एक समय थियो माइतीघरमा ‘आन्दोलन’ गर्न, ‘धर्ना’ र ‘अनसन’ बस्न पालो कुर्नुपर्थ्यो। देशभरिबाट कुनै न कुनै मुद्दा बोकी आएका पीडितहरूको ‘न्याय’ माग्ने एउटा न्यानो ‘काख’ थियो माइतीघर मण्डला।
सरकारलाई ‘प्रश्न’ गर्नेहरूको कारण ‘ट्राफिक जाम’ हुन थालेपछि सरकारले अघिल्लो महिना माइतीघरलाई ‘निषेधित क्षेत्र’ घोषणा गर्यो। महिनौदेखि न्याय माग्दै सडकमा बसेकाहरूलाई त्यहाँबाट खेदियो।
कति त न्यायको आश मार्दै घर फर्किसकेका थिए। फर्किन नसकेकाहरू फेरि ‘शान्तिबाटिका’ पुगेर बसे। त्यहाँबाट पनि काठमाडौँ महानगरले उनीहरूलाई लखेट्यो।
अब काठमाडौँमा न्याय माग्नेहरूलाई कुनै ठाउँ छैन।
०००
बर्दियाकाे राजापुर नगरपालिका–८ की कमला थारुले शन्तिबाटिकामा आएर दैनिक धर्ना बस्न थालेको पनि एघार महिना बितिसक्यो।
बर्दियादेखि काठमाडौँसम्म आएर धर्ना बसेकी उनले साहूले लगिदिएको जमिन फिर्ता गरिदिन सरकारलाई भनिरहेकी छिन्।
दुई वर्षअघि कमलाले गाउँकै एक व्यक्तिबाट साढे एक लाख रुपैयाँ मिटरब्याजमा लिएकी थिइन्, श्रीमानको उपचारका लागि। पैसाले कमलाको श्रीमानको ज्यान बचाउन सकेन।
कमलाले श्रीमानकाे उपचारको लागि लिएको साढे एक लाखको सात पटक गरेर दुई लाखभन्दा बढी रकम साहुलाई बुझाइसकिन्। तर, साहुले ५० हजार रुपैयाँ मात्रै लिएको तमसुक गरेर जग्गा हडपेको उनी बताउँछिन्।
‘मैले सात पटक गरेर दुई लाखभन्दा बढी बुझाएको थिए। तर, साहुले ५० हजारमात्रै दिएको भनेर तमसुक गरी जग्गा हडप्यो,’ उनले भनिन्, ‘के गर्नु आफू अनपढ मान्छे, त्यस्तो गर्छ भनेर कहाँ सोचियो र?
कमलालाई आफूजस्तै धेरै मिटरब्याजी पीडितहरु छन् भन्ने त थाहा थियो, तर न्याय माग्न कहाँ जाने भन्ने थाहा थिएन। त्यसैले पल्लाघरकी दिदीसँगै काठमाडौँ आएको उनी बताउँछिन्।
‘पल्ला घरकी दिदी पनि मिटरब्याजी पीडित हुनुहुन्थ्याे। त्यसैले छोरी लिएर उही दिदीको पछिपछि काठमाडौँ आएँ। अहिले दिदी छोरीसँगै कोठामा बस्नुहुन्छ’, उनले भनिन्, ‘म भने यहीँ बसेँ।’
कमला जतिसक्दो छिटाे शान्तिबाटिको फुटपाथबाट जान चाहन्छिन्। तर अन्त कतै जाने ठाउँ नहुँदा चिसो समयमा पालको भरमा रात कटाउन बाध्य छिन्।
‘सँगै आएकी दिदीको छोरी यहीँ पढ्न बसेकी छिन्, दिदी उतै जानुभयो। म कहाँ जाउँ? मेरो जाने ठाउँ छैन’, उनी भन्छिन्, ‘नत्र यस्तो चिसोमा बच्चा लिएर बस्न कसलाई पो रहर हुन्छ र?’
