‘जनयुद्धका गाथा’हरु नयाँ पुस्तालाई सिकाउन जरुरी छ: बुद्ध बस्नेत (अन्तर्वार्ता)

कमल विक

काठमाडाैं

आज फागुन १ अर्थात् जनयुद्ध दिवस। वि.सं. २०५२ फागुन १ गतेकै दिनदेखि माओवादीले पश्चिम नेपालबाट जनयुद्धकाे थालनी गरेका थियाे। जसकाे जगमा राज्य-सत्ता नै उल्टिएर देशमा लाेकतान्त्रिक गणतन्त्र स्थापना भयाे। तथापि, जनयुद्ध र यससँग सम्बन्धित अझै थुप्रै प्रश्न र सवालहरु छन्, जसबारे बिएलकर्मी कमल प्रभातले माओवादी नेता बुद्ध बस्नेतसँग कुराकानी गरेका छन्।

प्रस्तुत छ, जनयुद्ध दिवसका सन्दर्भमा बस्नेतसँग गरिएकाे कुराकानीकाे अंश:


जनयुद्ध थालनी भएको दिनलाई कसरी स्मरण गर्नुहुन्छ?

आज फागुन १ गतेको दिन, त्यो आफैँमा गौरवपूर्ण दिन हो। तमाम् उत्पीडित र शाेषित वर्गहरुकाे मुक्तिकाे महान सपना बाेकेर हिँड्नेहरुलाई सम्झनै पर्ने दिन हाे आज। आज मलाई विगतका, त्यो १८ वर्ष अगाडिका दिनहरु झलझल्ती याद आइरहेको छ।

सम्झनामा कस्ता कुराहरु आउँछन्?

हामी एउटा ठुलो सपना देखेर। ठुलो सपना बोकेर। हाम्रा नेताहरुको विचार र आदर्शहरुलाई मनन गरेर। आम जनताहरुको जीवन बदल्नका लागि र राज्य सत्ता परिवर्तन गर्नका लागि जुन ठुला-ठुला लडाइँहरु लड्यौँ। भिड्यौँ। त्यो संसार छुट्टै थियो। तिनै कुराहरु याद आउँछन्।

जनयुद्धलाई कसरी बुझ्ने?

आम जनताले पनि जनयुद्धलाई सकारात्मक उपलब्धिको रुपमा बुझ्नुपर्छ। किनभने, त्यो १० वर्षे युद्ध भनेको जनताकै संलग्नता प्रत्यक्ष रुपमा लडेको युद्ध थियो। जनताको मुद्धाको लागि र राष्ट्रको एजेन्डाको लागि लडेको युद्ध भएको हुनाले यो त सबैको साझा विषय हाे।

जनयुद्ध दिवस कसरी मनाउने?

जनयुद्धका उपलब्धिहरुलाई सम्झिएर। जनयुद्धका संघर्षका गाथाहरुलाई स्मरण गरेर। जनयुद्धमा सहिद हुनु भएका ती महान योद्धाहरुलाई सम्झिएर। जनयुद्धको क्रममा घाइते हुनु भएका ती योद्धाहरुलाई सम्झिएर। जनयुद्धमा बेपत्ता हुनु भएका ती सहिदका परिवारलाई सम्झिए। जनयुद्धमा विभिन्न तहबाट समर्थन, समर्पण र लगानी गर्ने तथा प्रत्यक्ष सहभागी भएका लाखाैँ लाख जनतालाई मीठो अनुभूतिका साथ सम्झिएर मनाउने।

जनयुद्धका उपलब्धिहरु के–के हुन्?

