पार्टीबाट राजीनामा त दिएका छैनन् तर अब पार्टी छोडेर अब आफू पूर्णरुपमा यही ‘मुक्ति क्रान्ति’मै होमिएको भने उनले घोषणा गरे।

तर उनलाई नजिकबाट चिन्नेहरू भने अब महतोले यही अभियानलाई पार्टीका रुपमा अघि बढाउने पनि बताउँछन्।

‘अहिले नै पार्टी नबन्ला तर विस्तारै जाने त राजनीतिमै हो’, यो अभियान घोषणाको खटनपटनमा लागेका महतोका एकजना सहयोगी भन्छन्, ‘हामीसँग पहिला नै दर्ता गरिराखेको नेपाल सद्भावना पार्टी छँदैछ। त्यो पनि ब्यूँतिनसक्छ।’

यो अभियानलाई राजनीतिक पार्टी नभनेर महतोले भने यसलाई ‘अभियान’कै रुपमा अघि बढाउने बताउँछन्।

‘अब हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी सम्पूर्ण उत्पीडित राष्ट्रियताहरु तथा देशमा सुशासन र सम्वृद्धि चाहनेहरु सबै संयुक्त रुपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अर्थात् सम्पूर्ण क्रान्ति आवश्यक भैसकेको छ’, महतोले भने, ‘नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्र राज्य हो, सोतर्फ नेपालको राजनीति स्वाभाविक रुपले अगाडि बढ्छ नै।’


आफ्नाे सत्ता हासिल गर्न क्रान्तिकाे विकल्प छैन- राजेन्द्र महताे (पूर्णपाठ)

प्रकाशित मिति: : 2024-02-27 20:30:00

प्रतिकृया दिनुहोस्