यसैगरी शान्तिबाटिकाको फुटपाथबाटै न्याय मागिरहेकी छन्, न्यायाधीश पत्नी आरती रावल गिरी।
आरती सुरुमा वैवाहिक बलात्कार र बलात्कार मुद्दाको जिउज्यानको सुरक्षाको माग गर्दै माइतीघरमा अनशन बसेकी थिइन्। अनशनको दुई महिनाई गृह मन्त्रालयसँग दुई बुँदे सहमति भएपछि अनशन तोडेकी थिइन्। तर, अनशन तोडेको ३ महिनासम्म पनि कुनै ठोस कदम नचालिएपछि आरतीले पुन: न्यायाधीश भुवन गिरीलाई सजायको माग गर्दै अनशन थालेकी हुन्।
न्यायको माग गर्दै सर्वोच्च अदालतदेखि मानव अधिकार आयाेगको ढोका ढकढक्याउँदा समेत न्याय नपाएको उनको गुनासो छ।
‘हामीले आफूमाथि अन्याय भयो भन्न पनि नपाउने हो? न्याय माग्न सर्वोच्चदेखि मानव अधिकार आयाेगसम्म पुगिसक्यौँ। तर खै न्याय?, उनले भनिन्,‘ कसले दिन्छ भनेर आश गर्ने? न सर्वोच्चले दियो न मानव अधिकारले।’
अनशनका दैरान आरती दशाैँ पटकसम्म वीर अस्पताल र प्रहरी वृत सिंहदरबार पुगिसकिन्, तर न्याय नपाएसम्म महानगरले जे गरेपनि फुटपाथबाट नहट्ने उनको अडान छ।
‘बालुवाटार निषेधित, सिंहदरबार निषेधित, बानेश्वर निषेधित, माइतीघर निषेधित, अनि भएको एउटा शान्तिबाटिका पनि निषेधित गरेपछि हामी पीडित न्याय माग्न कहाँ जाने? सरकारले तोकेको ठाउँबाट नै हटाएपछि न्याय माग्ने ठाउँ खै?’, उनले भनिन्, के अब हामीले न्याय माग्न मसानघाट जानुपर्ने हो?’
गिरीले दायर गरेकाे वैवाहिक बलात्कार मुद्दा हाल अदालतमा विचाराधीन छ।
यसैगरी विगत आठ महिनादेखि न्याय माग्दै आएका आरती साहको परिवार पनि महानगरले शान्तिबाटिकाबाट हटाउँदा न्याय माग्न कहाँ जाने भन्ने चिन्तामा छ।
विवाह गरी पठाएको छोरीको रहस्यमय तरिकाले मृत्यु भएपछि साह परिवार न्याय माग्दै असार १ गते माइतीघरम आएको थियो। उनीहरुले गृह मन्त्रालयदेखि लिएर विभिन्न पार्टीका नेताहरुसँग न्यायको माग गरिसकेका छन्। तर, कसैले उनीको कुरा सुन्न नचाहेको आरतीका दाइ प्रेम बताउँछन्।
‘गृहमन्त्रीदेखि लिएर सबै ठाउँमा आफ्ना कुराहरु राखिसक्यौँ, सायद अब भन्न बाँकी कुनै ठाउँ नहोला,’ उनले भने, ‘तर कसैले हाम्रो कुरा सुनेन। अब हामी न्याय माग्न कहाँ जाने।’
शान्तिबाटिकामा उनीहरुमात्रै होइनन्, उनीहरुजस्तै छुट्टाछुटै सात समूहहरु आफ्ना माग राख्दै प्रदर्शनरत छन्।
उनीहरुलाई महानगरले बाटिका क्षेत्रबाट हटाएकोप्रति कुनै गुनासो त छैन। तर, अरु कुनै व्यवस्थाविना शान्तिबाटिकाबाट हटाउन खोज्दा भने उनीहरु चिन्तित छन्।
‘आफ्नो ठाउँमा न्याय नपाएर हामीहरु यहाँ आउन बाध्य भएका हाैँ, अब यहाँबाट पनि लखेट्छ भने कहाँ जानू’, मिटरब्याज पीडित रमेश थापाले, ‘कि त यहाँ गएर प्रर्दशन गर भनेर भन्नुपर्यो कि त निषेधित क्षेत्र हटाउनुपर्यो?’ उनले भने।
उनलाई लाग्छ, अब काठमाडौँले आफूजस्ता पीडितहरूको आवाज सुन्न छोडिसकेको छ।
‘उहिले न्याय नपाए गोरखा जानु भन्ने सुनेको थिएँ, अब काठमाडौँ आउँदासमेत न्याय पाइएको छैन। शान्तिबाटिकाबाट समेत त हटाउन खोज्छ भने देशमा न्याय पाउँछु भनेर आश छैन’, उनल भने।