त्यो त हामीहरुले बताइरहन पर्दैन। किनभने, अहिले मुलुकमा राजनीतिकरुपमा जुन परिवर्तन भएको छ। सम्भवत विश्वको इतिहासमा नेपालको राजनीतिमा धेरै उथलपुथल भएको छ। हिजो एकात्मक व्यवस्था थियो, अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ। अहिले नेपालमा सातवटा प्रदेश छन्। ७५३वटा स्थानीय सरकारहरु छन्। पर्याप्त अधिकारसहित वडा सरकारहरु छन्। जनता लाभान्वित भएका छन्। उनीहरुले नजिकको सरकारबाट सेवा प्राप्त गर्न सकिरहेका छन्। दलितको छोरो, दलितकी छोरी, महिलाहरु तथा विभिन्न अल्पसंख्यकहरुको राज्य सत्तामा पहुँच कायम भएको छ। उनीहरुले अपनत्व गर्न पाएका छन्। धर्म निरपेक्ष मुलुक भएको छ। सबैलाई समान अधिकार छ। जनताले यो सशान व्यवस्थालाई नजिकबाट बुझ्न पाएका छन्। राजनीतिक रुपमा यो त ठुलो उपलब्धि हो।

तर, व्यवहारिकरुपमा जनताकाे जीवन बदल्ने र दैनिकीलाई सहज बनाउने कुराहरुमा केही समस्याहरु छन्। त्यसलाई हामीले गम्भीररुपमा समीक्षा गरेका छौँ।

जनयुद्धका नायक प्रचण्डलाई ती र यी दिनमा कसरी लिनुहुन्छ?

‘कमरेड प्रचण्ड’ भन्दा मलाई एउटा श्रद्धा जागेर आउँछ। एउटा आधार भाव जागेर आउँछ।

उहाँ भनेको एउटा आदर्श व्यक्तित्व हो। उहाँका जिन्दगीका कथाहरु हामीले नजिकबाट बुझेका छौँ। उहाँले एउटा कलिलो उमेरमा पार्टीको नेतृत्व गर्नु भयो। ४१ वर्षको उमेरमा जनयुद्धको कमान्डिङ गर्नु भयो। र, त्यहाँबाट यहाँसम्म आउँदा उहाँ ६९ वर्षको यात्रामा हुनुहुन्छ। र, पनि एउटा डाइनामिक प्रकारकाे उहाँका दिनचर्याहरु छन्। उहाँको दिमागमा सधैंभरि मुलुकको समृद्धिका कुराहरु, जनयुद्धले देखाएका सपनाहरुलाई पूरा गर्ने कुराहरु हुन्छन्।

उहाँ अहिले प्रत्यक्ष कार्यकारी भूमिकामा हुनुहुन्छ। नेपाल सरकारको उहाँ प्रधानमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीको तहबाट पनि उहाँले जनयुद्धका क्रममा आम नागरिकलाई देखाएका सपनाहरु लागु गर्ने क्रममा हुनुहुन्छ। त्यो हामीले प्रत्यक्ष रुपमा अनुभूति गरेका छौँ।

जनयुद्धमा प्रचण्ड कस्ता हुनुहुन्थ्यो?

युद्धको बेला उहाँ विभिन्न भेष र रुपमा जनताको बिचमा जानुहुन्थ्यो। उहाँ सधैंभरि जनताको बिचमा रमाउने मान्छे हो। त्यतिबेला त प्रचण्ड मान्छे हो कि होइन भन्ने थियो। कसैले प्रचण्डका पर्यावाची अरु-अरु पनि भन्दै थिए। तर, त्यो होइन।

मैले त प्रभासमा पहिलोपटक भेट्ने अवसर पाएको थिएँ। यद्यपि, त्यतिबेला दोहोरो कुराकानी हुने कुरा भएन। तर, मैले राम्रोसँग चिनेको थिए। यतिबेला नेपालमा जनयुद्धकाे परिस्थिति अप्ठ्यरो थियो। त्यही भएर प्रभासमा धेरै गतिविधिहरु हुने गर्थे। र, मैले उहाँलाई भेटेको पनि थिएँ। उहाँ त्यहाँ पनि एउटा संगठनभित्र नै हुनुहुन्थ्यो। र, पछि नेपालमा आएर पनि रोल्पा–रुकुमका धेरै बस्तीहरुमा जनतामाझ जानु भयो।

