संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्न पहल गर्छु–प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पलकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधानका लागि ध्यानाकर्षण गराउन पुगेको दाङको सर्वदलीय/सर्वपक्षीय टोलीसँग प्रधानमन्त्रीले आवश्यक अध्ययन गरेर यससम्बन्धी समस्या समाधान गर्ने बताए। 

विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्बाट आवश्यक निर्णय गरेर वा आफूले कूलपतिको तर्फबाट निर्णय गरेर समस्या समाधान गर्ने बताए। उनले जतिसक्यो चाँडो उचित निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरे।

दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयको एक हजार चार सय  विगाहा जग्गा रहेको छ। सो जग्गाबाट विश्वविद्यालयले आयस्रोत लिन सकिरहेको छैन, भने जोतभोग गरिरहेका किसानहरु पनि मोही दर्ताबाट वञ्चित रहेका छन्। 

विश्वविद्यालयको आयस्रोतको बाटो खुलाउने र जोताहा किसानको अधिकार पनि सुनिश्चित गर्ने गरी समस्या समाधानका लागि नीतिगत निर्णय गर्न सर्वपक्षीय टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। टोलीले उच्चस्तरीय अध्ययन समिति गठन गरेर काम अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ। 

सर्वपक्षीय टोलीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं दाङ क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्मा, दाङ क्षेत्रनम्वर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरी, नेपाली कांग्रेस राष्ट्रियसभा दलका प्रमुख सचेतक अनिता देवकोटा, प्रतिनिधिसभा सदस्यहरु मेनका पोख्रेल, नारायणी शर्मा र आश्मकुमारी चौधरी, विश्वविद्यालयका उपकूलपति प्रा.डा. यादवप्रसाद लामिछानेलगायतको उपस्थिति रहेको थियो। 

सर्वदलिय सर्वपक्षीय टोलीले आइतबार सञ्चारमन्त्री रेखा शर्मालाई भेटेर जग्गा विवाद सुल्झाउन पहल गरिदिन आग्रह गरेको विश्वविद्यालयका उपप्रशासक विनयकुमार पोखरेलले जानकारी दिए।

प्रकाशित मिति: : 2024-02-26 19:41:00

प्रतिकृया दिनुहोस्