सर्लाहीमा निजी कारभित्र ११६ किलो गाँजा बरामद, एक जना पक्राउ 

राेसन दानी

काठमाडौं

प्रहरीले लागुऔषध तस्करीको नयाँनयाँ योजना विफल पार्दै भारी मात्रामा रिफाइन गाँजाको प्याकेटसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले निजी कारमा लुकाईछिपाई तस्करी गर्ने क्रममा गाँजाको प्याकेटसहित एक जनालाई पक्राउ गरेको हो।

सर्लाही प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले सर्लाही बागमतीकाे नगरपालिका-३ नयाँ बस्ती चोकस्थित नयाँरोड बरहथवा सडकखण्डमा गोप्य सूचनाको अधारमा गाँजा बरामद गरिएकाे बताए।

उनका अनुसार दक्षिणबाट उत्तरतर्फ आइरहेको बागमती प्रदेश ०१-०२६ च ५१५९ नम्बरको कारलाई चेकजाँच गर्दा कारभित्र लुकाईछिपाई ल्याएको १० पोका गाँजा बरामद गरिएकाे हाे।

पक्राउ पर्नेमा कार चालक पूर्वी नवलपरासी गैडाकोट नगरपालिका- ११ बस्ने ३० वर्षीय सूर्य परियार रहेकाे एसपी ज्ञवालीले बताए।

‘जिल्लामा तस्करीको नयाँनयाँ तरिका आपराधिक गिरोहले गर्दछ भन्ने थियो सोही आधारमा हामीले निजी कारबाट लागुऔषध तस्करी हुँदैछ भने खबर आयो। हेर्दा राम्रो प्याकिटमा १ सय १६ किलो ग्राम रिफाइन गाँजा फेला पर्यो’, उनले भने।

पक्राउ परेकालाई प्रहरीले नियन्त्रणमा लिई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति: : 2024-02-23 10:55:00

प्रतिकृया दिनुहोस्