युद्ध चल्दै गर्दा पनि उहाँ जनताकै बिचमा हुनुहुन्थ्यो। हाम्रा आधार इलाकाहरुमा उहाँले जनतालाई सम्बोधन गरेका फुटेजहरु तपाईंहाँहरुले पछि प्राप्त पनि गर्नु भयो। उहाँ जतिबेला पनि जनताको बिचमा रमाउने व्यक्ति हो।

अहिले प्रचण्ड किन बिचल्लित हुनुहुन्छ?

त्यस्तो निराश हुने खालको शून्यतामा उहाँलाई हामीले पाउँदैनौँ। उहाँको हिजो र आजको गतिशिलता उस्तै-उस्तै नै छ। अनि, कमरेड प्रचण्ड कुनै भगवान त होइन। उहाँ पनि मान्छे हो। हामीले जस्ता कुराहरु सोच्छाैँ, उहाँले पनि कहिलेकाँही त्यो सोच्नुहुन्छ होला। त्यसकारण मानवतमा कहिलेकाँही उतारचढावहरु आउनु स्वभाविक हाे, त्यसलाई अन्यथा लिनु हुँदैन। तर, हामीहरुले पनि उहाँलाई हेरेका छौँ, उहाँका दिनचर्याहरु यो उमेर अवस्थामा उहाँको गतिशिलतामा हामी कुनै कमी देखेका छैनौँ।

पश्चिममा महाभूकम्पहरु आए। त्यहाँ छेदबिछेद हुँदा हामी बिस्तारामा थियाैँ हाेला तर उहाँ त्यहाँ पुग्नु भएको थियो, त्यो उमेरमा। त्यसकारण उहाँको गतिशिलतामा कुनै प्रकारको कमी छैन। यद्यपि, हामीकहाँ जुन राजनीतिक शक्ति-सन्तुलन विद्यमान छ, यसमा हामीले जे चाहेका छौँ, ती कुरा सबै नहुँदा रहेछन्। राज्यको शक्ति-सन्तुलनमा चल्दा केही कुराहरु यस्ताे भइदिए हुन्थ्यो भन्ने हामीलाई लाग्ने कुरा एउटा भयो। तर, गर्न दिने कुराहरुमा केही बाध्यताहरु छन्।

हिजोका दिनमा छिन्नभिन्न भएका माओवादी नेताहरुसँग सँगै जनयुद्ध दिवस मनाउन पाएको भए हुन्थ्यो जस्तो लाग्दैन?

अवश्य पनि सँगै हुन पाएको भए हुन्थ्यो भन्ने लाग्छ।

पार्टीमा जुन खालको विभाजन आयो। यो विभाजनले माओवादी पार्टी आफैँमा कमजोर त भयो नै तर यति मात्र होइन, यसले त सिंगो मुलुकलाई कमजोर बनायो। सिंगो राज्यलाई पछाडि पार्‍यो। त्यतिबेला जुन एकताबद्ध माओवादी थियो, त्यतिबेला मुलुकमा एउटा छुट्टै खालको तागत थियो। तर, जब माओवादी विभाजन भयो अनि मुलुक पनि कमजोर भयो।

मेरै कुरा गर्नुहुन्छ भने जतिबेला पार्टी विभाजनको क्रम चलिरहेको थियो, त्यतिबेला म एकजना माननीयको स्वकीय सचिवको रुपमा यहीँ काठमाडौँमा थिएँ। त्यतिबेला मेरा एकजना साथी थिएँ, हाम्रो एउटै कोठा र एउटै भान्सा थियो। उहाँ विभाजन भएर क. वैद्यको पछि लाग्नु भयो। भने, म यतै संस्थापनमा बसेर यही पार्टीमा काम गरेँ।

भनेको विभाजनको पक्षमा म कहिले पनि भइनँ। र, अहिले पनि यो पार्टीबाट जुन विभाजन भएर जानुभएको छ, हाम्रा नेताहरु कमरेड मोहन वैद्य किरण, कमरेड नेत्रविक्रम चन्द विप्लवहरुले पनि त विभाजन भएर जानु भयो। र, उहाँहरुले यो फुटको औचित्य पुष्टि गर्न सक्नु भएको छैन।

तर, म फेरि पनि भन्छु, पार्टी पुनः एक हुनुपर्छ। विभाजन भएर, एक्ला एक्लै हिँडेर गन्तव्यमा पुग्न सकिँदैन भन्ने कुरा उहाँहरुले महसुस गर्नु भएको छ। हामीलाई पनि त्यो लागेको छ। र, मैले पनि के अपेक्षा गरेको छु भने कुनै दिन त्यो खालको मिलनबिन्दु हुनेछ। विभाजित शक्तिहरु एक ठाउँमा आउनुहुनेछ। र, सिंगो पार्टी एकताबद्ध हुनेछ। र, त्यसले सिंगो मुलुकलाई एकताबद्ध बनाएर सही कमान्डिङ हुने कुराको मैले आशा गरेको छु।

आम मानिसले जनयुद्ध र त्यसका उपलब्धिहरुलाई ग्रहण गर्न सक्ने अवस्था किन बनेन?

तपाईंले यो एउटा गम्भीर विषय उठाउनु भयो।

हामी जनयुद्धमा लडेका मान्छेहरु। त्याग, समपर्ण गरेका मान्छेहरु हामी जिउँदै छौँ। र, जिउँदै भएको मान्छेहरुले पनि यो पछिल्लो पुस्ताहरुलाई बताउन नसकेको हो कि, सिकाउन नसकेको हो कि, त्यो हामीले महसुस गर्नुपर्ने विषय छ।

मैले त अहिले पार्टीभित्र पनि एउटा छलफल नै चलाउन खोजेको छु। मैले प्रस्ताव पनि राखेको छु। अब पार्टीमा लेख्न सक्ने साथीहरुको समूह बनाएर हिजोका संघर्ष र जनयुद्धका गाथाहरु, जनताको बिचमा गएर गरेका कामहरु यी सबै कुरालाई लेख, रचना,वक्तव्य र प्रेस नोटको माध्यमबाट पछिल्लो पुस्तालाई सिकाउनुपर्छ। हामीले गरेका ती साहासिक कामहरु यो पछिल्लो पुस्ताले थाहा पाए त त्यसको मूल्यांकन गर्ने हो। त्यसमा हाम्रो पनि केही कमी छ। र, पछिल्लो पिँढीले यो बुझ्न पनि नचाहेको कि भन्ने लाग्छ। परिस्थितिले पनि त्यस्तो बनाइदिएको छ अहिले। सारा मानिसहरु सतही हुने, फेसबुकको दुनियाँमा रमाउने, गहिरिएर अध्ययन नगर्ने, लेख-रचनाहरु नपढ्ने, चिन्तन मनन नगर्ने, जुन संस्कारको विकास भएको यो एउटा दुःखद पक्ष हो।

युवाले जनयुद्धलाई स्मरण गर्नुकाे औचित्य देखेनन् कि ?

जनयुद्धका जुन सकारात्मक पक्षहरु छन्, जुन त्याग समपर्णका कुराहरु छन्, जुन गौरवको गाथा छ, त्यसलाई त हामीहरु सम्झनै पर्ने हुन्छ। किनभने, यो विषय त अहिले नेपालको साझा विषय बनेको छ। नेपालको संविधानले जनयुद्धलाई स्थापित गरेको छ। अन्तरिम संविधानले आफ्नो धारा उपधारामा नोटिस गरिसकेको छ।

माओवादी र सरकारबीच जुन एउटा शान्तिवार्ता भयो। त्यो भइसकेपछि त यो त एउटा मुलुकको गौरवको गाथा र इतिहास हो। यो इतिहास हामीले बुझ्नुपर्छ। अध्ययन गर्नुपर्छ। र, पछिल्लाे पुस्तालाई बुझाउनुपर्छ भन्ने मेरो जोडजाड मान्यता रहेको छ।

जनयुद्ध लडेका योद्धाहरु विदेशिनु पर्ने अवस्था आएकोमा दुःख लाग्दैन?

दुःख त अवश्य पनि लाग्छ। विदेश जाने क्रम नेपालमा अहिलेमात्र नभएर यो पहिलादेखि नै थियो। अहिले कोरोनाकालदेखि आर्थिक संकट र निसाश मानसिकताको कारणले पनि मुलुक छोड्ने युवा जमात अलि बढी देखा परेका छन्। मैले त विभिन्न लेख र रचनाको माध्यमबाट पनि यसबारे चिन्तन र मनन गर्ने गरेको छु। चिन्तित पनि भइरहेको छु।

युवा किन विदेशी युद्धभूमिमा होमिँदै छन्?

एकाध साथीहरु त्यहाँ गएको भनेर हामीले पनि सुनेका छौँ। त्यो एउटा दुखद पक्ष हो। मैले अघि पनि भनेँ नि त यो मुलुकमा हामीले ठुलो संघर्ष पनि गर्‍याैँ। त्यसपछि शान्ति प्रक्रिया पनि अगाडि बढ्यो। तर, त्यो शान्ति प्रक्रिया अहिलेसम्म पनि हामीले टंग्याउन सकेको छैनौँ। यो त मुलुकको बिडम्वना हो। यो पन्ध्र वर्ष यता हरेक सरकारले शाक्ति प्रक्रिया टुङ्गाेमा पुर्‍याउने कुरा गरेकाे गरिन्छ। तर, पुर्‍याइएन। अहिलेको सदनमा पनि यो विधेयक पेश हुँदैछ।

यति लामो समय यो मुलुकलाई एउटा बन्धकजस्तो बनाइयो नि त। यति लामो समय मुलुकलाई एउटा अन्यौलग्रस्त बनाउने कुराहरु, संक्रमणकालीन मुलुक बनाउने कुराहरु, यो दुखद पक्ष नै रह्यो। यो माओवादीकाे मात्र नभएर मुलुकका सबै राजनीतिक दलहरुले गर्ने कुरा न हो। त्यसकारण शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर मुलुकलाई द्रुत गतिमा विकास निर्माणतिर अगाडि बढाउनुपर्छ। र, निराशा बोकेका हाम्रो युवा शक्तिहरु हुनुहुन्छ, जुन दिमागलाई शून्यतामा पुर्‍याउनु भएकाे छ। उहाँहरुलाई फेरि हराभरा, सुनौलो र नयाँ नेपालको आशा देखाएर फेरि संगठित गरेर नेपालमा बोलाउनुपर्छ यो माओवादी मात्र नभएर सबै राजनीतिक पार्टीको दायित्व हो।

आम नेपाली जनयुद्ध दिवसलाई उत्साहका रुपमा लिन किन तयार छैनन्?

अब तयार हुनुपर्छ। किनभने, यो साझा विषय हो। यो कुनै एक पार्टी वा अर्को पार्टीको कुरा होइन। जनयुद्धलाई नेपालको संविधानले चिनिसकेको छ। जनयुद्ध लडेका व्यक्तिहरु सरकारको नेतृत्वमा हुनुहुन्छ। यो अहिले एउटा पार्टी वा अर्काे पार्टी भन्ने कुरा त होइन।

जनयुद्ध दिवसमा बिदाको विषयलाई लिएर विवाद भयो, यसलाई कसरी लिनु भएको छ?

यो दुखद पक्ष हो। नेपालको न्यायलयले राजनीतिक निर्णयप्रति हस्तक्षेप गर्नु हुँदैन थियो। किनभने, नेपालको संविधानले जनयुद्धलाई स्थापित गरेको छ। अन्तरिम संविधानले शान्ति प्रक्रियाका धेरै कुराहरुलाई समावेश गरेको छ। पूर्ण संविधानले यसलाई मानिसकेको छ। र, बिदा भनेको नेपाल सरकार र गृह मन्त्रालयको क्षेत्र अधिकारभित्र रहने कुरा न हो। सरकारले बिदा दिने कुरामा न्यायलयले किन हस्तक्षेप गर्नु परेको छ? यो त राम्रो होइन। सर्वोच्चको यो निर्णयप्रति त मेरो गम्भीर आपत्ति छ। न्यायलयले सरकारसँग बाँझिने गतिविधि गरेर यो मुलुक अगाडि बढ्दैन। यो राम्रो पक्ष होइन्।

यो परिस्थिति कसरी आयो?

अहिले नेपालमा जुन परिवर्तन देखा परेको छ। यहाँको शासन व्यवस्था र राजकीय प्रणालीमा जुन खालको परिवर्तन भएको छ। यो परिवर्तनलाई नेपालको न्यायलयले कतै न कतै स्वीकार्न नसकेको हो कि भन्ने अनुभूति हुन्छ। यद्यपि, यो अदालतको विषयमा धेरै टिप्पणी गर्न त राम्रो मानिँदैन होला तर पनि त्यहाँ भएका हाम्रा माननीयज्यूका पुराना मानसिकताले पनि केही काम गरेको जस्तो मैले महसुस गरेको छु।

जनयुद्ध दिवसमा के छ सन्देश?

आज फागनु १ गते हामी सबैले स्मरण गर्ने दिन हो। यो एउटा गौरवको दिन हो। वि.सं. २०५२ फागुन १ गते नेपालमा जुन महान जनयुद्ध सुरु भयो। त्यो महान जनयुद्धमा हाम्रा लाखौँ लाख नेपाली जनताको सहभागिता रह्यो। हजारौँ हजारले सादत प्राप्त गर्नु भयो। सहीदहरु हुनुहुन्छ, हजाराैँ घाइते अपाङहरु हुनुहुन्छ, सयाैँ संख्यामा बेपत्ता हुनुहुन्छ। बेपत्ताका घर परिवारले पनि अहिले ती बेपत्ताहरु कहिले फर्किनुहुन्छ भनेर आशा गरेको अवस्था छ। यस्तो अवस्थामा मैले ती सम्पूर्ण महान सहीदहरु, घाइतेहरु, सम्पूर्ण बेपत्ता घर परिवारहरु र लाखौँ लाख जनताले जुन युद्धलाई समर्थन गर्नु भयो, ती सबैलाई हृदयदेखि नै सम्झन चाहन्छु।

र, विगतमा जसरी माओवादी जनयुद्धको वरिपरि लाखौँको रुपमा आम जनताले समर्थन देखाउनु भयो, साथ दिनु भयो, सहयोग गर्नु भयो, त्यसपछि पहिलो संविधानसभाको निर्वाचनमा माओवादीलाई ठुलो शक्तिको रुपमा विजय गराउनु भयो। र, अहिले पनि ती दिनहरुलाई सम्झिएर पार्टीको वरिपरि आम जनता गोलबन्द हुनुपर्छ र मुलधारको राजनीतिक पार्टी माओवादीलाई समर्थन गर्न म आम जनतालाई यो गौरवपूर्ण दिन फागुन १ गतेको अवसरमा सबैलाई हार्दिक अपिल गर्दै यहाँहरु सबैलाई बधाई ज्ञापन गर्न चाहन्छु, धन्यवाद।

भिडियाे :

प्रकाशित मिति: : 2024-02-13 20:40:00

प्रतिकृया दिनुहोस्